पाल्पाको रामपुर नगरपालिका-१० हेक्लाङका नोलराज भण्डारीको व्यस्ततासँगै अहिले परिचय पनि फेरिएको छ। साढे चार दसकदेखि निरन्तर खेती किसानीमै बिताएका ६३ वर्षीय भण्डारी अहिले ‘स्मार्ट बाजे’ भनेर चिनिन्छन्।
प्रदेश ५ सरकारले ग्रामीण क्षेत्रका किसानहरुलाई सघाउ पुर्याउँदै कृषिमा व्यावसायिक बनाउन स्मार्ट कृषि कार्यक्रम सुरू गरेको छ।
सानो-सानो समूहमा खेती गर्ने किसानलाई एकतृत गरी उत्पादनमा वृद्धि गराउने उद्देश्यले पहिलो पटक रूपन्देहीको देवदह नगरपालिकाबाट यो कार्यक्रम सुरू गरिएको थियो।
अहिले भने स्मार्ट कृषि कार्यक्रम प्रदेशका सबै ५२ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको छ।
२०७५ साल चैत्र २१ गते हेक्लाङमा पनि बराहदेवी स्मार्ट कृषि गाउँको नामबाट यो कार्यक्रम सुरू गरिएको थियो।
उमेरको हिसाबले छ दसक पार गरिसक्दा पनि गाउँघरका सामाजिक कार्यमा सधैं अग्रसर हुने नोलराज स्मार्ट कृषि कार्यक्रमको समेत संयोजक बनेपछि उनलाई स्मार्ट बाजेको रूपमा स्थानीयले चिन्न थालेका छन्।
स्मार्ट कृषि कार्यक्रमसँगै हेक्लाङ सिँचाइ आयोजना, बालसिद्ध कृषि सहकारी र जनकल्याण उच्च माविको व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका भण्डारी हेक्लाङलाई स्मार्ट र कृषि उत्पादनको हिसाबले नमूना गाउँको रूपमा स्थापित गर्न निरन्तर खटिरहेका छन्।
‘पुस्तौंदेखि परम्परागत रूपमा अन्नबाली र तरकारी बाली लगाउने गरे पनि कुन समयमा कुन बाली लगाउने भन्ने ज्ञान थिएन, बालीमा मल, सिँचाइ कसरी गर्ने भन्ने थाहा थिएन, अहिले ती सबै कुरा जानकारी भयो,’ उनले भने।
कुन सिजनमा कुन तरकारी लगाउने र त्यसको गोडमेल, सिँचाइ, मल, औषधीसमेत कसरी प्रयोग गर्ने भन्नेसम्मकै बाली पात्रो बनाएर कार्यान्वयनमा ल्याएका छन्।
‘पहिला अन्धाधुन्ध पाराले खेती लगाइन्थ्यो, सोचेअनुसार किन उत्पादन भएन भन्यो बस्यो, नयाँ प्रविधिबारे पनि थाहा थिएन, जग्गा बाँझो राख्नुहुन्न भन्ने हिसाबले मात्र खेती गरिन्थ्यो अहिले बल्ल सिक्ने अवसर मिलेको छ,’ उनले भने।
स्मार्ट कृषि कार्यक्रम सुरू भएपछि कृषि प्राविधिक गाउँमै पुगेर आधुनिक प्रविधिबाट खेती गर्ने तौरतरीका सिकाउन थाले। प्रदेश सरकारले एउटा स्मार्ट कृषि गाउँको लागि पहिलो वर्षमा ५० लाख रूपैयाँ उपलब्ध गराएको छ।
उक्त रकमबाट सिँचाइको व्यवस्था, मल, बिउविजन, टनेल लगायतका काम गरिएको भण्डारीले बताए।
अहिले हेक्लाङका ८३ घरधुरी कृषकले चार सय ९४ रोपनी क्षेत्रफलमा तरकारी, मकै र धान खेती गरेका छन्।
हिउँदे तरकारी बाली राम्रै उत्पादन भयो तर कोरोना महामारीको कारण सोचेजस्तो आम्दानी लिन सकिएन। गाउँलाई तरकारीमा आत्मनिर्भर बनाउन सकेकोमा उनी सन्तुष्ट छन्।
अब आउने वर्ष १६६ रोपनी जग्गामा बिक्री गर्नकै लागि तरकारी उत्पादन गर्ने उनको लक्ष्य छ। यसअघि दुई बाली लगाउने कृषकले स्मार्ट कृषि कार्यक्रम सुरू भएपछि खेतबारीमा तीन बाली लगाउन थालेको भण्डारी बताउँछन्। पहिले गर्दै आएको खेतीलाई थोरै परिवर्तन गर्न सके त्यही जग्गाबाट एक कृषक परिवारले वार्षिक दुई लाखसम्म आम्दानी गर्न सक्ने उनले बताए।
किसानहरूको उत्साह र मेहनतका कारण रामपुर नगरपालिकाले समेत स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि चालू आर्थिक वर्षका लागि दस लाख रूपैयाँ विनियोजन गरेको छ।
स्मार्ट कृषि कार्यक्रममा आवद्ध किसानलाई नमुना करेसाबारी निर्माण गर्न प्रत्येक घरमा एक-एक टनेल, प्रविधि स्मार्ट अन्तर्गत थोपा सिँचाइका लागि आवश्यक सामग्री वितरण गरिएको छ।
