लकडाउनपछि डिडिसी तथा प्राइभेट उद्योग क्षेत्रले दूध नलिएपछि किसान मारमा परेका छन्।
दूध नबिकेर गाई, भैंसीलाई नै खुवाउनु परेको दूग्ध उत्पादक सहकारी संघ, नवलपरासीका अध्यक्ष गोपाल श्रेष्ठले गुनासो गरे।
ठूला प्राइभेक्ट सेक्टर दूध उठाउन आउँदैनन्। दूध नदोहुँ भने पशु बिग्रने, दोहुँ भने नबिक्ने,’ उनले भने, ‘सहकारीले किसानका लागि क्रिम काट्ने मेसिन राखिदिएका छन्, क्रिम काटेर दूध गाई भैंसीलाई नै खुवाउँछौँ।’
उनका अनुसार सहकारीबाट दैनिक ५०, ६० हजार लिटर दूध उत्पादन हुन्छ। सो परिमाणमध्ये १५ प्रतिशत पनि दूध बिक्री नभएको उनले बताए।
प्रत्येक किसानले बैंकबाट ऋण निकालेर कारोबार गरेको हुनाले राज्यले उक्त ऋण मिनाहा गरिदिनुपर्ने उनको माग छ।
सरकारले दूध क्षेत्रको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न नेपालमा रहेका ठूला पाउडर प्लान्टलाई चलाउन सघाउनु पर्ने उनको तर्क छ।
‘विराटनगर, चितवन र सुजल ठूला पाउडर प्लान्ट हुन्। अहिले त्यहाँ काम गर्ने कर्मचारी छैनन्। सरकारले कर्मचारीलाई खाने, बस्ने तथा सुरक्षाको व्यवस्था गरेर प्लान्ट चलाए किसानले दूध फ्याँक्नु पर्दैन थियो,’ उनले भने, ‘अहिले भएका दूध फ्याँकिन्छ पछि पाउडर दूध पनि हुँदैन त्यपछि ठूलो मात्रामा पाउडर दूध आयात गर्नुपर्ने अवस्था आउँछ।’
सरकारले लकडाउन गरेपछि दूध नबिकेको दूग्ध उत्पादक सहकारी संघ, चितवनका सचिव किशोर बगाले बताउँछन्।
‘दूध जहिल्यै फ्याँक्नु परेपछि हिजो नेपाल डेरी उद्योग संघ र डिडिसीसँग ५० प्रतिशत दूध उठाउनै पर्ने भनी सहमति भएको छ, त्यो पनि के हुने हो थाहा छैन,’ उनले दुखेसो पोखे।
महँगो दाना चोकर खुवाउनुपर्ने त्यसमाथि दूध नबिक्दा किसान घाटामा भएको उनी बताउँछन्। राज्यले लकडाउन अवधिमा किसानको नोक्सान भएको दूधको क्षतिपूर्ति दिन सके केही राहत हुने उनले बताए।
काठमाडौंमा दूध खाने मान्छे सबै गाउँ गएपछि काठमाडौंमा दूध बिक्री नभएको काभ्रे जिल्ला दूग्ध सहकारी संघका अध्यक्ष नारायण बडालले बताए।
‘हाम्रो दूधको माग सबैभन्दा बढी काठमाडौंमै हुन्थ्यो। काठमाडौंमा मान्छे नभएपछि दूध कम बिक्री भएको छ,’ उनले भने।
उनका अनुसार काभ्रेमा करिब ५ लाख लिटर दूध उत्पादन हुन्छ। त्यसमध्ये साढे २ लाख लिटर काठमाडौं जान्छ भने बाँकी काभ्रे बजारमा बिक्री हुन्छ। अहिले ३० हजार लिटर दूध मात्रै काठमाडौं गएको छ।
‘अहिले दुध नबिकेकाले दुध नहुनेका घरमा दिन्छौं, बाँकी मलमै हाल्नुपर्छ,’ उनले भने। उनका अनुसार काभ्रेमा स्थानीय निकायले दूध संकलन गर्न आचार संहिता बनाएको छ। त्यसैको आधारमा दूध संकलन हुने गरेको छ।
लकडाउन पछि ट्याङ्करबाट दूध संकलन कार्य नभएको रूपन्देही जिल्लाका दूग्ध सहकारी संघका अध्यक्ष लेखनाथ पाण्डेले गुनासो गरे।
उक्त जिल्लामा ५५ देखि ५८ लिटर दूध उत्पान हुन्छ। जसमध्ये स्थानीयस्तरमा ३५ प्रतिशत खपत हुन्थ्यो भने बाँकी बाहिर जिल्लामा जाने गर्दछ।
‘डिडिसी तथा प्राइभेट डेरीले दूध नउठाएपछि दूध बिक्री भएको छैन, खपत नभएपछि फ्याँक्नै पर्छ,’ उनले भने।
नेपाल डेरी एसोसिएसन संघका अध्यक्ष राधाकृष्ण साप्कोटा आफूहरूले किसानको दूध उठाउन नसकेको स्वीकार्छन्। पहिलाकै दूध स्टक भएकाले नयाँ दूध उठाउन नसकेको उनले बताए।
‘हामीले नचाहेर दूध नउठाएको होइन, हाम्रो पनि समस्या छ। पहिलेको तुलनामा ३० प्रतिशत दूध पनि खपत हुँदैन,’ उनले भने। सबैभन्दा बढी दूध खपत हुने होटल, रेष्टुरेन्ट, कलेज तथा स्कुल बन्द भएपछि दूध बेच्न गाह्रो भएको उनले गुनासो गरे।
काभ्रे, चितवन, धादिङ, नवलपरासी, मकवानपुर, रूपन्देही, कपिलवस्तु तथा सिन्धुलीमा ठूलो परिमाणमा दूध उत्पादन हुन्छ। दूध खपत कम हुँदै गएपछि आंशिक मात्रै दूध संकलन गर्न थालिएको डिडिसिका योजना तथा बजार व्यवस्थापन प्रमुख सञ्जिभ झाले बताए।
डिडिसीले दूध संकलकन गरेर प्रोक्डक्ट बनाएर बजारमा पठाउने, धूलो दूध बनाउने तथा निजी क्षेत्रलाई दिँदै आएको छ।
‘आजभोलि प्रोक्डक्ट बिकेको छैन, निजी क्षेत्रले पनि लिएका छैनन्। त्यसैले दूध संकलनमा कमी आएको हो,’ उनले भने, ‘टाढा ढुवानी गर्न गाह्रो भएको छ, कर्मचारी परिचालन गर्न सकिएको छैन।’
धुलो दूधको क्षमताअनुसार दूध संकलन गरिएको उनले जानकारी दिए।
६५ करोडभन्दा बढीको सामान स्टक रहेको उनले बताए। उनकाअनुसार अहिले काठमाडौं उपत्यकामा ६७ हजार लिटर दूध खपत भएको छ। पहिले ९० हजार लिटरभन्दा बढी दूध खपत हुने गर्थ्यो।