यतिबेला यहाँका व्यापारीले विक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन् । अहिलेसम्म जिल्लाबाट ५४२ मेट्रिक टन स्याउ विभिन्न जिल्ला पठाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
व्यापारीले किसानको बगैँचामै गएर स्याउ प्रतिकिलो ६० रुपैयाँ का दरले खरीद गर्न थालेका छन् । चन्दननाथ नगरपालिका–१० का छक्कबहादुर शाही बगैँचाबाटै तीन लाख रुपैयाँभन्दा बढीको स्याउ विक्री गरेको बताउँछन् ।
सोही वडाकै सरस्वती देवकोटा लगानीअनुसारको आम्दानी गर्न सफल भएको बताउँछन् । स्याउमा चमेरो, अरिङ्गाल, कोइरालोलगायतले क्षति पुर्याउन थालेकाले चाँडै बेच्नु परेको उनको भनाइ छ । सुर्खेत र नेपालगञ्जमा स्याउको मूल्य ह्वात्तै घटेकाले व्यापारी मारमा परेका छन् । ग्रेडिङ र प्याकेजिङ बिना स्याउ धमाधम विक्री हुन थालेको छ । ग्रेडिङ नगरिएको स्याउले उचित मूल्य नपाउँदा व्यापारी चिन्तामा छन् ।
जिल्ला सहकारी संघमा रहेको ८० लाख रुपैयाँको ग्रेडिङ मेसिन सञ्चालनमा आउन सकेको छैन । दिनहुँ हातले नै स्याउ ग्रेडिङ गर्नु परिरहेको व्यापारी रामकृष्ण चौलागार्इंले बताए । उनले ६५ मेट्रिक टन स्याउ खरीद गरेका थिए भने करीब २५ मेट्रिक टन कमसल स्याउ भेटिएको छ । जुम्लामा प्रतिकिलो ६० रुपैयाँमा खरीद गरिएको स्याउ काठमाडौंमा १ सय २० रुपैयाँमा विक्री गर्ने सम्झौता भएको चौलागाईंले बताए । उनले करीब ३५ लाख रुपैयाँको स्याउ खरीद गरेका छन् ।
भदौं पहिलो साताभित्रै जुम्लाका ९० प्रतिशत स्याउका बगैँचा रित्तिएका छन् । पञ्चेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मीनबहादुर डाँगी व्यापारीले अत्याएका कारण स्याउ पूर्ण रुपमा तयार हुन नपाएको बताए । आगामी वर्षमा यसबारे कृषक सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । रासस