सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
एकादेशमा एउटा अकबर नाम गरेका राजा थिए। उनका बिरबल नाम गरेका अत्यन्त चतुर मन्त्री थिए।
राजा मुसलामान थिए भने मन्त्री हिन्दु धर्म मान्थे। राजालाई गर्न असम्भव प्रायः अनौठा कुरा गर्न मन लाग्थ्यो। सो कुरा गर्न मन्त्रीसँग जिद्दि गर्थे।
एकदिन राजाले भने, 'जसले बाघलाई साथी बनाउन सक्छ उसलाई म ठूलो इनाम दिनेछु र बाघको लागि मासिक खर्च समेत पठाउनेछु।'
त्यसैबखत बिरबलले भने, 'महाराज मलाई १ महिनाको समय दिनुहोस्। केही खर्चसमेत दिनुहोस्। म बाघलाई साथी बनाई हजुरसमक्ष पेश गर्नेछु।'
राजाले 'हुन्छ' भनेर ५० हजार रूपैयाँ र एक महिनाको लागि बिदा दिए। बिरबलले हरेक दिन एउटा बाघलाई मासु दिँदै गए र बिस्तारै बाघको नजिक जान थाले। बाघ कस्तो छ र कसरी साथी बनाउने भनेर बुझ्दै समेत गए। उनले महिना दिनमा ३५ हजार खर्च गरेर बाघलाई साथी बनाए र एक महिनापछि बाघसहित राजासामु आए।
राजा प्रसन्न भएर बिरबललाई इनाम दिए र सबैसामु बिरबलको प्रशंसा गरे। बाघलाई पालिरहनु भनेर सो बाघको रेखदेख गर्ने एकजना मानिस र बाघको मासिक खर्चसहित सो दिन बिरबललाई दरबारबाट बिदा गरे। उनी भएपछि बिरबलले बाघलाई कसरी साथी बनायो होला भनेर अकबर सोचमग्न भए।
बिरबल दरबारमा आएपछि राजाले सोधे, 'बिरबल तिमीले कसरी बाघलाई साथी बनायौ?'
बिरबलले जवाफ दिए, 'महाराज कुनै पनि काम गर्न बल मात्रले हुँदैन, बुद्धि समेत चाहिन्छ। महाराज कहिलेकाहीँ आफ्नो काम गर्न र गराउन अरूलाई लोभ पनि दिनुपर्छ। जसरी हजुरले मलाई पैसाको लोभ दिनुभयो, मैले पनि त्यसरी नै बाघलाई मासुको लोभ दिएँ। बाघ मासुको लोभले मात्र मेरो साथी बनेको हो। मैले सुरूमा बाघलाई टाढाबाट मासु दिँदै गए र बिस्तारै बाघको नजिक गएँ र बघलाई बुझेँ। यसरी मैले इनाम पाएको हुँ।'
बिरबलको कुरा सुनेर राजाले मुक्त कण्ठले प्रशंसा गरे।
यस कथाबाट हामीलाई के शिक्षा मिल्छ भने बलभन्दा बुद्धि ठूलो हो। बलको प्रयोगबाट धेरै समय लाग्ने काम पनि बुद्धिको प्रयोगबाट छोटो समयमा गर्न सकिन्छ।
(सार्थक पौडेल सौरदिप बोर्डिङ स्कुल, बालाजुमा कक्षा ७ मा अध्ययनरत छन्।)