कहिले विद्यार्थीको आन्दोलन त कहिले अध्यापकको हड्तालले कृषि तथा वन विज्ञान विश्व विद्यालयको शैक्षिक गतिविधि प्रभावित भइरहेका हुन्छन्। सधैजसो हड्ताल र तालाबन्दीले प्रभावित विश्वविद्यालयले गरेका राम्रा कामको जानकारी कमै सुन्न पाइन्छ।
यस्तै गतिरोधबीच यहाँका कतिपय विद्यार्थी तथा अध्यापकले यस्ता सोध, खोज, अनुसन्धान गरिरहेका हुन्छन् जसले राज्यलाई नै त्यस विषयमा नीति निर्माण गर्न झक्झक्याउने गर्छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयको सहयोगमा सन् २०१९ को जुनबाट भैंसीको विषयमा अनुसन्धान गरेका अनुसन्धानकर्ता विद्यार्थी अमित शदाशंकरको सोधले नेपालमा स्थानीय जातका भैंसी लोप हुने खतरामा रहेको जानकारी गराएका छन्। उनले यसको संरक्षणका लागि आवश्यक नीति निर्माण गरी कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायलाई झक्झक्याएका छन्।
स्नातकोत्तर तहको सोधका क्रममा शदाशंकरले गरेको अनुसन्धानले नेपालमा प्रजनन् क्षमता भएका भैंसी मासुका लागि प्रयोग गर्नेक्रम बढेको देखाएको छ। ‘हामीले गरेको अनुसन्धानबाट बच्चा पाउन सक्ने र गर्भमा बच्चा भएका भैंसीसमेत मासुका लागि काटिने गरेको भेटिएको छ,’ उनले भने, ‘बढ्दोक्रममा रहेको यो ट्रेण्ड रोकिएन भने यहाँका स्थानीय जातका भैंसी छिट्टै लोप हुने खतरा देखियो।’
शदाशंकरले एक वर्षको हरेक चार महिनामा ८/८ वटाका दरले भैंसीको डिम्बासयको परीक्षण गरेका थिए। उनले चितवनको भरतपुर, नारायणगढ जस्ता ठूला बजारदेखि रामपुर, मंगलपुर, चनौलीलगायतका साना बजारमा रहेका कसाइखानाबाट ५०० रूपैयाँका दरले डिम्बासय खरिद गरेर परीक्षण गरेका थिए।
‘हामीले सम्बन्धित भैंसीको रगत र ती डिम्बासयबाट जीन, हर्मोनको मात्रा, डिएनए जाँचगरी प्रजनन् योग्य थिए कि थिएनन्, प्रजनन् क्षमता कस्तो थियो पत्ता लगायौं,’ उनले भने, ‘पाठेघर र डिम्बासयको मात्र नभई कतिपयको बाहिरी बनोटकोसमेत लम्बाई चौडाई, आयतन, वजन पनि लिएका थियौं।’
साथै एटिपी वान ए वान र बिआरसिए वान जिनको प्रयोगबाट गरिएको वंशाणुगत विविधता परीक्षणमा पनि कुनै समस्या नदेखिएको उनले बताए।
यसरी गरेको परीक्षणको नतिजा हेर्दा सबै मौसमका भैंसीमा प्रोजेस्टेरोन (गर्भासयलाई गर्भावस्थाको लागि तयार गर्न प्रोत्साहित गर्ने हर्मोन) को मात्रा सामान्य भन्दा पनि बढी देखिएको उनले बताए। जुन हर्मोनबाट ऋतुचक्र (एक पटक भाले खोजेको समयदेखि अर्को पटक पुनः भाले खोज्ने समयसम्मको अवधि) मा अण्डाको पूर्ण विकास हुने गर्छ।
विश्वविद्यालयको ल्यावमा गरिएको परीक्षणमा ८७.५ प्रतिशत मृत भैंसी प्रजनन्योग्य देखिएका थिए। ती मध्ये केहीको गर्भमा भ्रूणसमेत भेटिएको उनले बताए।
