सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
समाजमा मानवताका उज्याला किरणहरू फैलाउने थुप्रै संस्था छन्। तर तीमध्ये रेडक्रस एक अद्वितीय उदाहरण हो जसले संसारभर विपद्, रोग, गरिबी र युद्धले सताएका मानिसहरूलाई सहयोग पुर्याइरहेको छ। जब कहीँ विपद् आइपर्छ, जब कहीँ मानवीय पीडा अन्धकारको गर्भबाट प्रस्फुटित हुन्छ, त्यहीँ रेडक्रसको उज्यालो किरण आशाको दीप बनेर आउँछ।
मानवतावादको यो अनुपम सेवा भाव हजारौँ पीडितहरूको आँसु पुछ्न अहोरात्र खटिएको छ। हाम्रो समाजमा पनि अनेकौँ दुःखद घटनाहरू घटिरहेका हुन्छन्, जहाँ पीडितहरूको उद्धारका लागि रेडक्रसको हात अगाडि बढिरहेको हुन्छ। यही सेवा भावले भरिएको एउटा मार्मिक कथा हो, जहाँ दुःखको अँध्यारोमा रेडक्रस नै एक मात्र उज्यालो बनेर आयो।
राम, हरि, र सीता एउटै गाउँका थिए। तीनै जना साधारण परिवारका सदस्यहरू थिए तर गाउँमा बाढीले मच्चाएको विध्वंसले उनीहरूको जीवन तहसनहस बनायो। उफ्रँदै बग्ने नदीको पानी जब गाउँको घरहरूमा पस्न थाल्यो, तब मान्छेहरू त्रासले चिच्याउन थाले। भारी वर्षाका कारण खोलानाला बढेर गाउँको सबैजसो घर जलमग्न भए।
रातको समय थियो, पानीको गर्जन र वर्षाको आवाजले गाउँलाई त्रासदीमा डुबाइरहेको थियो। मानिसहरू भागाभाग गर्दै सुरक्षित ठाउँ खोज्न थाले। हरि र उनका परिवारको घर क्षणभरमै बगायो, रामको आँगनसम्म पानी भरियो र सीताको परिवारको खाद्यान्न सबै बगेर गयो।
गाउँ नै जलमग्न भयो। बालबालिका, वृद्धवृद्धा, र महिलाहरूको चिच्याहटले गाउँ त्रासले भरिएको थियो। केही मानिसहरू रूखका हाँगामा अडेस लागेर बाँच्ने प्रयत्न गरिरहेका थिए भने कतिपयका घरभित्रै पानी भरिएर निसास्सिन लागेका थिए।
यस बाढीले गाउँको जनजीवनलाई तहसनहस मात्र गरेन, रोगव्याधिको खतरा पनि बढायो। दूषित पानीका कारण धेरै मानिस बिरामी परे। खानेकुरा नहुँदा भोकभोकै रात काट्नुपर्यो। बाँच्नकै लागि संघर्ष गरिरहेका गाउँलेहरूले कुनै न कुनै रूपमा आशाको किरण खोजिरहेका थिए।
आश्रय खोज्दै गाउँको एउटा सुरक्षित भागमा पुगे। त्यहाँ खाद्यान्न, लत्ताकपडा र औषधिको चरम अभाव थियो। रोगको त्रासले मनमा भय मडारिन थाल्यो। मानिसहरू आफ्नो ज्यान जोगाउने संघर्षमा थिए तर सहयोग गर्ने कोही देखिँदैनथ्यो। के अब उनीहरूको जीवन अन्धकारमै डुब्ने हो? के बाढीपछि पनि उनीहरूको अवस्था अझै भयावह नै रहने हो?
त्यही बेला टाढाबाट रातो झण्डा बोकेको एउटा टोली गाउँमा आइपुग्यो— त्यो रेडक्रसको उद्धार टोली थियो। उनीहरूले बाढीपीडितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरे, खानाको व्यवस्था गरे, औषधि उपलब्ध गराए र हरि जस्ता घाइतेहरूको उपचार गरे। रेडक्रसका स्वयंसेवकहरू रातभर निस्वार्थ सेवामा खटिए। उनीहरूले पालहरू राखेर अस्थायी शिविर बनाए जसमा बाढीपीडितहरूलाई सुरक्षित राख्न सकियो।
बिरामीहरूलाई प्राथमिक उपचार प्रदान गरियो र कमजोर व्यक्तिहरूलाई बलियो पोषणयुक्त खाना उपलब्ध गराइयो। रेडक्रसका डाक्टरहरूले पानीजन्य रोगहरू रोक्नका लागि गाउँभर औषधि छर्किए।
सुरुमा बाढीपीडितहरू अनिश्चितताको भुमरीमा परेका थिए तर रेडक्रसको उपस्थितिले उनीहरूलाई बाँच्ने नयाँ आशा प्रदान गर्यो। राम, हरि, र सीता मात्र होइनन्, बाढीले थलिएका सबै गाउँलेहरूले रेडक्रसलाई आशाको प्रतीकका रूपमा स्वीकारे। गाउँका वृद्धहरूले रेडक्रसका स्वयंसेवकहरूलाई आशीर्वाद दिए, बच्चाहरू खुसीले खेल्न थाले र महिलाहरूले राहत सामग्री पाएर आफ्नो परिवारलाई बचाउन सक्ने अवस्थामा पुगे।
रेडक्रसका स्वयंसेवकहरू दिनरात खटेर गाउँलाई पुनर्स्थापना गर्न सहयोग गरिरहे। उनीहरूको अथक प्रयासका कारण गाउँ बिस्तारै आफ्नो सामान्य स्थितिमा फर्कन थाल्यो।
यो घटनाले गाउँभरि रेडक्रसको महत्त्वलाई गहिरो रूपमा बुझेको थियो। पीडितहरूको दुःखमा मलहम लगाउने रेडक्रसका स्वयंसेवकहरूको निःस्वार्थ सेवा सम्झिँदा उनीहरूको मनमा एउटा अटुट कृतज्ञताको भावना जाग्यो। रेडक्रसको त्यो दिनको सहयोग बिर्सन सकिने थिएन किनभने त्यो केवल राहत मात्र थिएन, त्यो प्रेम, सेवा, र मानवताको प्रतिरूप थियो।
गाउँका युवाहरूले पनि रेडक्रसमा स्वयंसेवक भई अरू पीडितहरूको सेवामा लाग्ने संकल्प गरे। अन्ततः, दुःखको घडीमा उठ्ने एउटै हात थियो— रेडक्रस, जसले अन्धकारमा उज्यालो र निराशामा आशा बोकेको थियो।
(अबिश बगाले स्मल हेभेन स्कुलमा अध्ययनरत विद्यार्थी हुन्।)