सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
‘दादा मात्र धेरै दिन काठमाडौं बस्न पाउने, म नपाउने?’
भाइले मामुसँग गुनासो गर्न थालेको गत चैतदेखि हो। उसको गुनासो ठिकै पनि हो। म चैतदेखि घर जो गएको छैन।
बुद्धपूर्णिमाको दिन मामु र भाइ मामाघर जानुभयो। हामी पनि जाने कुरा थियो। बाबाको अफिसमा बिदा नमिलेर जान पाइएन्। तीन दिनपछि मामुसँग भिडियो कलमा कुरा हुँदै थियो। कुरा हुँदै गर्दा मेरो आँखाबाट बर्रर आँसु खस्यो। अनि कुरा गर्नै सकिन।
जेठ १८ गते शुक्रबार।
म काठमाडौं बसेर पढ्न थालेपछि पहिलोपटक घर जाने दिन थियो। बिहान पाँच बजे नै बाबाले उठाउनुभयो। सवा छ बजे गाडी छुट्थ्यो। बाबाले पाँचै बजे उठाउँदा 'अहिल्यै उठ्नु पर्छ र?' भनेर अल्छी गर्दै थिएँ। बाबाले 'त्यसो भए तिमी सुतिराख, म मात्र घर जान्छु' भनेपछि नउठी सुखै भएन।
उठेर नित्यकर्म सकेँ। चिया बनाएँ। बाबा र म मिलेर चिया खायौँ। अनि तयार भएर निस्कियौँ। डेराबाट निस्किएर कलंकी चोक पुग्दानपुग्दै बस काउन्टरमा बाबाको मोबाइलमा फोन आयो। हामी आइसक्छौं भनेर फोन राख्नुभयो।
बाबाले मलाई हेर्दै भन्नुभयो, 'ल हेर छोरा! पाँच बजे नउठेको भए बस छुट्ने रहेछ कि रहेनछ?'
म केही बोलिन।
काउन्टरबाट टिकट लियौं। बसको ए साइडको ३ र ४ नम्बरको टिकट हाम्रो थियो। बस खाली खाली थियो। त्यही भएकाले बिस्तारै हुइकियो। मलाई कलंकीदेखि थानकोटसम्मको बाटोबारे थाहा थियो।
जब बस चन्द्रागिरीतर्फ लाग्यो, बाबाले रोचक कुरा सुनाउनुभयो, 'छोरा पहिले-पहिले यो बाटोमा मान्छेले गाडी बोक्थे, अहिले गाडीले मान्छे बोक्छ।'
मलाई अचम्म लाग्यो, अनि पूरै कथा सुनाउन आग्रह गरेँ।
वहाँले कथा अगाडि बढाउनुभयाे, ‘तत्कालीन राणाशासकका लागि भनेर मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याइन्थ्यो। भारत हुँदै नेपाल भित्रिने साना–ठूला गाडीलाई युवाले भीमफेदीदेखि बोक्थे। त्यतिबेला वीरगन्जदेखि हेटौँडा हुँदै तत्कालीन मकवानपुरको सदरमुकाम भीमफेदीसम्म सडक सञ्चालन भइसकेको थियो। त्यही सडक हुँदै गाडीहरू भीमफेदीसम्म आइपुग्थे। भीमफेदीबाट गाडी बोकेर कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरि हुँदै थानकोट पु¥याएन्थ्यो।'
भीमफेदीदेखि काठमाडौंसम्म गोरेटोको भरमा हिँडेर आवतजावत गर्नुपर्ने रहेछ। धनीमानीहरू उलिनकाठ चढेर यात्रा गर्दा रहेछन्। उलिनकाठ बोक्नेहरु पनि युवा नै हुन्थे। सोही बाटो हुँदै गाडी बोकेर युवाहरू काठमाडौँ आउँथे।
बाबाले भन्नुभयो, 'राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, तोक्मार, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेल लगायत क्षेत्रका स्थानीय भरिया हुन्थे। यसरी गाडी बोकेर ल्याउनेक्रम २०१३ सालसम्म चल्यो। २०१० देखि बन्न थालेको पृथ्वी राजमार्गले भीमफेदी–थानकोटलाई तीन वर्षमा जोडेपछि भारतदेखि गाडी गुडेरै काठमाडौं आउन थाले। भरियाले बोक्नुपर्ने आवश्यकता नै परेन।’
बाबाको कुरा सुनेर अवाक हुँदै मैले सोधे, ‘अहिले पनि ती मानिस जिउँदै छन्?’
