सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
नारायणहिटी संग्रहालय मैले तीन पटक अवलोकन गरेँ। दुईपटक बाल्यवस्थामै गरेकाले त्यति जानकारी र यसको महत्व बुझेको थिइन। पछिल्लोपटक यही साउन ३१ गते विद्यालयबाट शैक्षिक भ्रमणक्रममा जाँदा यसको महत्त्व र इतिहासबारे बुझ्ने अवसर पाएँ। जसलाई मैले यहाँ पस्किने जमर्को गरेको छु।
शाह वंशका ६ जना राजाले भोगेको एवम् शासन चलाएको दरबार हो नारायणहिटी दरबार। सो दरबार वि.सं. २०५८ सालमा राजा विरेन्द्रको सपरिवार संहार भएपछि शासन सत्ताको केन्द्रबाट संग्रहालयमा परिणत हुनपुग्यो। यो दरबार कम र अनेकौं इतिहासको रहस्यमय कोठा हो।
नारायणहिटी शब्द नेवारी भाषाबाट बनेको हो। ‘नारायण’ को अर्थ ‘भगवान विष्णु’ र ‘हिती’ को अर्थ ‘पानीको धारा’ भन्ने हुन्छ। नारायणहिटी दरबार संग्रहालयले करिब ३७९४ वर्ग मिटर क्षेत्रफल ओगटेको छ। संग्रहालय अग्लो पर्खाल र कडा सुरक्षाले घेरिएको छ। नारायणहिटी परिसरमा भगवान विष्णुको मन्दिर छ जसमा गरूडको मूर्ति छ। दरबारको भवन प्यागोडा शैलीको छ।
वि.सं. १८२५ मा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानमा काठमाडौं उपत्यका सरेपछि नेपालमा शाह वंशको शासन सुरू भएको पाइन्छ। पृथ्वीनारायणले शासन गर्नका लागि गोर्खा र नुवाकोट नचुनेर रणनीतिक महत्वको उपत्यका नै छनौट गरी बसन्तपुर दरबार (हनुमान ढोका) सरे। त्यसपछि राजा प्रतापसिंह, रणबहादुर, गिर्वाणविक्रम, राजेन्द्र र सुरेन्द्रले पनि बसन्तपुर दरबारबाटै राजकाज संचालन र परिचालन गरे।
सन् १८८६ मा तत्कालिन श्री ३ महाराज वीर शमशेरले नारायणहिटीको पुरानो दरबार भत्काएर नयाँ निर्माण गरी आफ्ना ज्वाई राजा पृथ्वीवीर विक्रम शाहको निवासको रूपमा प्रयोग गर्ने आदेश दिए। त्यसयता राज त्रिभुवन, महेन्द्र, बीरेन्द्र, दिपेन्द्र र ज्ञानेन्द्र गरी ६ जना राजाहरूले नारायणहिटी दरबारको उपभोग गरे। अतः मल्लकानिल समयदेखि राजनीतिको केन्द्र बसन्तपुरबाट नारायणहिटी बन्न पुग्यो।
यो दरबारलाई राजा महेन्द्रले सन् १९६३ मा भत्काई पुनर्निमाण गरे। नयाँ दरबारको डिजाइन भारतमा बस्ने अमेरिकी वास्तुकार बेन्जामिन पोल्कले गरेका थिए। यसको निर्माणकार्य सन् १९६९ मा सकियो। वि.सं. २०६३ सालमा भएको राजनीतिक परिवर्तनसँगै राजतन्त्रको पनि अन्त्य भई गणतान्त्रिक व्यवस्थाको प्रादुर्भाव भएसँगै नारायणहिटी दरबार पनि खाली गरियो। वि.सं. २०६५ सालमा सरकारले सो दरबारलाई नेपालको इतिहासलाई एक महत्वपूर्ण सम्पति मानेर यसलाई आम मानिसको पहुँच योग्य बनाई संग्रहालयमा परिणत गर्यो।
यस सङ्ग्राहलयमा ५२ वटा कक्ष छन्, जसको नामाकरण नेपालको तत्कालिन ७५ जिल्लाको नामबाट राखिएको पाइन्छ। ती ५२ मध्ये पनि २५ वटा मात्र अवलोकनका लागि खोलिएको छ। हरेक कक्षको आफ्नै महत्त्व र विशेषता छन्। ती निम्मानुसार रहेका छन्:
