सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
म उमेरले सानै छु। धेरै परिपक्व भइसकेकी छैन। भर्खर एघारौं वसन्त पार गरि बाह्रौ वसन्तमा पाइला टेक्दै छु। सात कक्षामा अध्ययनरत मैले बल्ल नेपालको संविधानको संरचनालाई थोरै जान्ने र बुझ्ने प्रयत्न गरिरहेकी छु।
देशको शासन संचालन सम्बन्धि कुरा र राज्यका आधारभूत तत्वलाई पुर्णरूपमा केलाउने प्रयत्न गरिरहेकी छु। देशको मूल कानुनको रूपमा रहेको संविधान र यसले राज्य व्यवस्थाको स्वरूप निर्धारण गर्ने भएकाले यसलाई मुलुकको अनुहार हेर्ने ऐनाको रूपमा रहेको कुरा मैले बल्ल बुझेकी छु।
मैले यति कुरा जान्दाजान्दै पनि नेतृत्व तहमा युवाहरूको सहभागिता किन कम भएको होला भनि आफैसँग प्रश्न गर्छु। राजतन्त्रको अन्त्यपछि गणतान्त्रिक पद्धति अगिंकार गर्दै यो अवस्थासम्म आइपुग्दा पनि हामीले देशमा चाहेँजस्तो र सोचेजस्तो प्रगति गर्न सकिरहेका छैनौं। उहीँ पुरानै सोच र पद्धतिबाट हाम्रो शासन सत्ता चलिरहेको आभाष हुन्छ।
सत्तरी वर्षका वृद्धहरू राजनीतिमा वयस्क बन्दै देखा पर्दा देशको दुर्दशा यस्तो भएको हो कि भन्ने प्रश्न पुनः आफैँसँग गरिरहेकी हुन्छु। हुन त अमेरिकी राष्ट्रपतिय निर्वाचनमा सत्तरी वर्ष काटेका जो. वाइडेन विजयी भई शासन सम्हालेको पनि हामी बीचमा धेरै दिन भएको छैन। तर अमेरिका र हाम्रो बीचमा धेरै भिन्नता रहेका छन्। उसले आफ्नो विकासको बाटोलाई समातिसकेको छ भने हामी विकासोन्मुख राष्ट्र त्यसैमा पनि कछुवाको गतिमा हिडिँरहेका छौ।
जनताले आफ्नो अमूल्य मत दिएर पाँच वर्षको लागि शासन गर्न पठाएको बहुमतको सरकार आफ्नै गृहकालमा फसि सत्ताबाट बाहिरिएको पनि यहाँ धेरै दिन बितेको छैन। विकासको असिमित आशा राखेका जनतामाथि फेरि पनि कुठराघात भएको छ। देशका प्राकृतिक स्रोतसाधनलाई सहि तरिकाले समुचित प्रयोग गर्न सकिएको छैन।
हामीहरू उही पुरातन सोच र पुरातन कार्यशैलीबाट ग्रस्त रहेका छौ। हामीसँग सँगै हिँडेका राष्ट्रमध्यको सार्क राष्ट्र भुटानले पनि हाम्रोभन्दा धेरै प्रगति गरिसकेको छ। यही राष्ट्रले कोभिडको यो विषम परिस्थितिमा नेपाललाई खोप उपलब्ध गराई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिरहेको छ। यसबाट पनि हामी कहाँ छौ भनेर बुझन हामीलाई धेरै कठिन पर्दैन।
विकास निर्माणका हाम्रा कार्यशैलीहरू त्यति सन्तोषजनक देखिदैनन्। जताततै भ्रष्टाचार व्याप्त रहेको छ। दक्ष युवा जनशक्तिहरू विदेश पालायन भएका छन्। देशको विकास निर्माणमा आफ्ना पौरखी हातहरूले आफ्नै देशमा केही गर्न चाहने युवाहरू वाध्यतावश रोजिरोटी लागि अरबका खाडीमा आफ्ना पसिना चुहाउन विवश भइरहेका छन्।
जनताहरू महंगीको मारमा पिल्सिएका छन्। बेलाबेलामा हुने सरकारको परिवर्तनले पनि विकास निर्माणका कामलाई बाधा पुर्याइरहेको छ। यति हुँदाहुँदै पनि हामी नेपालीले नेतृत्व तहमा देश हाक्न सक्ने युवालाई नेतृत्व दिएर पठाउन सकेका छैनौं।
चुनाव आयो कि त हामी आफ्नै बाबुबराजुको राजनीतिलाई पछ्याई सही र गलत मान्छे नै छुट्याउन सक्दैनौं जुन हाम्रा लागि अभिशाप बनिरहेको छ। देश यस्तै-यस्तै दृश्य परिदृश्यमा रूमलिरहेको छ। युवा नेतृत्व पनि सत्तरी वर्षका वृद्धलाई राजनीतिमा ल्याई त्यसैलाई स्विकारेर बसिरहेको आभाष हुन्छ।
युवाहरूले वृद्धहरूलाई विश्राम दिई राजनीतिमा नयाँ संस्कारको विकास गर्न सकिरहेका छैनन्। यसलाई राजनीतिक विडम्बना नै मान्नु पर्छ। सहि र गलत छुट्याउन नसक्ने हामी जनता पनि यसका प्रमुख कारक तत्वका हौं। यस्तो हुनु जनचेतना साक्षरताको कमि पनि हो। हामी बीच धेरै तन्त्र फेरिइसकेका पनि छन्। जो आए पनि जनताको जीवनस्तर कहिल्यै माथि उठ्न सकेको छैन।यसको लागि अब चेतनशील युवाले देशको साँचो समाउन पर्ने बेला भइसकेको छ।
देशको समुन्नत विकास समृद्धिको खाका कोर्न अब आउने दिनमा जुझारू युवालाई हामीले नेतृत्व तहमा पठाउनै पर्छ। सबै नेपाली जनता पुरानो मानसिकताबाट माथि उठि वंशको राजनीति एवं कसैको लोभ-लालचमा नफसि आफ्नो अमूल्य मतलाई स्वविवेक साथ सहि ठाउँमा प्रयोग गर्न सक्नु पर्छ।
पछिल्ला दिनमा देखा परेका राजनीतिक गतिविधिले पनि यही कुरालाई इगिंत गरिरहेको छ। त्यसैले, पुरानो सोच र मानसिकता हटाउ देशको शासन सत्तामा युवालाई पुर्याउनु नै अहिलेको आवश्यकता र समयको माग पनि हो।
(आरूषी पौडेल दि एक्सेल्सियर स्कुल, स्वयम्भू काठमाडौंमा कक्षा ७ मा अध्ययनरत छिन्।)