सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
पुस्तक समीक्षा:
नेपाली विषयमा स्नातकोत्तर गर्नुभएकी जानुका खतिवडाको ‘उज्यालोको रङ’ उपन्यास साँच्चै उज्यालोको संग्रह नै रहेछ। सन् १९८५ अक्टोबर ८ मा जन्मनुभएकी खतिवडा विगत डेढ दशकदेखि शिक्षण पेसामा आबद्ध हुनुहुन्छ। खतिवडाका ‘शून्य’ उपन्यास साथै ‘असल साथी’ र ‘कसले चोर्यो चक्लेट’ भन्ने बालकथा संग्रहहरू प्रकाशित भएका छन्। यो चौथो कृति रहेको छ खतिवडाको।
११ भागमा रचित यो पुस्तकका पाना पल्टाउने क्रममा मलाई यसभित्रका विभिन्न पात्रहरूमध्ये माया पात्र अति नै मन पर्न गयो। मायालाई भने एउटा साहसी साथै आँटिली केटी बनाई प्रस्तुत गरिएको छ। उ आमाले भनेको सबैकुरा मान्छे र आज्ञाकारी छोरी पनि बन्न पुग्छे। मायाले भूतप्रेत जस्ता अन्धविश्वास कहिल्यै विश्वास राखिन। आफ्नो काकाकाकीलाई पनि सम्झाउन ऊ सफल भई। यस्तै कारणले गर्दा यो सत पात्रले मेरो मन सुटुक्क चोर्न सफल भयो।
कथाको सारांशको कुरा गर्ने हो भने मायाको बुवाको मृत्युपछि घरमा माया र उसकी आमा मात्रै बसेका थिए। पैसा कमाउनका लागि भनेर मायाको दाइ विदेश गएको हुन्छ। मायाको सम्पत्तिमाथि तथा दाइले कमाएर ल्याएको पैसामा काकाले पनि आँखा लगाउन भ्याउँछन्। तर मायाको आमाले पैसा दिन इन्कार गर्छिन्।
त्यसैले काकाकाकीसँग उनीहरूको बोलचाल बन्द भएको हुन्छ। विद्यालयमा गोपेले माया र उसको आमालाई बोक्सी, बोक्सीकी छोरी, आदि भनी नराम्रोसँग भन्छ। सहनै नसकेर मायाले गोपेसँग जुध्न जान्छे।
अकस्मात् घरमा आउने क्रममा उसको मनमा विभिन्न नकरात्मक सोचहरू आउँछन्। डर, त्रास पनि उत्तिकै लाग्छ उसलाई। साहसी माया जसरी तसरी घर आइपुग्छे। विद्यालयमा भने धेरै विद्यार्थीलाई छोपुवा रोगले भेटेको हुन्छ। विद्यालयमा भने यो सबै भूतप्रेतको कारण भएको भनी विश्वास गर्छन्। तर डा. सुचित्राले यो सबै छोपुवा रोगको कारण भएको हो भनी बताउँछिन्। साथै छोपुवा रोगको बारेमा पनि भन्छिन्।
काकाकी छोरी सबितालाई पनि छोपुवा रोग लागेको हुन्छ। तर भूतप्रेतको कारण भएको भनी घरमा धामी, झाँक्री बोलाउँछन्। भोलिपल्ट मायाको घरमा घुमाउने टपरी देखेर मायालाई रिस उठ्छ। उसले सबितालाई छोपुवा रोग लागेको हो भनी त्यस रोगको बारेमा बताउँछे। त्यसपछि काकाकाकीको पनि बुद्धी पलाउँछ। त्यो देखेर माया र उसको आमा पनि खुसी हुन्छन्। यसरी कथाको अन्त्य भएको पाएको छु मैले 'उज्यालोको रङ' उपन्यासमा।
सन्देशलाई केलाएर हेर्ने हो भने मजस्ता सानासाना बालबालिकालाई धेरै त थाहा नहोला जति बुझिएको छ। त्यति नै पोख्ने प्रयत्न गरेकी छु। लेखक खतिवडाले मायाजस्तै किशोर किशोरीहरूका लागि भनेर लेखेको मैले अनुभूत गरेकी छु। यस उपन्यास एकदमै ज्ञानवर्धक र सन्देशमूलक छ। मानिसले कहिल्यै पनि भूतप्रेत जस्ता अन्धविश्वासमा विश्वास राख्नु हुँदैन। माया जस्तै साहसी र आँटिलो बन्नुपर्छ भनी लेखकले पस्कन खाजेको मेरो व्यक्तिगत विचार रहेको छ।
