स्वाइनफ्लूको हल्लाले पोखराको बंगुर व्यवसायनै धरापमा परेका छन् । स्वाइनफ्लू रोग बंगुरबाट मानिसमा सर्ने भ्रम फैलिएपछि कास्कीमा बंगुर व्यवसाय सञ्चालन गरेर जिविकोपार्जन गर्ने किसानहरु व्यवसायबाटै पलायन हुने स्थितीमा पुगेका छन् ।
मौसमी रुघाखोकीका कारण मानिसहरु बिरामी हुने र बिरामीको मृत्युका खबरहरु सञ्चारमाध्याममा स्वाइनफ्लू भनी प्रचार प्रसार गर्दा बंगुर व्यवसायी किसानहरु मर्कामा परेको बताएका छन् । प्रतिदिन २५ सय केजी बंगुरको मासु विक्री भइरहँदा तीन हप्तादेखि स्वाइनफ्लूको हल्लाका कारण बंगुरको मासु विक्री हुन छोड्दा किसानहरु मर्कामा परेको बंगुर बृडर कृषक सहकारी संस्था पोखराका अध्यक्ष योग बहादुर आचार्यले बताए ।
कास्कीमा ११३ वटा बंगुर फर्म रहेको र फर्ममा रहेका बंगुर र कामदारहरुमा मौसमी रुघाखोकी नदेखिएको र मौसमी रुघाखोकीलाई स्वाइनफ्लू भनेर हल्ला फैल्याउँदा व्यवसायनै ठप्प हुन पुगेको आचार्यले बताए । हाल पोखरामा बंगुरको मासु विक्री गर्ने दुइ दर्जन फ्रेस हाउस पनि बन्द अवस्थामा रहेको आचार्यले बताए । जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा. पुरुषोत्तम त्रिपाठीले कास्कीमा रहेका बंगुरमा मात्र नभई हालसम्म बंगुरमा स्वाइनफ्लू रोग नलागेको बताए । स्वाइन फ्लू रोग हालसम्म बंगुरमा केही पनि नभेटिएकाले विभिन्न सञ्चारमाध्यममा स्वाइनफ्लूको कारण बंगुर भनी प्रचार प्रसार गरिनु गलत भएको बताए ।
बंगुर व्यवसायहरु बंगुर फर्ममा काम गर्ने र बंगुरको मासु खाएकै कारण कोही पनि मौसमी रुघाखोकीका कारण मृत्यु नभएको बताए । नेपाल अधिराज्यभरि मौसमी रुघाखोकीका कारण मानिसहरुको मृत्यु भइरहँदा आफ्नो संस्थाले गरेको अनुसन्धानका क्रममा कोही कसैको पनि बंगुरको मासु खाएकै भरमा बिरामी नपरेको पाइएको व्यवसायीहरुको भनाई छ । जिल्ला पशुसेवा कार्यालयका कास्कीका अनुसार पोखरामा वार्षिक ९ सय १२ मेट्रिक टन बंगुरको मासु विक्री हुने गरेको छ ।