सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
मैले मेरो बालावस्थामा सबैभन्दा बढी सुनेको प्रश्न हो, 'नानी, ठूलो भएर के बन्छ्यौ?'
घरमा कोही पाहुना आउँदा होस् या आफूँ पाहुना भएर जाँदा, मलाई सधैं त्यही प्रश्न सोधिन्थ्यो। त्यो प्रश्न एउटा यस्तो प्रश्न थियो जसको उत्तर मलाई थाहा थिएन। उत्तरभन्दा पनि मैले त्यस प्रश्नको आशय नै बुझेकी थिइन। मलाई थाहा थिएन ठूलो हुनु भनेको कस्तो हुनु हो। म कहिले ठूलो हुन्छु अनि ठुलो भएपछी मैले के गर्नुपर्छ? के बन्नुपर्छ?
म एक एक्स्ट्रोभर्ट हुँ। अर्थात नयाँ मान्छे चिन्न, बोल्न, कुराकानी गर्न मलाई असाध्यै मनपर्छ। म सानैदेखि यस्तै थिए। सबैसँग छिट्टै घुलमिल हुने, हाँस्ने, बोल्ने बानीले कतिपय ठाँउमा मलाई मद्दत पुर्याएको छ। कतिपय ठाँउमा भने आपतमा पनि पारेको होला। खैर, सधैं बोलिरहन मनपर्ने मलाई त्यस प्रश्नले सधैं निस्तब्ध बनाउँथ्यो।
परिक्षामा आउने प्रश्नसँग त्यति डर लाग्दैन थियो होला जति म त्यस प्रश्नसँग डराउँथे। उत्तर के दिने मलाई थाहा थिएन अनि उत्तर के दिन सकिन्छ भनेर मेरो दिमागले सोचेर भ्याउदैन थियो। मलाई, ठूलो भएर के बन्छ्यौको सट्टामा 'तिमीलाई कुन गीत मनपर्छ?' भनि सोधेको भए कति खुसी हुँदै उत्तर दिन्थे होला। तिमीलाई कुन रंग मनपर्छ भनि सोधेको भए उत्तर दिँदै गर्दा मेरो मुहार पनि इन्द्रेणीझैँ रंगीन हुन्थ्यो होला। तर मलाई त्यस्ता प्रश्नहरू बिरलै सोधिने गर्थे।
आफ्नो बालापनमा उफ्रिएर, हाँसेर, खेलेर रमाइरहेकी मलाई अन्जान भविष्यको कुनै पर्वाह थिएन। स्कुलबाट छुट्टी भएर कहिले घर पुगौंला भन्ने हतार हुने मलाई भविष्य भनेको नै के थाहा थियो र? जीवनको अर्थ, जीवनको परिभाषा, जीवनको उद्देश्य त कतिपय मान्छेले आफ्नो पूरै जिन्दगी बिताइसक्दा पनि थाहा पाउन सक्दैनन् भने म सानी फुच्चीले त्यस कलिलो उमेरमा जीवनमा के गर्ने भनेर कसरी थाहा पाँउथे?
उत्तर दिन नसके पनि त्यस प्रश्नले मेरो दिमागमा ठूलो ठाँउ ओगटिसकेको थियो। आखिर मलाई सबैले सोध्ने त्यस प्रश्न मैले आफैंलाई पनि सोध्नु थियो। त्यसको उत्तर थाहा पाउनु थियो।
म ठूली भैसकेकी त छैन तर आजभोलि भविष्यको चिन्ता लाग्छ। निस्फिक्री हाँस्ने, डुल्ने, रमाउने म आजभोलि आफ्नो भावी जीवनको कल्पनाले सिरियस पनि हुन पुग्छु। मलाई मेरो अनिश्चित र अदृश्य भविष्यसँग प्रेम त पक्कै छ तर यस उमेरको उडानले मलाई मेरो गन्तव्यमा पुर्याउँछ या पुर्याउँदैन भन्ने चिन्ता भने लागिरहन्छ।
आमा भन्नुहुन्छ, 'मेरा पखेटा पलाउँदैछन्।'
आकाशमा स्वतन्त्र उड्ने चराजस्तै म पनि आफ्नो वेगमा उड्न सक्ने हुँदैछु। मलाई यति भने पक्का थाहा छ कि यात्रा जतिसुकै अप्ठ्यारो भएपनि सुन्दर गन्तव्य पर्खाइमा छ।
सपना ठूला या साना हुँदैनन् तर आफूले देखेको सपना पूरा गर्ने चाह, आँट, साहस, अठोट र इच्छा भने ठूलोसानो हुन सक्छ। मलाई लाग्छ जीवनमा सबैको एउटै लक्ष्य हुन्छ, सफल हुने। चाहेँ त्यो पढाईमा होस्, आफूले गर्ने काममा होस् या अन्य कुनैपनि विधामा। सबैजना सफल हुन चाहन्छन्। सफलतालाई अगाँल्न चाहन्छन्।
सफलतासम्म पुग्ने सिढी निकै अप्ठ्यारो छ भन्ने मलाई थाहा छ। बिस्तारै अगाडि लम्किरहेका मेरा पाइला यस सफलताको शिखर चुम्ने यात्रामा कतिपय ठाँउमा डगमगाउँलान्, डराउँलान्। निरन्तर हिँडिरहने अठोटका साथ अगाडि बढ्दा सफलता पनि कुरेर बस्ने छिन्। मलाई यो पनि थाहा छ।
म सायद 'ठूलो' हुँदै छु। हिँड्दै छु, बढ्दै छु। लड्दै छु, उठ्दै छु। गल्ती पनि गर्दै छु अनि त्यही गल्तीबाट सिक्दै पनि छु। कोपिलाबाट फूल हुँदै छु। हाँस्दै छु। कहिले रूदै पनि छु। सपना बुन्दै छु। अघि बढ्दै छु।
'ठूलो भएर के गर्छ्यौ?' को उत्तर मैले कहिल्यै दिन सकिनँ। सायद मलाई बोलेर होइन गरेर देखाउनु छ। केही बनेर देखाउनु छ। बाधाहरू पक्कै आउँने छन् तर लडेर देखाउनु छ। सफलताको शिखर चढेर देखाउनु छ। संसारलाई मात्रै होइन, आफैंलाई पनि।