आज असार १५ अर्थात् धान दिवस। नेपालमा २०६१ साल देखि विभिन्न नाराका साथ यो दिवस मनाइँदै आएको छ। कृषिप्रधान देशमा धान दिवस मनाइरहँदा मुलुकमा आयात हुने धानको परिमाण भने बढ्दो छ।
चालू आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा २२ करोड ४३ लाख केजी धान आयात भएको छ। त्यसका लागि ६ अर्ब ५६ करोड रूपैयाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्क छ।
त्यस्तै मिठो मसिनो बास्नादार चामल ४९ करोड ८७ लाख बराबरको आयात भएको छ। यो तथ्यांकलाई आधार मान्ने हो भने देशको धान उत्पादनले जनसंख्यालाई पुग्दैन।
‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनिकरण’ भन्ने नाराका साथ विभिन्न ठाउँमा धान दिवस मनाइरहेको छ।
तर यो नारामा मात्रै सीमित भएको पाइन्छ।
तराईको भूभागमा व्यवसायिक रुपमै खेती हुने गरे पनि अधिकांश पहाडी भेगमा निर्वाहमूखी खेती हुँदै आएको छ। नेपालको भु वनोट र भु उपयोगका हिसाबले पनि यान्त्रिकीकरण नारामा नै सीमित भएको सरकारी अधिकारीहरुको बुझाई छ। नेपालको कृषि भूमिलाई यान्त्रिकीकरण गर्न चुनौती रहेको कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव युवकध्वज जिसीले बताए।
‘बाउ बाजेका जमिन छोरा नातिसम्म आइपुग्दा गोरूको चार खुट्टा पनि नअट्ने खेत भागमा आउँछ’, उनले भने, ‘त्यहाँ कसरी ट्याक्टरले जोत्न सकिन्छ।’ ७० देखि ८० प्रतिशत साना किसान भएको ठाउँमा यान्त्रिकीकरण चुनौतिको विषय बनेको उनी बताउँछन्।
ससाना टुक्रा जमिनलाई एकै ठाउँमा मिसाएर खेती गरेमात्र यान्त्रिकीकरण भित्र्याउन सकिने उनले बताए। ससाना टुक्रा जमिनलाई मिलाई एउटै फार्म बनाएर आउने लाई ५० प्रतिशत अनुदान दिने मन्त्रालयको योजना छ।
चालू आव २०७५/०७६ मा पनि यो कार्यक्रम ३ वटा प्रदेशमा राखिएको थियो। तर सो कार्यक्रममा कोही सहभागी नभएको उनले गुनासो गरे।
‘जबसम्म ससाना टुक्रा जमिन मिलाएर ठूलो परिमाणमा धान खेती गर्न सक्दैनौं, तबसम्म धानको आयातमा कमी आउँदैन’, उनले भने। उनका अनुसार मन्त्रालयले आगामी आव २०७६/०७७ मा पनि ७ वटै प्रदेशमा यो कार्यक्रम राखेको छ। कार्यक्रमलाई कार्यन्वयन गर्न भू स्वामित्व ऐन ल्याउन लागिएको उनले जानकारी दिए।
चालू आवमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ। मौसम प्रतिकुल समयमा नै मल, विउ, प्रविधि र सिँचाइको व्यवस्था राम्रो भएका कारण धानको उत्पादन वृद्धि भएको मन्त्रालयको दावी छ।
यस वर्ष मनुसुन ढिला भएकाले धान उत्पादनमा असर पर्ने आँकलन गरिएको छ। तराईतिर साउनमा रोपाइँ हुने हुनाले सुख्खा धानको जात तराईमा लगाउने व्यवस्था गर्नु पर्ने उनले बताए। ‘तराईतिर साउनमा धान रोपिन्छ। सुख्खा धानका जात त्यता वितरण गरेर भएपनि धान उत्पादन वृद्धि गर्नुपर्छ’, उनले भने।
सिँचाईको राम्रो व्यवस्था हुने हो भने नेपालमा ६ देखि ७ मेट्रिक टन धान उत्पादन गर्न सकिने उनी बताउँछन्। नेपालमा धानको उत्पादकत्व सबै दक्षिण एशियााली देशको तुलनामा न्यून छ। तराइ तथा भित्रि मधेसमा ६८.५४ प्रतिशत, मध्य पहाडमा २७।४६ प्रतिशत, उच्च पहाडमा ४ प्रतिशत गरी करिब १४।६९ लाख हेक्टर भूभागमा धान खेती गरिँदै आएको तथ्यांक छ।
यो क्षेत्रमा हुने धानको उत्पादन ५६.१८ लाख मेट्रिक टन र उत्पादकत्व ३.७६ मेट्रिकटन प्रतिहेक्टर रहेको छ। नेपालको कुल खेतीयोग्य भूभागको करिब ६५ प्रतिशत मात्र सिँचाइ क्षेत्र रहेको छ। त्यस मध्ये पनि वर्षभरि सिँचाइ सुविधा २८ प्रतिशतमा मात्रै छ। धानको कुल क्षेत्र मध्ये ३० प्रतिशत उच्च खडेरीको जोखिममा छ भने १५ प्रतिशत बाढीको जोखिममा।
धानको बैज्ञानिक बाली ब्यस्थापनको प्रयोग गरी उपयुक्त जात र विउको प्रयोगमार्फत धानको उत्पादनमा बृद्धि गर्नसकिने विज्ञहरू बताउँछन्।
धानको ‘मिलिङ रिकभरी’लाई उचित प्रविधि प्रयोग गरी ६४ प्रतिशतबाट ७२ प्रतिशतसम्म पुर्याउन सकिने सम्भावना रहेको छ। यो प्रविधिको विकासबाट १० प्रतिशतसम्म उत्पादन बढाउन सकिने नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० को अनुसन्धानले देखाएको छ।
हाल ८२ स्थानमा बिशेष रोग कीरा तथा प्राकृतिक बिषमता प्रतिरोधी उन्नत जातका धानहरु उन्मोचन र ४८ हाइब्रिड सूचीकृत भइसकेका नार्कले जानकारी दिएको छ।