केही दिनअघि माडी नगरपालिकाले स्थानीय गाईपालक रूद्रप्रसाद रेग्मीलाई आफ्नो कार्यक्षेत्रकै पहिलो र नमूना व्यवसायिक गाईपालक भनेर सम्मान गर्यो। सम्मान पाउँदा रूद्रप्रसादले आफ्नो सुरूआतका संघर्ष झलझली सम्झिए।
उनी तिनै रूद्रप्रसाद हुन्, जसले दशकअघि ४ हजार रुपैयाँ तिरेर एउटा बाछी किन्नसम्म सकेका थिएनन्। किन्नका लागि नगद नभएपछि अधियाँमा एउटा बाछी पाल्न थालेका उनी अहिले पशुपालनबाट महिनामा झण्डै एक लाख रुपैयाँ आम्दानी गर्छन्।
माडी नगरपालिका–८ शिवद्वारमा एउटा चिटिक्क परेको घरको पछाडि रहेको गोठ गाई र भैंसीले भरिएका छन्। यही गोठ र गाई, भैंसीको स्याहारमा रूद्रप्रसाद र उनको परिवारले समय खर्चन थालेको डेढ दशक भयो।
गोठको छेउमा हृष्टपुष्ट देखिएको 'कैली गाई' त्यही बाछी हो जसलाई रुद्रप्रसादले पैसा नभएर किन्न सकेका थिएनन्। अधियाँमा गोठमा भित्र्याएको यो कैली दश बेत व्याइसकेछ।
अधियाँको गाईले दुई पटक बाछो, बाँकी सबै बाछी पायो। तिनै बाछी हुर्कंदै उनको गोठ भरिन थाले।
'बल्ल–बल्ल आधा गाई भित्र्याएको थिएँ, लक्ष्मी परिछन्। यिनलाई भित्र्याएपछि मेरो जीवनमा लक्ष्मीको अभाव हट्दै गयो,' उनले सुनाए, 'अहिले गाई र भैंसीले गोठ भरिएका छन्, मलाई पुग्ने गरी कमाइ दिइरहेका छन्।'
रूद्रप्रसादले २०७१ सालमा गोर्खाली रेवा गाई फर्म दर्ता गरेर व्यवसायिक गाईपालनको सुरूआत गरे।
'आफ्नै तरिकाले पाल्ने, दूध विक्री गर्ने गर्दै आएको थिएँ, पछि दर्ता नै गरेर सुरू गरें,' उनले भने, 'फर्म दर्ता गरेपछि थप व्यवसायिक भइयो।'
उनले दैनिक १०० लिटरसम्म दूध उत्पादन गरेर विक्री गर्ने गरेका छन्। खर्च कटाएर मासिक ५० हजार रुपैयाँभन्दा बढी नाफा लिन्छन्।
'दुई छोरा र एक छोरीलाई गाईले दिएको आम्दानीबाटै १२ कक्षासम्म पढाएँ,' उनले भने, 'सबै कुरा राम्रो भएर गइरहेको छ।'
गाईका लागि घाँस काटेर, दुहेर श्रीमती सरिताले रूद्रप्रसादलाई सघाउँछिन्।
'अरू सीप छैन, जानेको यही हो। सबै खटेका छौं, सफल पनि हुँदैछौं,' उनले भनिन्।
उनको सोच छोराछोरीलाई विदेश नपठाई यसैमा लगाउने छ।
'युवाहरू देशमा जागिर नपाएर विदेशिएका छन्, तर हामी छोराछोरीलाई यही व्यवसायमा सक्रिय बनाउन पाए हुन्थ्यो भन्ने सोचिरहेका छौं,' उनले भनिन्।
रुद्रप्रसादलाई सुरूआतबाटै जान्नेहरू उनको प्रगति देखेर दंग पर्छन्।
स्थानीय सोममाया पुन शून्य अवस्थामा आएका यो परिवारले सारा गाउँलेलाई लोभ्याउने गरी प्रगति गरिरहेको बताउँछिन्।