ती सबैकाे मृत्यु भइसकेकाे कुरा बाबाले बताउनुभयो।
...
हाम्रो बस चन्द्रागिरीबाट ओरालो लाग्यो। चित्लाङ–बिसिङखेल–नौखण्डे–बज्रबाराही–कुन्छाल हुँदै पालुङ पुग्यो। हामी फूलपाती चउरमा ओर्लिएर घर हिंड्यौ। बस भने फाँटबजार–फेदिगाउँ–चियापानी हुँदै डाँडाबास गयो।
घर पुगेर हातमुख धोएर खाना खायौं। त्यसपछि म दिदी सौरभीसँग गफ गरेर बसें। हामीले धेरै त पढाइका कुरा गर्यौं।
...
जेठ महिना, थाहा नगरपालिकामा आलु खन्ने सिजन हो। आलु खनेर विभिन्न तरकारीहरू लगाइन्छ। खेती गर्ने कसैलाई पनि फुर्सद हुँदैन। बाबा, मामु र आमा बारीमा आलु खन्न जानुभयो। भाइलाई स्कुलबाट ल्याउने जिम्मा मेरो भयो। भाइलाई लिन जाँदा मलाई दोहोरो फाइदा भयो। मैले मेरा पुराना साथीहरूसँग भेट्न पाएँ।
म पालुङ बोर्डिङ स्कुल पुग्नेबित्तिकै साथीहरूले ‘ज्ञानोदय’ आयो भनेर नारा नै लगाए। ज्ञानोदय मेरो नयाँ स्कुलको नाम हो। केहीबेर साथीहरूसँग कुराकानी गरेपछि भाइलाई लिएर म घर आएँ। दाइ साथीहरूसँग घर नजिक क्रिकेट खेलेँ। रमाइलोसँग दिन बित्यो।
भोलिपल्ट शनिबार खेतमा आलु खन्ने खेताला थिए। म पनि खाना खाएर मामुबाबासँगै खेतमा गएँ। केहीबेर घाँस उखेल्न सघाएँ। अनि भाइ र म घरमै बस्यौँ। खेल्यौँ।
आइतबार बिहानै बाबा र म सुमो चढेर काठमाडौं फर्कियौँ। डेरा पुगेर हतारहतार खाना बनाएर खायौँ। म स्कुल गएँ, बाबा अफिस।
कक्षा ७ को वार्षिक परीक्षा सकिएपछि काठमाडौंमै पढ्नेगरी चैत २३ गते म आएको थिएँ। मसँगै भाइ र मामु पनि आउनुभएको थियो। भाइ र मामु एक हप्ता बसेर घर जानुभएको थियो। बाबा र म ज्ञानोदय माध्यामिक विद्यालय गएर प्रवेश परीक्षाको फारम भर्यौं।
वैशाख २ गते प्रवेश परीक्षा थियो। परीक्षामा सहभागी हुने विद्यार्थी र अभिभावकको भीड थियो। बिहान ८ बजेदेखि परीक्षा सुरू भयो। मेरो पालो पौने ११ बजे मात्रै आयो। परीक्षा ठिकै भयो।
४ गते दिउँसो ४ बजे नतिजा आउने सूचना सुनेर रूम फर्किएँ। अब प्रतीक्षा नतिजाको थियो। चार बजे विद्यालय पुगें। नतिजा सार्वजनिक भइसकेको थिएन। पाँच बजे सार्वजनिक हुने सूचना लिएर, फेरि रूम फर्किएँ। नतिजा सूचना पाटीमा थियाे। तर भीड निकै थियो। मभन्दा ठूला र अग्ला मानिसका कारण मैले हेर्नै सकिन। मैले एकजना अंकललाई नाम भनेर नतिजा हेरिदिन भनेँ। तर उहाँले तिम्रो नाम छैन भन्नुभयो। म आत्तिएँ।
बेलुका बाबा घर आएपछि नतिजाको प्रिन्ट कपी दिनुभयाे र नाम खोज्न भन्नुभयो। मेरो नाम देख्दा म निकै खुसी भएँ। त्यसै दिन मैले पढाइमा राम्रो गर्छु भन्ने मनमनै बाचा पनि गरेँ।
(संगीत ढकाल बाफल, काठमाडौंस्थित ज्ञानोदय माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन्।)