सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
कयौँ बोझ आफ्नो काँधमा बोकी
दुःख लुकाई सधैँ मुसुक्क हाँसी
आफ्ना इच्छा-चाहना सबै दबाई
सन्तानको सुख खोज्दै हिँड्ने
एक मात्र व्यक्ति हुन्, मेरा बाबा।
हौसला दिन सधैँ अग्रसर भई
सफलता चुम्न हरेक पाइला हिँडाई
सन्तानका निम्ति आफू पछाडि पर्दै
अनवरत साथ दिन तत्पर रहने
एक मात्र व्यक्ति हुन्, मेरा बाबा।
नयाँ दिई लुगा सधैँ आफू त्यसै हिँड्ने
आफ्नो रगत-पसिना बेची हाम्रै सुख किन्ने
सन्तानकै खुसीमा आफ्नो खुसी देखी
सधैँभरि आफूभित्र सन्तुष्ट भई बस्ने
एक मात्र व्यक्ति हुन्, मेरा बाबा।
सन्तानका सपना आफ्नो मनमा सजाई
असल संस्कार सिकाउने हाम्रा गुरू भई
अन्जानमा भएका हरेक गल्ती सुधार्दै
जीवनमा केही बन्न लायक बनाउने
एक मात्र व्यक्ति हुन्, मेरा बाबा।
जितमा हामीलाई समेट्ने र
हारमा त्यो भार आफैँले उचाल्ने
कहिले कतै आँच आउला कि भनेर
सुरक्षा दिन तत्पर रहने
अनगिन्ति हाम्रा ती रहर पूरा गर्न
दिनरात नभनी एक्लै खट्ने
एक मात्र व्यक्ति हुन्, मेरा बाबा।
एक पलमै मनका कुरा सजिलै बुझ्ने
हरेक परिस्थिलाई झेल्न सिक्ने
जन्म मात्र नदिई बाँच्न समेत सिकाउने
जिउँदो भगवानका रूपमा सँगै बस्ने
एक मात्र व्यक्ति हुन्, मेरा बाबा।
(प्रियाम्सु पुडासैनी स्वर्णिम स्कुल, डल्लु आवासमा कक्षा ९ मा अध्ययनरत छिन्।)