सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
साथीहरू, यो माघको जाडो महिना हो। यतिबेला जाडो बढेको छ। जाडोमा स्कुलले १०–१५ दिन बिदा पनि दिने गर्छन्। मेरो पनि अहिले ११ दिनको बिदा चलिरहेको छ। तपाईहरू बिदामा के गरिरहनुभएको छ?
कति साथीहरूको त स्कुलले दिएको होमवर्क छ होला नि! मैलेचाहिँ गरिसकेँ। बिदा भन्नेबित्तिकै हामीलाई खुशी लाग्छ। बिदाको समय हामी धेरैथोक गरेर रमाइलो गर्न सक्छौँ।
स्कुल जानु नपर्ने भएकाले दिनभर घर बस्न पनि अल्छि लाग्छ है! त्यसैले बिदामा आमाबुबा वा आफ्न्तजनसँग पार्क, म्युजियम, आफन्तकोमा घुम्न जान मिल्छ। बिदाका समय आफ्न्तकहाँ जाने, चिनजान र भेटघाट गर्ने हुन्छ। सहरमा हुनेहरू गाउँघरतिर घुम्न जाँदा झन रमाइलो हुन्छ। जहाँ नयाँ-नयाँ कुरा देख्न र सिक्न पाइन्छ। गाउँबाट सहरका विभिन्न ठाउँहरू घुम्न जान सकिन्छ।
बिदामा घरमै बसेर मोबाइल, कम्प्युटर, टिभी धेरै नहेरौँ। अलिअलि त हेर्न मिल्छ। त्यहाँबाट पनि धेरै कुरा सिकिन्छ तर धेरै नहेरौँ। बरू चित्र बनाउने, रंग लगाउने, नाच गान गर्ने, कथाका किताब र मुनाजस्ता बालपत्रिका पढ्ने, खानेकुराहरू बनाउन सिक्ने, काम गर्न सघाउने, बगैँचा छ भने पानी हाल्ने, झार ओखल्ने काम गर्दा पनि हुन्छ।
ठूला दाई-दिदीहरूले त फुटबल, भलिबल, डन्डिबियो, क्रिकेट, ब्याडमिन्टन जस्ता खेल पनि खेलिरहनुहुन्छ। साथी-साथी मिलेर घुम्न पनि जानुहुन्छ। सानाले घरभित्रै बसेर चेस, क्यारम, लुडो, रूमाल लुकाई खेल्न सक्छौँ। नभए युट्युबमा हेरेर घरभित्र पनि रमाइला खेल खेल्न सकिन्छ। हजुरबुबा, हजुरआमा हुनुहुन्छ भने पुराना कथा र कुरा सुनेर पनि रमाइलो हुन्छ।
कोठा सफा राख्ने, कपडा पट्याउने, स–साना कपडा र आफ्ना जुत्ता-मोजा आफैँ धुने गर्छु म त। कहिलेकाहीँ त ममी-बाबाको अफिस जाँदा पनि हुन्छ। मन्दिर, गुम्बा, मस्जिद पनि घुम्न जान सकिन्छ। चिडियाखाना, जंगलमा घुम्न जाँदा झन् धेरै कुरा देख्न सकिन्छ। कथा, कविता लेख्न सिक्दा पनि हुन्छ। नाटक, फिल्म हेर्न गएर समाइलो पनि गर्न सकिन्छ। तर यस्तो घुम्न गएको बेला चिसो चिजहरू नखाएकै राम्रो। नत्र बिदा सकिएर स्कुल जाने बेला फेरि बिरामी परिएला नि!
चिसोमा मोजा, पञ्जा, कान छोप्ने टोपी, स्वेटर, ज्याकेट लगाउनुहोला। तातो पानी पिउनुहोला। बिदामा पढ्दै, सिक्दै, खेल्दै, रमाइलो गरि आमाबुवालाई दुःख नदिई सदुपयोग गरौँ है त साथीहरू!
(शिवांशी खड्का काठमाडौँ, सुकेधारास्थित बागमती बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा ३ मा अध्ययनरत छिन्।)