भण्डारीले स्मार्ट कृषि गाउँको नेतृत्व मात्र गर्दैनन्, उनी सिद्धबाबा फलफुल नर्सरी तथा तरकारी बिरूवा उत्पादन फार्म सञ्चालक पनि हुन्। टमाटर, करेला, खुर्सानीलगायत विभिन्न जातका तरकारीका बिरूवा उत्पादन तथा बिक्री गर्दै आएका छन्।
अहिलेपनि पाँच रोपनी जग्गामा बनाईएको नर्सरीमा पाँच वटा टनेल निर्माण गरी टमाटर र रायो सागको बिरूवा उत्पादन गरिएको छ।
नोलराजलाई उनकी श्रीमती कुविजा भण्डारीले कृषि कर्ममा सघाउँदै आएकी छन्। चार छोरा र तीन छोरी सबै आ-आफ्ना पेशा व्यवसायमा सक्रिय छन्।
हेक्लाङ भौगोलिक हिसाबले समेत अन्नबालीसँगै तरकारी तथा फलफूल उत्पादनको लागि पनि उर्बरभूमि मानिन्छ।
भण्डारीकै अध्यक्षतामा निर्माण गरिएको हेक्लाङ सिँचाइ आयोजनाबाट १ सय ५५ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेकोले त्यहाँ बाह्रै महिना तरकारी खेतीगर्न सकिने उनि बताउँछन्।
यही कार्यकालमा गाउँमा व्यावसायिक कृषक उत्पादन गरी हेक्लाङलाई तरकारी उत्पादनको पकेट क्षेत्र बनाउने र बुटवल, पोखरा तथा काठमाडौंका सब्जीमण्डीमा समेत स्टल स्थापना गर्ने उनको लक्ष्य छ।
स्मार्ट कृषि कार्यक्रम अन्तर्गत उनले नियमित रूपमा लगाउँदै आएको मकै, गहुँ र धान खेतीसँगै आँप, कटहर, लिची, नासपाती, भुइकटहर, केरा, अम्रिसो, कागती, सुन्तला लगायतका फलफूल परीक्षणको रूपमा लगाएका छन्।
जुन स्थानमा पुग्यो त्यहाँको फलफूलको बिरूवा लिएर आउने पहिलेदेखिकै सोखका कारण भण्डारीले नागपुरी र काश्मिरी सुन्तला पनि फलाइसकेका छन्।
उनका अनुसार ‘एक घर पाँच फलफूल’ नारासहित वडा स्तरीय कार्ययोजना बनाएर यस वर्ष गाउँभरमा पाँच हजार भन्दाबढी कागतीका विरूवा लगाइएको छ। दुईदेखि तीन वर्षभित्रमा कागतीबाट राम्रो आम्दानी लिन सक्ने भएकोले यो कार्यक्रमप्रति किसानहरूको आकर्षण बढेको छ।
स्मार्ट कृषि कार्यक्रममा आवद्ध भएका कृषकले एक सय बिरूवा तरकारी लगाउन अनिवार्य गरिएको छ। यसै वर्ष पनि ८३ घरधुरीलाई ८ हजार ३ सय वटा लहरे तरकारीका बिरुवा वितरण गरिएको उनले बताए।
उत्पादित तरकारीमा प्राङ्गारिक मलको प्रयोगलाई बढाउन भकारो सुधार तथा मलखादको छानो व्यवस्थापनसमेत गरिएको छ।
प्रदेश सरकारको अनुदानबाटै दुई वटा पावर टिलर, दुई वटा मिनी टिलर उपलब्ध भएको थियो भने दुई सय थान क्यारेट र स्मार्ट कृषि गाउँको पहिचानसहितको बोरासमेत व्यवस्थापन गरेका छन्।
कृषि क्षेत्रलाई सरकारले प्राथमिकतामा नराख्दा पढेका युवाहरू आकर्षित हुन नसकेको भन्दै उनले स्थानीय तहहरूले पनि कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताउँछन्।
‘१०/२० हजार कमाउनको लागि युवाहरू आफ्नो जग्गा बाँझो राखेर विदेश गएका छन्, सरकारले विदेसिएका युवालाई फर्काउने गरी कृषिमा लगानी गर्नुपर्छ,’ उनले भने।
कृषि स्मार्ट कार्यक्रम प्रभावकारी बन्नसके खेत बाँझै राखेर सहरिया मजदुर बन्ने युवाहरू कृषिमै फर्किने उनको विश्वास छ।
प्रदेशको एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत रामपुरको हेक्लाङसँगै तिनाउ गाउँपालिका-२ को झ्याङ्लाफाँट, रम्भा गाउँपालिका-१ को हुँगी र तानसेन नगरपालिका-१४ को अर्गलीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनमा छ।
यो कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारबाट एक क्षेत्रमा ५० लाख गरी पाल्पाका चार स्थानमा दुई करोड बराबरको रकम विनियोजन गरिएको छ।
छनोटमा परेका स्मार्ट कृषि कार्यक्रमका लागि पहिलो वर्ष २० प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत, तेस्रो वर्ष ४० प्रतिशत र चौथो वर्ष ५० प्रतिशत रकम सम्बन्धित स्थानीय तह, सहकारी वा समूहले लगानी गरेर कार्यक्रम सञ्चालन गर्दै आएका छन्।