जस्तोसुकै समस्या आए पनि धैर्यको साथ समाधान गर्नुपर्छ। यस समाजमा एकल नारीले आफ्नो हक अधिकार पाउनुपर्छ र आफ्नै हिसाबले जीवन जिउन पाउनुपर्छ। हामीले अरूलाई कहिल्यै नराम्रो भन्नु हुँदैन। साथै, नराम्रो गर्नु पनि हुँदैन जसले गर्दा उनीहरूलाई चोट पुगोस्।
समाजमा भइरहेका अन्याय, अत्याचार, छुवाछुत, लैङ्गिक विभेद, आदि विरूद्ध आवाज उठाउन हामी पछि पर्नु हुँदैन भन्ने भान लेखकको पाइन्छ. साथै, अन्यायमा परेकालाई न्याय दिन सक्नुपर्छ भनी खतिवडाको उज्यालोको रङ उपन्यासमा अनुभूत गर्न पाइन्छ।
भाषा शैलीलाई हेर्दा यस उपन्यास भने माया जस्तै किशोर किशोरीलाई लक्षित गरी लेखिएको छ। यहाँ भने शुद्ध र सरल नेपाली भाषाको प्रयोग गरिएको छ। साथै, केही पात्रहरूको बोल्ने शैलीअनुसार र प्रयास गर्ने शब्द अनुसार पनि भाषाशैली प्रस्तुत गरिएको छ। विशेषगरी त गाउँघरको परिवेश भएर नै गाउँघरमा प्रयोग हुने भाषालाई नै समेटिएर एउटा फरक शैलीमा भाषा प्रस्तुत गरिएको छ। अनि अन्तमा नबुझिने शब्दहरूको अर्थ दिएका कारणले पनि शब्दहरू सहजै बुझ्न सजिलो भएको छ। तर केही शब्दहरू भने साना बालबालिकाका लागि नवीन साथै कठिन लाग्न सक्छ। अरु भने सहजै पढ्न र बुझ्न सकिन्छ।
मुख्य पात्र मायाको ठाउँमा उभिएर हेर्ने हो भने म पनि मायाले जस्तै गर्थेँ होला। मायाले आफ्नो काकाकाकीलाई भूतप्रेत अन्धविश्वास हो भनी सम्झाएको जसरी नै म पनि सम्झाउथेँ। साथै, मायाले आफ्नो आमाले भएको सबै कुरा मान्थी। म पनि आफ्नो आमाको कुरा मान्थेँ। मायाले जस्तै सबैको भलो चिताउँथे। जसरी उसले सबितालाई घरसम्म ल्याइदिएर सहयोग गरेकी थिई, त्यसरी नै म पनि सबैलाई सहयोग गर्थेँ। तर मायाले पुरै गाउँलेलाई नसम्झाई आफ्नो काकाकाकीलाई मात्र सम्झाएकी थिई। म पनि गाउँलाई सम्झाउने प्रयास गर्थेँ।
लेखकले लेख्नुभएको उज्यालोको रङकी पात्र मायासँग भेट्ने सु-अवसर त पाएकी छैन तर यसै चिठीबाट केही भन्न भने मन लागेको छ,
प्रिय साथी माया,
मिठो सम्झना
यहाँ मलाई आरामै छ। त्यहाँ पनि तिमी लगातय तिम्री आमा र दाइलाई सन्चै छ भनी अपेक्षा गर्छु। 'उज्यालोको रङ' उपन्यास मैले भर्खरै पढेँ। त्यहाँ मलाई तिम्रो भूमिका खुब मन पर्यो। उपन्यासको कथावस्तु पनि एकदमै रोमाञ्चक र ज्ञानवर्धक छ। साहसी तिमी देखेर सबै पाठकहरूले केही न केही ज्ञान अवश्य पाउँछन् होला।
तिमीले आफ्नो काकाकाकीलाई भूतप्रेत अन्धविश्वास हो भनेर सम्झाएको पक्ष मलाई एकदमै राम्रो लागेको थियो। तर गाउँमा काकाकाकी मात्र नभई अरू पनि थुप्रै गाउँले अशिक्षित थिए। साथै भूतप्रेतमा पनि विश्वास राख्थे। त्यसैले तिमीले काकाकाकीलाई मात्रै नभई सबै गाउँलेलाई सम्झाएकी भए झनै राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ। अहिलेलाई यति नै।
यति कुराचाहिँ भेट नभए पनि लेखकले पक्कै पनि मायाको हातसम्म पु¥याउने कुरामा म विश्वस्त छु ।
अनुषा उप्रेती
कक्षा ७, नवोदय शिशु सदन
हेटौंडा–४