यहाँका कृषकले पशुपालन व्यवसायलाई जोड दिन थालेपछि दूध उत्पादनमा वृद्धि भएको हो । दूध उत्पादन बढाउने उद्देश्यले कृषकले उन्नत जातका पशुपालन व्यवसाय शुरु गरेपछि दूध विक्रीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् ।
जिल्लाका कृषकले विशेष गरी तराई क्षेत्रबाट उन्नत जातका गाई खरीद गरी पशुपालन व्यवसाय गर्न थालेपछि वर्षेनी दूध उत्पादन बढ्दै गइरहेको छ । आर्थिक वर्ष २०७३/७४ मा ४८ हजार ४३ मेट्रिक टन दूध उत्पादन भएको छ । अघिल्लो वर्षको उत्पादनमा ३.७५ प्रतिशतले बढेको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा प्रदीप शर्माले जानकारी दिए । आव २०७२/७३ मा ४६ हजार ३१७ मेट्रिक टन दूध उत्पादन भएको थियो ।
पशुसेवा कार्यालयले पशुपालन व्यवसायमा संलग्न कृषकलाई सहज होस् भनेर पशुआहारका लागि उन्नत जातका घाँसको बीउ वितरण, पशु स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको उपचारमा सहयोग, क्षमता वृद्धि कार्यक्रम, अनुदान रकम, विभिन्न सामग्री प्रोत्साहनस्वरुप उपलब्ध गराएपछि व्यवसाय बढ्नुका साथै दूध उत्पादनमा वृद्धि आएको अधिकृत शर्माले बताए ।
जिल्लामा उत्पादित दूध बुटवल, स्याङ्जा र पोखरासम्म निर्यात हुने गर्छ । जिल्लामा ९० भन्दा बढी व्यावसायिक गाई फार्म सञ्चालनमा आएका छन् । एक कृषकले पाँचवटासम्म उन्नत जातका गाई पालेर एक वर्षमा रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्न सफल भएको अधिकृत शर्माको भनाइ छ ।
पशु आहारका लागि कृषकले खेतबारीमा उन्नत जातका पोषिला घाँस उत्पादन, पशुस्वास्थ्यमा ध्यान दिन थालेपछि नसोचेको उत्पादन लिन सफल भएको रामपुरका अगुवा कृषक ज्ञानराज पोखरेलले बताए । उनको फार्ममा अहिले १२ वटा उन्नत जातका गाई रहेका छन् । दैनिकरुपमा ५० लिटर दूध उत्पादन गरेर मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्छन् ।
‘दाना घाँसपात प्रशस्त मात्रामा सन्तुलन मिलेको खण्डमा एक गाईबाट छ/सात लिटरसम्म दूध उत्पादन लिन सकिन्छ’, उनले भने ।
पाल्पा विगत पाँच वर्षयता दूध उत्पादनमा आत्मनिर्भर हुँदै आइरहेको छ । कृषकले उन्नत जातका पशुपालन व्यवसाय बढाउँदै जाँदा दूधको उत्पादन बढेपछि दूध उत्पादनका लागि आत्मनिर्भर बनेको हो । आधुनिक गोठ निर्माण गरेर व्यवसाय गर्ने युवा कृषकको पशुपालनमा आकर्षण बढ्नुका साथै दूध विक्रीबाट यहाँका कृषकले प्रशस्त आम्दानी गर्न थालेका छन् । कृषकले एक दुईवटा उन्नत जातका गाई पालेर सामान्य घरखर्च पनि चलाउँदै आएको पाइएको छ । रासस