‘अनुसन्धानका क्रममा अधिकांश भैंसीको ऋतुचक्र कायम छँदै वध गरिएको भेटियो,’ शदाशंकरले भने, ‘दूधबाट भन्दा छिटो आम्दानी लिने लोभमा भैंसीको वध गर्ने गरिँदैछ जस्तो लाग्छ। यसले स्थानीय जातको नश्ल विनास भएर जाँदैछ।’
रेष्टुरेन्ट सञ्चालककाअनुसार राँगाको मःमः, सुकुटीलगायतका परिकारमा ग्राहकको रुची बढ्दो छ। तर नेपालमा अधिकांशले राँगाको भनेर भैंसीको मःमः सुकुटी बेच्ने गर्छन्। यसले बजारमा भैंसीको मासुको माग बढेर गएको छ। सँगै भैंसीको मूल्य पनि बढ्दोक्रममा छ। अचेल भैंसीको मूल्य ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म पर्छ। चाहेको समयमा बिक्री हुने र राम्रो मूल्य पाउने भएकाले पालकले भैंसीलाई कालो सुन भन्ने गरेको शदाशंकर बताउँछन्।
नेपालमा अहिले १७ भन्दा बढी जातका पशुपंक्षी घर पालुवाकारुपमा पाल्ने गरिएको छ। पशुवधशाला तथा मासु जाँच ऐनले मासुको लागि योग्य देखिएको चौपायको मात्र वध गर्न पाइने व्यवस्था गरेको छ।
कुनै पशु वध गर्नुभन्दा अघि पशु वधशाला स्थापना भएको क्षेत्रमा पशु वधशालामा र पशु वधशाला स्थापना नभएको क्षेत्रमा मासु सुपरीवेक्षकले तोकेको स्थानमा त्यस्तो पशु जचाउनुपर्ने र रोग नदेखिएको, वध गर्न उपयुक्त देखिएका पशु मात्र वध गर्न मासु निरीक्षकले अनुमति दिने ऐनमा उल्लेख छ।
तर नेपालमा कानूनको फितलो कार्यान्वयनको फाइदा उठाउँदै व्यापारीहरुले गर्भमा भ्रूण भएका बाख्रा, भैंसी जस्ता स्त्री चौपायाकोसमेत वध खुल्लेआम गर्दै आएका छन्। वघशाला तथा कसाइखाना जताततै मनलाग्दी मासुका लागि चौपायाको वध गर्ने गरिएको छ।
चाडपर्वको समयमा बजारमा सामान्य रूपमा बाख्राको मासुको जाँच हुनेगरे पनि भैंसीको मासुको सम्बन्धमा प्रशासन मौन बस्दै आएको छ।
नेपालमा गाईलाई राष्ट्रिय जनावर मानिएको र हिन्दू धर्मावलम्बीहरुले भगवानका रूपमा पूज्ने भएकाले यसको वधमा कडाई गर्ने गरिए पनि थारो (बच्चा जन्माउन नसक्ने अवस्थामा पुगेका) भैंसीलाई मासुको रूपमा प्रयोग गर्ने गरिएको छ। तर प्रजनन् योग्य भैंसीसमेत निर्वाधरुपमा गर्ने गरिएको वधले नेपालमा स्थानीय जातको भैंसी लोप हुने खतरा बढ्नुका साथै भविष्यमा मासु र दूधको आयात बढाउने अवस्था देखिएको शदाशंकरको सोधको निष्कर्ष छ।
आर्थिक वर्ष २०७६/७७ सम्ममा देशभरमा करिब ५३ लाख वटा भैंसी पालिएको तथ्यांक कृषि तथा पशु विकास मन्त्रालयसँग छ। ती मध्ये १५ लाख भैंसी मात्रै दूध उत्पादनका लागि पालिएका छन्। भने बाँकी मासुका लागि पालिएका छन्। ती भैंसीको नेपालको कूल दूग्ध उत्पादनमा ६५ प्रतिशत योगदान छ। भैंसीको मासुको प्रयोग नेपालमा ५२ प्रतिशत रहेको तथ्यांक छ।
