सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
यसपालिको दसैं विदामा हामी स-परिवार पोखरा घुम्न गयौं। जति घुमेपनि नअघाउने पोखरा साँच्चिकै सुन्दर रहेछ। चारैतिर डाँडाकाँडा र हिमालले ढाकिएको पोखरामा धेरै ताल छन्। मलाई पहिलेदेखि फेवातालमा डुंगा चढ्ने रहर थियो। यसपालि मेरो रहर पुरा भयो।
सुरूमा हल्का डर लागे पनि एकछिनमा खुब रमाइलो लाग्यो। फेवातालको बिचमा रहेको तालवराही मन्दिरमा दर्शन गरेपछि हामी केही बेर तालमै घुम्यौ। हामीजस्तै दसैं बिदामा घुम्न जाने मानिसहरूको भिडले फेवातालमा पनि धेरै डुंगा भरिएका थिए। दसैंको मौसम भएर होला आकाश पनि पुरै खुलेको थियो र हिमाल सेता दाँत देखाएर हाँसेजस्तै देखिन्थे। नेपाली सँगसँगै विदेशी पर्यटक पनि लामा क्यामेरा बोकेर फोटो खिच्दै हाँस्दै हिँडेको भेटिन्थे।
पोखराको अर्को रमाइलो पक्ष भनेको प्याराग्लाइडिङ हो। प्याराग्लाइडिङ गर्ने मानिस सराङकोटको डाँडाबाट उडेर फेवातालको किनारमा झर्ने रहेछन्। प्याराग्लाइडिङ गर्ने मानिसको भिडले आकाशमा रंगीचंगी चरा उडेजस्तै देखिने रहेछ।मलाई पनि आकाशमा उडौं-उडौं लागे पनि अलि डर लाग्यो। म त उडिन तर मेरो बाबा उड्नु भयो।
भाई, म र मेरो मामु प्याराग्लाइडिङ झर्ने ठाँउमा कुरेर बस्यौ। साँझपख तालबराही मन्दिरनजिक फेवातालको किनारमा सन्ध्याकालिन आरती हुने रहेछ। भजनकीर्तन गाउने र नाच्ने मानिसको घुँइचो लागेको देखिन्थ्यो। चारैतिर बत्तिका झिलिमिली र साँझमा घुम्ने मानिसको भिडले फेवाताल किनार एकदम रमाइलो हुने रहेछ। तालका बिचमा रहेको मन्दिर साँझमा झन् राम्रो देखिने रहेछ। दिनभर तालमा डुल्ने डुंगा साँझपख किनारमा बस्ने रहेछन्। डाँडामा रहेको शान्ति स्तुपामा बलेको बत्ति आकाशको ताराजस्तै देखिने रहेछ।
दसैंमा पोखरामा धेरै च्यांग्रा ल्याइने रहेछन्। लामा सिङ र रौं भएका च्यांग्राहरूको भिडले कतिपय ठाँउमा बाटो नै जाम हुने रहेछ। मान्छेहरू दसैंको लागि मोटामोटा च्यांग्रा छानेर लैजाने रहेछन्। हाम्रो चार दिने पोखरा बसाईमा धेरै कुरा जान्ने, देख्ने र घुम्ने मौका पाइयो।
(केजीया तिमिल्सिना एल.आर.आई स्कुल, कलंकीमामा कक्षा चारमा अध्ययनरत छिन्।)