सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
असोजको ३ गते हरेक वर्ष संविधान दिवस मनाइन्छ। संविधान दिवसमा म पनि टुँडीखेल गएको छु। यो वर्षको संविधान दिवस स्वीजरल्याण्डको जेनेभामा रहेको वाइपोको अफिसमा मनाउने मौका मिल्यो। नेपाल भन्दा बाहिर संविधान दिवस कसरी मनाईंदो रहेछ भन्ने थाहा भयो।
मलाई संविधान दिवसको दिनमा लगाउन भनेर मामाले नेपाली पोशाक दौरा सुरवाल र ढाका टोपी पठाइदिनु भएको थियो। म र बाबा दौरा सुरवाल र टोपी लगाएर वाइपो पुग्यौं। बाबाको युएन कार्ड एक्टिभेट गरेर हामी भित्र छिर्यौं।
मिसनको अञ्कलहरू र अरू नेपाली पुरूषहरूले दौरा सुरवाल र आन्टिहरूले सारी र थरिथरिका नेपाली पोशाक लगाउनुभएको थियो। त्यो देख्दा रमाइलो लाग्यो। कार्यक्रम गर्ने ठाउँमा स्पिकर र टेवलहरू थिए। पछाडि ढुंगाबाट झरना झरेको जस्तो थियो। कार्यक्रम गर्ने ठाउँ पनि राम्रो र रमाइलो थियो। तर नेपालमा भन्दा फरक थियो। मलाई नेपालमा दुईपटक संविधान दिवस मनाउन टुँडिखेल र ममिको अफिस गएको याद छ।
यत्तिकैमा राजदूत अंकल आइस्यो। मेरो साथीहरू राजद्धिप र सुरभी पनि आए अनि हामी खेल्न थाल्यौं। बिस्तारै धेरै मान्छेहरू आएनुभयो। हामीले त्यहाँ माइक चेक गर्यौं। पारस अंकलले कार्यक्रम सुरू गर्नुभयो। राष्ट्रिय गान बज्यो। धेरै पछि मैले राष्ट्रिय गान गाएँ। मलाई नेपालमा स्कुलको लाइनमा राष्ट्रिय गान गाएको याद आयो। राष्ट्रिय गान गाउँदा आनन्द आयो।
त्यसपछि राजदुत अंकलले नेपालको संविधानबारे भन्नुभयो। सबैलाई नेपालको राष्ट्रपतिको तर्फबाट शुभकामना पनि दिनुभयो। उहाँले नै भन्नुभएको, 'नेपालको संविधान राम्रो संविधान हो।'
नेपाल अति कम विकसित देशबाट स्तरोन्नति हुँदैछ भनेर पनि वहाँले हामीलाई बताउनुभयो। अरू पनि धेरै कुरा गर्नुभयो।
मैले त्यही कार्यक्रममा मेरै स्कुलमा पढ्ने हंगेरीको साथी मेसीलाई देखें। उ आफ्नो बाबा र बहिनीसँग आएको थियो। उसको बाबा पनि हंगेरीको राजदुतावासमा काम गर्ने हुँदा नेपाल मिसनले उहाँलाई निमन्त्रणा गरेको रहेछ।
हामी खेल्यौं। स्क्रिनमा हाम्रो देशको भिडियो र फोटोहरू देखाइएको थियो। हामीले हेर्यौं। विभिन्न खानेकुरा पनि खायौं।डेजर्ट खायौं। राजद्धिप, म र सुरभी दिदी सोफामा बसेर धेरै कुरा पनि गर्यौं। धेरै दिनपछि हाम्रो भेट भएको थियो।
भारतको गणेश अंकललाई पनि त्यहाँ भेटें। गणेश अंकल बाबाको साथी हुनुहुन्छ। उहाँले मलाई धेरै माया गर्नुहुन्छ। उहाँसँग हिन्दीमा कुरा गर्न मजा आउँछ। नेपालबाट आउनुभएको दिपेश अंकल, देवराज अंकलहरूसँग पनि भेटें अनि कुरा गरें। मलाई नेपालमै भएको जस्तो लाग्यो।
मैले भारतको राजदूत, अमेरिकाको राजदूत अनि डब्लू.टी.ओको डिजीलाई पनि भेटें। बाबाले चिनाउनु भयो। अरू धेरै विदेशी पनि आउनुभएको थियो। कतिले नेपाललाई कंग्र्याचुलेसन अर्थात् बधाई दिइरहनुभएको थियो। जे होस्, यो पटक जेनेभामा संविधान दिवस मनाउन पाएर आफैलाई खुसी लागिरहेको छ।
नेपालमा र विदेशमा यो दिन अलि फरक तरिकाले मनाइने रहेछ। नेपालमा हेलिकप्टरबाट फूल खसालेको, बेलुन उडाएको, बाजा र नाचगान तथा झाँकीसहित मान्छेले टुँडिखेल भरिएको मलाई याद छ। त्यस्तै, ममी-बाबाले हराइन्छ कि भन्ने डरले मेरो हात समाएर हिँडाएको पनि मलाई याद छ। विदेशमा नेपाली र विदेशी मानिसहरू जम्मा भई संविधान दिवस मनाउँदा निकै रमाइलो भयो।
(दर्शन भुसाल कक्षा ७ मा अध्ययनरत छन्। हाल उनी जेनेभा, स्विट्जरल्यान्डमा बस्छन्।)