सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
विश्वमा जंक फुड अर्थात् पत्रु खानाका कारण हरेक वर्ष करिब एक करोड मानिसको मृत्यु हुन्छ। प्राकृतिक रूपमा उत्पादित खाद्य पदार्थलाई विभिन्न रसायन मिसाई त्यसको प्राकृतिक गुण परिवर्तन गरिएका खाद्यपदार्थलाई जंक फुड भनिन्छ।
यस्ता खाना जिब्रोलाइ निकै स्वादिला लाग्ने भएकाले विश्वभर धेरै मानिसलाई यस्ता खानाको लत लाग्छ। यस्ता खानेकुरामा पोषक तत्व नहुने र विभिन्न रसायन मिसाइएको हुन्छ। यसकारण शरीरलाई हानी गर्ने मन्द विषका रूपमा पनि यस्ता खानाहरूलाई लिइन्छ।
विश्वका हरेक पसल र देशमा जंक फुडहरू भेट्टाउन सक्छौं। जंक फुडहरु प्रोसेस्ड खानेकुरा हुन् जसमा उच्च क्यालोरी, चिनी, हानिकारक तेल र रसायन हुन्छन्। तिनमा शरीरलाई आवश्यक पर्ने पोषक तत्वहरू नष्ट भइसकेका हुन्छन्। यस्ता खानेकुराले हाम्रो स्वस्थ मेटाबोलिजमलाई नष्ट गर्छ। शरीरमा अनावश्यक बोसो निर्माण गरी अस्वस्थ बनाउँछ। यी खानेकुराले खानेबित्तिकै असर पारेको देखिन्न। बिस्तारै भने मृत्युको गतितर्फ लगिरहेको हुन्छ।
विश्वको सबैभन्दा धेरै मोटोपन भएको देशको नाम लिँदा धेरै मानिसहरू अमेरिका वा मेक्सिको भनेर अनुमान गर्छन्। तर सही जवाफ नाउरू भन्ने देश हो जहाँका ६१ प्रतिशत नागरिक मोटा छन्। ९० प्रतिशत नागरिक अधिक तौल भएका छन्। नाउरू सबैभन्दा मोटो देश हुनुमा धेरै कारण छन्। मैले गुगल सर्च गरेर पत्ता लगाउँदा यसको मुख्य कारण अत्यधिक जंक फुडको खपत नै हो भन्ने फेला पारे। यस्तै उदाहरण टोंगा र सामोआ टापु हुन्।
जंक फुड आजकल विश्वव्यापी बनेको छ। यो संसारभर फैलिरहेको भाइरस जस्तै हो। अनुसन्धानले प्रमाणित गरेको छ कि, ह्यामबर्गरले मोटोपनको दर बढाउँछ। चिप्स दोस्रोमा पर्छ। पेय, स्यान्डविच र हटडगहरू तेस्रो स्थानमा छन्। जंक फुडको चलन विश्वभर यति बढेको छ कि, २१ अगष्टलाई जंक फुड दिवस भनेरै मनाइन्छ।
जंक फुडले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यलाई पनि असर गर्छ। प्रशोधित खाना खाने धेरै बच्चाको व्यवहारमा समस्या हुन्छन्। यति धेरै बेफाइदा भए पनि मानिसहरू किन यस्ता खानाहरू रूचाउँछन्?
मैले अनलाइनमा अध्ययन गर्दा के पत्ता लगाएँ भने, यी खानेकुरामा विशेष रसायन र स्वाद हुने भएकाले खाँदा आनन्दको अनुभूति र स्वाद दिने रहेछ। पोषणविद्हरूका अनुसार यदि हामीले हप्तामा एक वा दुइपटक तरकारी, सलाद, फलफूल आदिको साथ सामान्य प्रकृतिका जंक फुड खायौं भने यसले त्यति धेरै हानी गर्दैन। शरीरलाई आवश्यक क्यालोरी वा बोसो प्रदान गर्न मद्दत गर्न सक्छ।
यदि हामीले हरेक दिन मुख्य खानाका रूपमा जंक फुड खायौं भने हाम्रो स्वास्थ्य छिटै बिग्रने निश्चित छ। उदाहरणका लागि, आलु चिप्सले हामीलाई १६० ग्राम चिनी दिन्छ। यदि तपाईँ हरेक दिन चिप्स खानुहुन्छ भने एक हप्तामा तपाईँ ११२० ग्राम चिनी उपभोग गर्नुहुन्छ। यो संख्या सानो होला तर यसले तपाईंको स्वास्थ्यलाई गम्भीर असर गर्न सक्छ।
माथि भनेझैं, यी खानाहरूको प्रबृति यति छिटो विश्वभर फैलिरहेको छ। विभिन्न सेलिब्रेटीहरूले जंक फुड उत्पादन गर्ने विभिन्न कम्पनीका लागि धेरै विज्ञापन गरेका छन्। कुनै व्यक्तिको रोल मोडल वा सेलिब्रेटीले जंक खानेकुराको विज्ञापन गरेको छ भने थाहै नपाई उसका फ्यानहरूले ती खानेकुरा खान थाल्छन्। यसरी हामी यसको लतमा फस्छौं। कम्पनीहरूले हाम्रो लतको फाइदा उठाउँछन्। तिनीहरूले आफ्नो उत्पादन बढाउँछन्।
विभिन्न अध्ययनहरूले प्रमाणित गरेका छन् कि गर्भवती आमाहरूले पनि आफ्नो पेटको बच्चालाई जंक फुडको लत सार्न सक्छन्। हामी आफै जंक रोक्न र स्वस्थ खानेकुरा खान सक्छौं। तर हामीजस्तो गरिब देशका लागि स्वस्थ खाना भन्दा जंक खाना सस्तो छ। तर पनि हामीले स्वस्थ खाना किन खानुपर्छ भनेर शिक्षामार्फत चेतना फैलाइरहनुपर्छ।
म तपाईंहरूलाई मेरो आफ्नै अनुभव बाँड्न चाहन्छु। कुनै समय मलाई पनि चिप्स र चाउचाउको लत थियो। म हरेक दिन चाउचाउ खान्थेँ। धेरै दिन म बिरामी परेँ तर जंक खान छाडिन।
एकदिन मेरो मम्मी र बाबाले मलाई यसको बेफाइदा र यसको असरहरूबारे बताउनुभयो। दीर्घ रोग र जीवननै गुमाउन सक्ने गम्भीर घटनाबारेमा बताउनुभयो। त्यस दिनदेखि मलाई जंक फुड मन पर्दैन। मैले त्यस दिनदेखि स्वादिष्ट अर्गानिक फलफूल, तरकारी, दही लगायत खानेकुरा खान थालेँ। अहिले म स्वस्थ र बलियो छु।
यदि मैले पार्टी वा केही पारिवारिक समारोहहरूमा जंक फुड खाएँ भने, म मेरो मेटाबोलिजम राम्रो बनाउन व्यायाम गर्छु। जंक फुड त्याग्न, स्वस्थ र बलियो बन्न कहिल्यै ढिलो हुँदैन।
अन्त्यमा, जंक फुड त्याग्नुहोस् अनि हरियो सागपात, दूध, दही, तरकारी र फलफूलहरूमा ध्यान दिनुहोस्। प्रयास गरे असम्भव केही छैन।
(असीम सुवेदी मेरिडियन स्कुल¸बालुवाटारमा कक्षा ८ मा अध्ययनरत छन्।)