सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
विश्व सम्पदा सूचीमा सूचीकृत सम्पूर्ण नेपालीको आस्थाको धरोहर एवं स्वयम्भूनाथ क्षेत्र परिसरको काखमा अवस्थित मेरो विद्यालयको नाम 'दि एक्सेल्सियर स्कुल' हो।
छोटो समयमा शिक्षण सिकाई क्रियाकलापमार्फत उपत्यकामा आफ्नो नाम उच्च राख्न सफल यस विद्यालयले आफ्नो स्थापनाको ३२ औं वसन्त पार गरिसकेको छ। उत्कृष्ट शिक्षण पद्धति एवं भौतिक पूर्वाधार लगायत अन्य विभिन्न पक्षमा सबल यस विद्यालयले शैक्षिक निकायबाट दिइने विभिन्न राष्ट्रिय पुरस्कार समेत ग्रहण गरिसकेको छ।
शिक्षक र अभिभावक बीचको कसिलो एवं दरिलो सह-सम्बन्ध, नमुना शिक्षण सिकाई प्रविधिको प्रयोग, सुरक्षाको दह्रो प्रत्याभूति, दक्ष एवं सम्बन्धित विषयमा ज्ञान हासिल गरेका कुशल शिक्षकहरू, मजबुत प्रशासनिक संयन्त्र, नमुना विज्ञान प्रयोगशाला, खेलकुदका लागि चाहिने ठूलो मैदान, स्वच्छ खानेपानीको व्यवस्था, छात्रावासको उचित व्यवस्थापन, तत्कालै प्रदान गरिने प्रथामिक उपचार, आकर्षक चारतले भवन, स्वच्छ शैक्षिक वातावरणले पनि स्कुललाई अझ मजबुत बनाएको छ।
करिब ११ सय हाराहारीमा विद्यार्थी संख्या एवं प्रत्येक वर्षको शैक्षिकसत्रमा यहाँ भर्ना हुन लालायित हुने भिडले पनि यस स्कुलको अब्बलता कति छ भनेर सहजै पुष्टि गर्न सकिन्छ। बितेका दिनमा यस स्कुलबाट शिक्षा आर्जन गरेका मेधावी छात्रछात्राले देश लगायत विदेशमा पनि उत्कृष्टता हासिल गरी राज्यका विभिन्न क्षेत्रमा सेवा पुर्याइरहेका छन्। सीपयुक्त शिक्षा एवं गुणस्तररूपी शैक्षिक क्रियाकलापलाई मूलमन्त्र ठान्ने यस विद्यालयले विद्यार्थी केन्द्रीत तथा बालमैत्री शिक्षण सिकाई प्रक्रियालाई आफ्नो प्रमुख उद्देश्य वा ध्येय बनाएको देखिन्छ।
विद्यालयका सम्पूर्ण शािक्षक हाम्रा लागि आदरणीय पात्र हुन्। कक्षा १ देखि कक्षा ९ सम्म यस विद्यालयमा पढ्दा मैले धेरै ज्ञान र सीप बटुल्न पाएकी छु। विद्यार्थीको मनोवैज्ञानिक भावना टपक्क टिपेर अध्ययन-अध्यापन गराउने दक्ष एवं विषय विज्ञ गुरू एवं गुरूआमा नै यस विद्यालयलाई अघि बढाउने प्रमुख पात्र हुनुहुन्छ भन्ने मलाई लाग्छ। यिनै प्रमुख पात्रको प्रेरणाले मैले विभिन्न सिर्जनात्मक कार्यमा आफ्नो कलम चलाउन सुरू गरेकी हुँ।
'तिमी कुन स्कुलको विद्यार्थी हौ?' भनेर कसैले सोध्दा 'दि एक्सेल्सियर स्कुल', स्वयम्भू भनेर चिनाउन पाउँदा मलाई छुट्टै किसिमको अनुभूति हुन्छ। अरूको प्रसंशाले थप गौरवान्वित महसुस गर्छु।
वास्तवमा भन्दा मेरो विद्यालय मेरो सान हो। मेरो गौरव र मेरो भविष्य निर्माण गर्ने बलियो आधार स्तम्भ हो। यहि स्कुलमा मैले आफ्नो सुन्दर भविष्य र सपना निर्माण गर्न लागि परिरहेकी छु। भविष्यमा राम्रो पढि-लेखि मेरो विद्यालयको नाम रोशन गर्ने मेरो उद्देश्य छ।
त्यसैले म पुनः भन्छु, मेरो विद्यालय मेरो सान, मेरो गौरब, र मेरो भविष्य निर्माणको बलियो आधार स्तम्भ हो।
(आरूषी पौडेल दि एक्सेल्सियर स्कुल, स्वयम्भू काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छिन्।)