‘तर प्रजनन्योग्य भैंसी मासुका लागि काटिनेक्रम बढ्दै गएकाले निकट भविष्यमै दूध उत्पादनमा भैंसीको योगदान घट्ने, बिस्तारै मासुका लागि पनि भैंसीको अभाव देखिने अवस्था देखिन्छ,’ उनी भन्छन्।
विश्वविद्यालयका जैविक प्रविधि केन्द्रका पूर्वनिर्देशक रहेका सह–प्राध्यापक डा.ईश्वरी कडरिया यो अवस्थाले आत्मनिर्भर बन्दै गएको दूध र मासुमा देशलाई पुनः परनिर्भरतातर्फ धकेल्ने संकेत देखिएको बताउँछन्।
‘नेपालको हावापानी र तापक्रमलाई पचाइसकेका जातका भैंसी मासिएर सकिए भने विदेशबाट नयाँ जातका भैंसीहरु भित्र्याउनुपर्ने अवस्था आउँछ। ती भैंसीलाई यहाँको हावापानीमा घुलमिल गराउन समस्या आउँछ जसको असर ठूलो पर्ने देखिन्छ,’ उनी भन्छन्, ‘त्यसैले प्रजनन् योग्य भैंसी काट्न दिनेक्रम रोक्नुपर्छ।’
उनले गाईमा धेरै समस्या देखिने गरेको प्रोटिन, चिल्लो पदार्थ, क्याल्सियमलगायतका तत्व बढी पाइने भएकाले भैंसीको दूधको माग बजारमा अत्याधिक रहेकाले त्यसको अभाव हुन नदिन राज्यका निकायले नीति नै बनाएर प्रजनन्योग्य भैंसीको वध हुनमा नियन्त्रण गर्नु आवश्यक रहेको बताए।
नेपालमा पालिने भैंसी मध्ये दुई तिहाई हिस्सा तराई क्षेत्रमा रहेको पाइन्छ। यहाँ मुर्रा क्रस (मुर्रा र स्थानीय जातको क्रसबाट जन्मिएको) जातका भैंसी बढी पालिन्छन्। मुर्रा भारतीय सीमा क्षेत्रबाट भित्रिएको भैंसी भए पनि लामो समयदेखि यस क्षेत्रमा रहँदै आएकाले ती भैंसीले नेपालको हावापानी पचाउन थालेका छन्।
चितवनमा मात्रै व्यवसायिक रूपमा फालिएका करिब ३ दर्जन भैंसी फर्महरु छन्। दूध उत्पादन र बिक्री वितरणको आधारमा जिल्लाभरमा करिब १० हजार भैंसी पालिएको अनुमान भैंसीपालकहरुको छ।
किन वध गरिन्छन् प्रजनन्योग्य भैंसी?
सामान्यतया भैंसीको आयु १५ देखि २५ वर्षसम्म हुन्छ। ६–७ बेतसम्म बच्चा जन्माएर दूध दिन्छन्। एक पटक बच्चा जन्माउँदा ४ महिनासम्म उस्तै परिमाणमा दूध दिन्छन्। त्यसपछि भने ऊ नयाँ प्रजनन्का लागि तयार हुन्छ र दूधको परिमाण घट्न थाल्छ।
इन्द्रमणि गैरे दूध उत्पादनका लागि भैंसी पाल्ने चितवनका पुराना किसान हुन्। अहिले उनको गोठमा १८ वटा भैंसी छन्। उनले पालेका भैंसीले दैनिक बढीमा १२ लिटरसम्म दूध दिन्छन्।
दुई वेत दूध दिएको एउटा भैंसीले भने उनलाई सताएको छ। दूधको परिमाण दिनप्रतिदिन घट्दोक्रममा छ तर उसको गर्भमा नयाँ बच्चा बसेको छनक मिलेको छैन।
‘दूध घटाएको दुई–तीन महिना भइसक्यो, यो अवधिमा कैयौंपटक गर्भाधानको प्रयास गरियो अझै पनि गर्भ बसेको जस्तो देखिएन,’ गैरे भन्छन्, ‘यसलाई खर्चिलो दाना खुवाएर आर्थिक भार उठाउनुभन्दा मासुमा बेचिदियो भनेर फाइदा होला जस्तो छ।’
सह–प्रध्यापक डा.कडरिया अधिकांश भैंसीपालकहरुको समस्या इन्द्रमणि गैरेको जस्तै रहेको बताउँछन्। पशुमा घाँस, दाना, पानी, मिनरललगायतको सन्तुलन नहुँदा गर्भ रहन गाह्रो हुने समस्या देखिने गरेको उनले बताए।
