आँखा बन्दैगए धमिला उनको कान बहिरो भयो ।
इष्टमित्र सबै हराए उनको आफैँ सहारा भयो ।।
नारीमा बल हरायो उनको दाँत सबै झर्दै गयो ।
युवा हुन्जेल नारीमा बलजति सबै खै कता कहाँ गयो ।।
कमजोर शरीर भयो त्यो उनको ज्ञान भने बढ्दै गयो ।
ती खाली वृक्षका डाँक्लाहरूमा अमृत फल्दै गयो ।।
सबै निस्किए आफ्ना आफ्ना कामहरूमा एक्लो बनिँदै गयो ।
त्यही आँगन विदेश सरह बन्यो लौरो सहारा भयो ।।
त्यत्रो ज्ञान फलेको छ त्यो रुखमा खै कसलाई बाँड्ने अब ।।
सुनाऔँ पनि भन्न मिलेन अब त्यो गाली हुने हर्दम ।।
देशका लागि खट्ने नागरिक थिए गए बुढ्यौलीतिर ।
त्यत्रो ज्ञान बोकेको त्यो दिमाग थियो बन्यो सबै चौपट्ट ।।
बिस्तारै छाला चाउरियो उनका खोल्साहरू भेटिए ।
चट्ट मिलेको त्यो कालो केस थियो सेतै बनी टल्किए ।।
शान्ति त्यो मनमा पनि खोजी हेर आत्मा सुखी छैन त्यो ।
पीडा भयो शरीरभरि उनको गोडा पनि दुख्दथ्यो ।।
गोडा पनि टेक्न खोज्दा हेर त्यो पुगेन टुङ्गोतिर ।
गयो बुढ्यौली तर अब फेरि युवा बनिन्न हेर ।।
सुरिलो त्यो बोली लरबर बन्यो केही गर्न नसक्ने भएँ ।
अहो कस्तो दुखद घातक बन्यो युवा नबन्ने भएँ ।।
गर्न मन थियो विश्वमा पनि केही त्यो राष्ट्रको इज्जत ।
बाहिर र अरूमा तृष्णा त्यो नमेटी आफैँ त्यो शक्ति खोज ।।
केही गरी चिनाउन मन थियो राख्नु थियो त्यो इज्जत ।
केही गर्नु अघि नै यहाँ बनेँ अहो ज्येष्ठ नागरिक ।।
भक्तपुर बुढ्यौली साहित्य समाजद्वारा आयोजित अन्तरविद्यालय कविता लेखन तथा प्रस्तुति प्रतियोगितामा पहिलो भएको कविता।