सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
असार शुक्ल पूर्णिमा अर्थात् गुरूपूर्णिमा पर्व अमूल्य शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाउने उत्सव हो। जीवनको अध्याँरोलाई हटाएर जसले प्रकाश दिन सक्छ, ती नै गुरू हुन् जसबाट ज्ञानको प्रकाश पाएपछि मात्र मान्छेको जीवनमा दु:खको बादल हट्छ र आनन्दको बर्षात् हुन्छ। अर्को अर्थमा भन्दा जीवन जीउँनको निम्ति मेरा गुरू समान पिताजी प्रति ऋणि छु।
असल मनासय नै गुरूप्रतिको सच्चा श्रद्धाभाव हो। रचनात्मक अभिव्यक्ति र ज्ञानबाट प्रसन्नता जगाउन सक्नु नै गुरूको उत्कृष्ट कला हो। महान वैज्ञानिक अब्दुल कलाम आजादको भनाईमा 'यदी राष्ट्रलाई सदाचारयुक्त बनाउने हो भने समाजका तीन सदस्य आमा, बाबु र गुरू नै पथप्रदर्शक हुन्।'
गुरूले हामीलाई प्रेरणा दिन्छन्। ज्ञानको मनोरञ्जन दिन्छन् र केही नजान्दा पनि अज्ञानरूपी मुहारलाई उत्साह प्रदान गरी उत्कृष्ट मार्गमा अगाडि बढाउन अहम् भूमिका खेलिरहेका हुन्छन्।
वास्तवमा भन्दा गुरूलाई ज्ञानको गंगाको रूपमा हेर्ने गरिन्छ। गुरूबाट नै ज्ञानको ज्योति शिष्यमा सर्छ। ढुंगालाई मूर्ति बनाउन गुरूले अहम भूमिका खेलेका छन्। देशका नागरिकलाई सबल र संक्षम बनाउन गुरूले देखाएको मार्गदर्शन नै आजको ज्ञानरूपी संसार हो।
अनेकौं दु:ख-कष्ट झेल्दै शिष्यहरू माझ वहाँले आफ्नो जीवन समर्पण गर्नुहुन्छ। मान्छेलाई मानव बनाउन वहाँहरूले दिनुभएको प्रेरणारूपी मार्गचित्रहरू उजाड भूमिमा सुन्दर फूल फुलाउन गरेका संघर्षका कथाहरू हुन्। दिनरात खटेर देशका भावी कर्णधारहरू निर्माण गर्न गुरूले गरेका महत्त्वपूर्ण प्रयासलाई हामी सम्पूर्ण शिष्यले कहिल्यै पनि भुल्न हुँदैन।
गुरूहरू नै ज्ञानका चम्किला भण्डार हुन्। उनीहरूलाई सबैले समर्पणभावको आधारमा सम्मान र आदार गर्न सिक्नुपर्छ। अन्धकारलाई हटाई उज्यालो बनाउन एवं अनेकौं कष्टहरू माझ शिष्यसामु सिकाइका शब्दवाणले मोहित बनाउन गुरूबाट प्राप्त गरेका शिक्षा मानिसका हरेक व्यवहारमा उपलब्धिगत हुन्छन् भन्ने नै आजको मूल अभिप्राय हो।
हामी सबैको मनभित्र पनि एउटा गुरूत्व छ। सत्यलाई आत्मसाथ गर्न सकेमात्र गुरूत्व सदैव उपस्थित रहिरहन्छ। जीन्दगीका हरेक मोडमा गुरूबाट सिकेका व्यवहारगत दर्शन र पाठलाई अनुसरण गर्न सके गुरूपूर्णिमा र गुरूत्वको सही उपयोग हुन्छ। असल मार्ग पहिचानमा गुरूहरूबाट प्राप्त भएको ज्ञानप्रति म श्रद्धाभाव प्रकट गर्छु। सम्पूर्ण गुरूहरूमा हार्दिक नमनका साथै गुरू पूर्णिमाको सन्दर्भमा म सबै गुरूहरूप्रति कृतज्ञ छु र रहिरहने छु।
(आरूषी पौडेल दि एक्सेल्सियर स्कुल स्वयम्भू, काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छिन्।)