- कास्की . राजकीय भम्रणमा आएका विदेशी राष्ट्रध्यक्षहरूको स्वागत गर्ने। प्रधानमन्त्री एवम् प्रधानन्यायधीशको सपथ ग्रहण समारोह गर्ने र विदेशी राजदूतहरूले ओहोदाको प्रमाणपत्र चढाउने कक्ष।
- म्याग्दी: संवैधानिक प्रमुख र राजदूतहरूलाई जलपान गराउने कक्ष।
- पर्वत: विदेशी राष्ट्रध्यक्षहरूले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने र राजदूतहरूले ओहोदाको प्रमाण पत्र पेश पछि हस्ताक्षर समारोह गर्ने कक्ष।
- रोल्पा: विदेशी राष्ट्र प्रमुखले विशिष्ट व्यक्तिहरूसँग भेटने कक्ष।
- रूकुम: विदेशी प्रमुखलाई भेट गर्न आउने विशिष्ट व्यक्ति कुर्ने कक्ष।
- दैलेख: विदेशी राष्ट्रध्यक्षको शयन कक्ष।
- अछाम: वैदेशीक राष्ट्रध्यक्षको नजिकका नातेदारको शयन कक्ष।
- वैतडी: विदेशी राष्ट्रध्यक्षको प्रथम महिलाको शयन कक्ष।
- बाजुरा: विदेशी राष्ट्रध्यक्षको भोजन कक्ष।
- जुम्ला: विदेशी राष्ट्रध्यक्षको भोजन पछि आराम गर्ने कक्ष।
- डोल्पा: गोरखा कक्षमा विशेष कार्यक्रम हुँदा राजपरिवारका अन्य सदस्यहरुले अवलोकन गर्ने कक्ष।
- तनहुँ: गोरखा बैठक कोठामा विशेष समारोह हुँदा मन्त्रीगण, राजप्रसाद सेवाका उच्च पदाधिकारी, नेपाल सरकार प्रमुख र सचिवहरू बसेर कार्यक्रम अवलोकन गर्ने कक्ष।
- गोरखा: सुशोभन समारोह, युवराज उमेर पुगेको घोषणा र वि.सं. २०४७ सालको संविधान जारी गरिएको कक्ष। राजाको मुख्य बैठक कोठा।
- मुगु: राजा त्रिभुवनद्वारा प्रयोग गरिएका सामान संकलन गरेर प्रदर्शन गरिएको कक्ष।
- लम्जुङ: राजकीय भ्रमणमा आएका विदेशी राष्ट्रप्रमुखका लागि आयोजना गर्ने राजकीय भोज तथा पूर्व राजा रानीको विशेष उत्सवमा मनाइने रात्री भोजन गर्ने कक्ष।
- गुल्मी: तत्कालिन राजाले प्रयोग गर्ने निजि कार्यकक्ष।
- धादिङ: तत्कालिन राजाको आराम गर्ने कक्ष।
- धनकुटा: पूर्व राजा रानीको शयन कक्ष।
- सिन्धुली: रानीको श्रृंगार कक्ष।
- झापा: पूर्व राजालाई भेट्न आउने विशिष्ट पाहुनाको प्रतिक्षालय।
- इलाम: प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्त्वसँग भेट्ने कक्ष।
- सुनसरी: जनैपूर्णिमाको उपलक्ष्यमा रक्षाबन्धन तथा जनै फेर्ने कक्ष।
- सप्तरी: पूर्व मूमा बडामहारानी तथा पूर्व युवराजको जन्मोत्सवको उपलक्ष्यमा रात्री भोज खुवाउने कक्ष।
- सिरहा: पूर्व रानीले विशेष व्यक्तिसँग भेट्ने र पूर्व राजारानीबाट दसैंमा नातेदारलाई टिका लगाउने कक्ष।
- धनुषा: राजा तथा राजपरिवारले दसैंमा टिका ग्रहण गर्ने कक्ष।
योसँगै नारायणहिटी दरबार संग्रहालयको सामान्य जानकारी र यसको इतिहासलाई मनन गर्दा यो नेपालको इतिहासको एउटा खास कालखण्डको जीवित साक्षीका रूपमा रहेको छ भन्ने आभास हुन्छ। जसको संरक्षणमा सरकारले निरन्तर ध्यान दिनुपर्ने देखिन्छ भने आम नागरिक सधैं चनाखो रहनुपर्छ।
(रोमहर्षण ढुंगेल एभरेष्ट इङ्लिस स्कुल भक्तपुरमा कक्षा ८ मा अध्ययनरत छन्।)