'उनीहरू यहाँ आउँदा जमिनबाहेक केही थिएन, संघर्ष गर्दागर्दै अहिले यो क्षेत्रकै उदाहरणीय किसान भइसकेका छन्,' उनले भनिन्,'अचेल धेरै जनाले उनीहरूको सिको गर्न थालेका छन्।'
करिब दुई दशक अघि गोरखा छाडेर चितवन आउँदा रूद्रप्रसाद रेग्मीको नाममा एक कठ्ठा जमिनबाहेक केही पनि सम्पत्ति थिएन।
पूर्वी चितवनको पिठुवामा रहेको त्यो जमिनमा उब्जिने अन्नले उनको परिवारको महिना दिनको गर्जो पनि टर्थेन। न त त्यहाँ बस्नका लागि घर बनाउन सक्ने अवस्था उनको थियो।
'यहाँ नजिकै खरकट्टा भन्ने ठाउँमा मेरो फुपू दिदीको घर छ, उहाँकोमा आइरहँदा यता सस्तोमा जमिन पाइन्छ भन्ने सुनें। उताको जमिन बेचेर यहाँ १० कठ्ठा जोडें,' उनले सुनाए,'त्यही जमिनमा खनजोत गर्दै ठूलो संघर्ष पछि यो ठाउँमा आइपुगेका छौं।'
सानो झुप्रो बनाएर गाई पाल्न सुरू गर्दा गाउँलेले गरेको अपमान उनी कहिल्यै बिर्संदैनन्।
'यसले केही गर्न नसक्ने भो भन्थे, पशु पालेर उँभो लाग्ने भए दुनियाँ लाग्थे भन्थे,' विगत सम्झँदै उनी भन्छन्, 'हामी उनीहरूको कुरालाई वास्तै नगरी काम गरिह्यौं। छि:छि गर्ने समाजले अहिले सम्मान गर्न थालेको छ।'
शून्यबाट सुरू भएको उनको व्यवसाय अहिले लाखौंको कारोबार हुने व्यवसायमा दर्ज भएको छ।
उत्पादन भएको दूध विक्रीका लागि कुनै समस्या छैन। स्थानीयलाई बेचेर बाँकी रहेको दूध नजिकको डेरीदेखि दुग्ध विकास कम्पनी(डिडिसी)लाई पनि बेच्छन्।
'जुनसुकै व्यवसायमा पनि धैर्यता आवश्यक रहेछ, मैले धैर्य गर्न नजानेको भए यहाँसम्म आउन सक्थिन होला,' उनी भन्छन्, 'छिमेकीको कुरा सुनेर आत्तिने, राम्रो भएर मात्तिनेले यस्तो व्यवसायमा प्रगति गर्न सक्दैनन् जस्तो लाग्छ।'
पशुपालनलाई जति व्यवस्थित बनायो उति नै फाइदा हुने उनी बताउँछन्।
'मैले यी कुरामा धेरै ध्यान दिएँ, अरूकोमा एउटा वस्तुलाई खुवाउने कुराले मेरोमा दुई वटालाई पुग्छ। समय तालिका बनाएर खुवाउने, केही पनि खेर नफाल्नेगरी व्यवस्थित बनाएको छु,' रूद्रप्रसाद भन्छन्, 'आफैं खटेर लागिपरेपछि राम्रो हुने रहेछ।'
उनले घर नजिकैको केही जमिन भाडामा लिएर अन्न उब्जाउने गरेका छन्।
गाई, भैंसीलाई घाँसको जोहो पनि त्यहीबाट गर्छन्। रूद्रप्रसादको परिवारले घर नजिकैको केही जमिन भाडामा लिएर माछा पनि पालेको छ।
'माछाबाट पनि राम्रै आम्दानी छ, बाख्रा, हाँसहरू पनि पालेका छौं यसको बिक्रीबाट पनि कमाइ हुन्छ,' उनले सुनाए, 'जिन्दगी अब कृषि, पशुपालनमै बित्ने भयो।'