पर्यटकीय क्षेत्र कुमरोजमा बाढीले बगाएको सडक मर्मतपछि चितवनमा अवरुद्ध भएको जीप सफारी पुनः सञ्चालनमा आएको छ ।
विभिन्न क्षेत्रमा बाढीले बगाएको सडक मर्मतपछि पर्यटकका लागि जीप सफारी सञ्चालनमा आएको कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिए ।
सामुदायिक वनले करीब दुई लाख रुपैयाँको लागतमा सडक मर्मत गरेर सफारी अवरुद्ध भएको जीप सञ्चालनमा ल्याएको हो । गएको साउन २८ गते राति राप्ती नदीमा आएको बाढीले यहाँका विभिन्न बस्ती डुबानसँगै पर्यटन मार्गका विभिन्न क्षेत्र बगाएको थियो । अहिले यहाँ पाँच वटासम्म जीपमा पर्यटकले सफारी गर्ने गरेका छन् ।
कुमरोजभित्र जंगल क्षेत्रको एउटा रूटमा जीप सफारी सुरू भएको र अर्काे रूट सञ्चालनका लागि अझै समय लाग्ने छ । राप्ती नदीको ड्याम क्षेत्रमा बढी क्षति भएकाले दोस्रो रूटमा सफारी सञ्चालन गर्न समय लाग्ने नेपालले बताए ।
चितवन राष्ट्रिय निकुञ्जपछि जीप सफारी सुरू भएको कुमरोजमा पछिल्लो समयमा पर्यटकको आकर्षण बढ्दै गएको छ । गएको पुसदेखि सुरू भएको जीप सफारीबाट मात्रै अहिलेसम्म यहाँ ३० लाख रुपैयाँको आम्दानी भएको सामुदायिक वनले जनाएको छ । यहाँ हात्ती सफारीसमेत सञ्चालन हुँदै आएको छ । सामुदायिक वनको मुख्य आम्दानी नै पर्यापर्यटन रहेको वनका अध्यक्ष हीराबहादुर गुरुङले बताए ।
कुमरोजमा पछिल्लो समयमा बाघ गैँंडाको बासस्थान राम्रो हुँदै गएकाले वन्यजन्तु अवलोनका लागि पर्यटक कुमरोज जाने गरेका छन् । कुमरोजमा दुईवटा मचान निर्माण गरिएकाले रातमा मचानमा बसेर वन्यजन्तु अवलोकन गरी पर्यटक रमाउने गरेका छन् । यहाँ थारु, दराई र गुरुङ होमस्टे (घरबास) सञ्चालन गरिएको छ । रासस