जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठाँका फूल व्यवसायी रन्जित भण्डारी यसपालि अन्य वर्षको तुलनामा दोब्बर आम्दानी हुनेमा विश्वस्त थिए।
किनकि उनले यस वर्ष बढी जग्गा लिजमा लिएर फूलखेती गरेका थिए। तर लकडाउनका कारण उनले लगाएको फूल खेतमै सुक्ने अवस्था आएको छ।
‘प्रमुख सिजनमै लकडाउन लागू भएपछि फूल बिक्ने कुरै आएन’ रन्जितले सेतोपाटीसँग भने।
उनले यस वर्ष तीन बिघामा लगभग ६ लाख रुपैयाँको लागतमा फूलको खेती गरेका थिए, अन्य वर्षभन्दा दोब्बर आम्दानी गर्नेमा ढुक्क थिए।
‘दोब्बर आम्दानी त परै जाओस् अब लगानी समेत उठ्लाजस्तो लाग्दैन’ उनले भने।
उनकाअनुसार विवाहको सिजनमा फूल धेरै बिक्ने भएकाले वैशाख र जेठ महिना फूल व्यवसायीहरुका लागि प्रमुख सिजन हो।
‘राम्रो आयआर्जन हुुने आशमा साहुसँग ब्याजमा ऋण लिएर फूल खेती गरेको थिएँ, तर सबै उल्टो भयो, एकातर्फ फूल खेतमै सुकिरहेको छ भने अर्कोतर्फ ऋणको ब्याज बढ्दै छ’ उनले भने।
२५ सय प्रतिकठ्ठाको दरले ३ बिग्घा जग्गा भाडामा लिई फूलखेती गरेका रन्जितको फूल जनकपुरधाम, लाहान, वीरगञ्ज र काठमाडौंसम्म विक्री हुँदै आएको छ।
उनकाअनुसार अन्य वर्षहरुमा सयपत्री फूल र यसको माला लिन व्यापारीहरु घरमै पुग्ने गरेका थिए तर यस वर्ष एक महिनादेखि लकडाउन भएकाले व्यापारी आएका छैनन्।
अहिलेसम्म २ लाखभन्दा बढीको फूल टिपेर खेतमै फालिएको उनी बताउँछन्। उनीजस्तै अर्का व्यवसायी लक्ष्मी भण्डारीलाई पनि यही चिन्ताले सताइरहेको छ।
उनी भन्छन् ‘यस वर्ष राम्रो खेती भएकाले फूलबाट यथेष्ट आम्दानी हुने थियो, लकडाउनका कारण बिक्री नभएपछि लागत समेत नउठ्ने हो चिन्ता छ।’
आफूहरुले फूल बेच्न नसकेमा साहुको कर्जा तिर्न समेत नसकिने अवस्था रहेको उनले बताए।
लकडाउनका कारण जिल्लाका प्रायः सबै मठमन्दिर समेत बन्द छन्, न त सभा समारोह नै भएका छन्। जसकारण फूल खेती गर्ने किसान मर्कामा परेका छन्।