किशोर बगाले दूध व्यवसायी हुन्। चितवन, रत्ननगर नगरपालिका पर्सौनी गाउँमा उनको ‘गोरखकाली गाई फार्म’ छ।
फार्ममा ३० वटा गाईले जातअनुसार १२ देखि ६ लिटरसम्म दूध दिन्छन्। दैनिक १ सय ५० लिटर दूध बेच्छन्। महिनामा १ लाख रूपैयाँसम्म कमाई हुने उनी बताउँछन्। किशोरको सानो परिवार राम्ररी चलेको छ।
देशमै बसेर व्यवसाय गर्ने सोच उनमा यसै आएको हैन। हाम्रा अधिकांश दाजुभाइ जस्तै उनी पनि कलिलैमा विदेश हानिएका थिए।
‘म सन् २००४ मा खाडी मुलुक अजमान गएको थिएँ,ु उनले सुनाए, ‘त्यहाँ स्टोर सुपरभाइजरका रूपमा काम गर्थेँ। एकदिन घुम्दै जाँदा केही
साथीहरूलाई गाईफर्ममा काम गरेको देखेँ। विदेशमा त गाईफार्ममा काम गर्न नेपालबाट कामदार लगिने रहेछ। म आफैंले त झनै गर्नसक्छु भन्ने सोचेँ। मलाई नेपाल फर्कन मन लाग्यो।’
उनी २०१३ मा नेपाल फर्किए।
‘गाई पालेर गोबर नै सोहोर्न त किन विदेश आउन पर्यो र, नेपालमै गर्दा भइहाल्छ नि भनेर म व्यवसायिकरूपमै गाईफार्म खोल्ने भनेर आएँ,ु उनले भने, ‘आएपछि तुरून्तै अन्त मन नडुलाई फर्म खोल्ने तयारी गरेँ।ु
उनले सुरूमा १० वटा गाई अटाउने गरी फार्म निमार्ण गरे। चितवनबाट नै २ वटा गाई ल्याए। विदेशमा काम गरेर आएकाले आफूलाई व्यवसाय गर्न गाह्रो नभएको उनी बताउँछन्।
‘विदेश बसेर पैसा जोगाएको थिएँ। सुरूमै योजना बनाएको थिएँ। यति पैसाले गोठ, यति वटा गाई भनेर। त्यसैले ऋण परेन। सहज नै भयो। जाँगर पनि थियो,’ उनले भने, ‘तर व्यवसायिकरूपमा कसरी र के गर्ने भन्ने थाहा थिएन। जस्तो जानेँ त्यस्तै गर्दै आएँ। समयले नै सबै कुरा सिकायो।’
किशोरको पुर्ख्यौली घर गोरखा हो। गाउँको पेशा नै कृषि। गाईवस्तु पालेका थिए। आफ्ना बुबाले गरेको र विदेशमा देखेको गाईपालनलाई परिमार्जन गरी व्यवसाय गरको उनी बताउँछन्।
दुइटा गाईबाट सुरू गरेको उनको फार्म अहिले सात वर्षको भएको छ। फार्ममा अहिले ३० वटा गाई छन्।
सहजै व्यवसाय सुरू गरेका भए पनि किशोरलाई फार्म सञ्चालनमा भने समस्या नआएका होइनन्।
‘बिहान गाई दुहेर आयो, बेलुका कल्चौँडो सुन्निएका हुन्थ्यो। के कारणले त्यस्तो भएको आफूलाई केही थाहा नहुने’ उनले सुनाए, ‘सामान्य समस्या थाहा नहुँदा आफैंले गर्न सक्ने उपचारमा पनि डाक्टर बोलाउनु पर्थ्यो। सुरूआती बेला यस्तो खर्चले समस्या हुन्थ्यो। अहिले अलि अनुभव भएकाले कुन बेला डक्टर बोलाउन पर्छ, कुन आफैंले समाधान हुन्छ भन्ने बुझ्न थालेको छु।ु
अहिले अधिकांश गाईफार्ममा मेसिनबाट नै दूध दुहुने, गोबर फ्याँक्ने काम हुन्छ। उनी भने आफू हातले नै गर्दै आएको बताउँछन्। यसलाई विस्तारै आधुनिक बनाउँदै लैजाने उनको योजना छ।
उनले फार्ममा एक सहयोगी राखेका छन्। २५ विघा जग्गा भाडामा लिएर घासँ खेती गरेका छन्। उनका अनुसार स्वस्थ दूध उत्पादन गर्न गाईलाई घाँसै खुवाउन पर्छ।
विस्तारै व्यवसाय अझै बढाउने योजनामा छन् उनी। अहिले दैनिक २ सय लिटर दूध पुर्याउने उद्देश्यका साथ काम गरिरहेको उनी बताउँछन्। तर व्यवसायीले अहिले दूधको राम्रो मूल्य नपाएको उनले बताए। वर्षौंदेखि गर्दै आएको व्यवसायमा पनि विविध समस्या आइरहँदा स्थिर हुन कठिन हुने उनको भनाइ छ।
‘दूधले बजार र सही मूल्य पाउन सकेका छैनौं। अनि उता मैले ४०र४५ प्रतिलिटरमा बेचेको दूधलाई उपभोक्ताले दोब्बर तिर्नुपर्छ। यसमा सरकारले केही नीति बनाएर लग्यो भने राम्रो हुन्छ,’ उनले भने,‘अझ कोलिफर्म देखियो दूधमा भन्ने समाचार फैलिन्छ। कोलिफर्म देखिनुमा किसानको मात्र दोष हुन्न। यसमा अरू निकायको पनि त्यत्तिकै भूमिका पर्छ। सरकारले सबै ठाउँमा सही परीक्षण गर्नुपर्छ। दूध गुणस्तर किसानको भाँडोमै जाँच्न पर्छ। त्यहाँ केही भेटियो भने बल्ल किसानको दोष हुन्छ। कुनै सहकारी, डेरी उद्योगमा भेटिएको समस्यामा किसान दोषी हुँदैन।’
यसका साथै शुद्ध दूध पिउन सरकारले पनि जनचेतना अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ।
‘सरकारले आजसम्म यस्तो दूध पिउन पर्छ भनेर कहीँ कतै भनेको छैन। उपभोक्तालाई सू–सुचित बनाउने दूधका विज्ञापन खै? कुनै उत्पादकका मात्र हुन्छन्।’
सरकारले दूध हाल्न प्लाष्टिक क्यान प्रयोग गर्न नपाइने भनेको छ। तर यसलाई विस्थापित गर्न केही कार्यक्रम नल्याएकोमा किशोरको गुनासो छ। जनतालाई शुद्ध दूध पियाउन खोज्ने सरकारले शुद्ध दूध उत्पादन गर्ने किसान पनि तयार गर्नुपर्ने उनको भनाइ छ।
‘हरेक काममा नाफा(घाटा हुन्छ। म दूध बेचेर नै भात खान सक्छु। म जस्ता धेरै दाजुभाइले गर्न सक्छन्। तर यो वातावरण बनाउन सरकारले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘सरकारले सहजीकरण गर्दै लगे अलि व्यवस्थित हुन्छ। समस्या समाधान हुन्छ।’