‘किसानहरुलाई सुरुवातमा भैंसी प्रजनन्का लागि तयार कहिले हुन्छ र कसरी हुन्छ भन्ने थाहा पाउन गाह्रो छ। त्यसपछि गर्भ रह्यो कि रहेको छैन भन्ने मेसो पाउन उस्तै गाह्रो हुन्छ,’ उनी भन्छन्, ‘सबै कुरा अनुमानका भरमा गर्नुपर्दा पालकहरुले जसो गर्दा तत्कालको फाइदा देख्यो त्यही गर्ने चलन बढेको छ।’
डा.कडरियाकाअनुसार भैंसी प्रजनन्का लागि तयार भएको र गर्भमा बच्चा बसेको, नबसेको कुरा मान्छेको जस्तै तत्कालै थाहा पाउने प्रविधि बनिसकेको छ। तर नेपालका पशुपालकका बीचमा यो प्रविधि पुगिसकेको छैन।
प्राविधिकहरुले मलद्वारबाट हात छिराएर गरिने जाँच अहिलेसम्ममा यहाँ बढी प्रयोग हुने गरेको छ। यसका लागि पशुपालकले प्राविधिकलाई २०० देखि ५०० रुपैयाँसम्म तिर्ने गर्छन्। भिडियो एक्सरे र डिएनएबाट परीक्षण गर्ने प्रविधि नेपालमा रहेपनि यसमा किसानको सहज पहुँच छैन र खर्चिलो पनि छ।
‘पशुपालनमार्फत धेरै फाइदा लिने हो भने राज्यले त्यस्ता प्रविधि र प्राविधिक जनशक्तिमा लगानी गनुपर्छ जसले पशुपालकलाई आवश्यक जानकारी र उपचारमा सहज होस्,’ उनी भन्छन्, ‘विश्वविद्यालय र यहाँबाट उत्पादन भएका जनशक्तिहरु यसका लागि काम गर्न सक्षम छन्।’
भैंसीको प्रजनन्को मुद्दा जल्दोबल्दो देखिएको भन्दै डा.कडरियाको सुझाव छ, ‘नेपालको हावापानी अनुकूलका स्थानीय भैंसीलाई लोप हुनबाट बचाउन प्राविधिकका सिफारिसमा मात्र मासुका लागि भैंसीको प्रयोग गर्न पाउने गरी नियमन गरिनुपर्छ। अन्यथा बजारमा मासुको माग बढी भएकाले तत्कालै बिक्री गर्न सकिने र छिटो नगद आउने भएकाले दूध बेचेर भन्दा भैंसी नै बेचेर बढी फाइदा हुने देखेर किसान लोभिने भए। दीर्घकालमा यसले किसानलाई नै हानी गर्छ।’
डा.कडरिया हाल सञ्चालनमा रहेको गाई मिसन कार्यक्रम जस्तै भैंसी मिसन कार्यक्रम आवश्यक देखिएको बताउँछन्। ‘विदेशबाट आयात गरिएको धेरै दूधालु गाईहरुमा यहाँका हावा पानीका कारण रोगी हुने, गर्भ तुहिने समस्या बढी छ। थारो भएका गाईको व्यवस्थापनको उपाय हामीसँग छैन,’ उनी भन्छन्, ‘त्यसैले थारो अवस्थामा र उमेर बढी भएपछिको अवस्थामा पनि मासुकोरुपमा प्रयोगमा आउने भैंसीबाट धेरै फाइदा छ। यसका लागि राज्यको नीतिमा सुधारको खाँचो देखियो।’
सरोगेसीको लागि विश्वविद्यालयको प्रयास
कृषि तथा वन विज्ञान विश्वविद्यालयले भैंसीको स्थानीय जातलाई लोप हुन नदिन उच्च स्तरको नश्ल संकलनगरी सरोगेसी गर्ने तयारी पनि थालेको छ।
अनुसन्धानले प्रजनन् योग्य भैंसी मासुका लागि काटिनेक्रम बढेको देखाएपछि विश्वविद्यालयको काटिएका भैंसीको नश्ल संकलन गरी भ्रूण तयार पारेर कमजोर प्रजनन् क्षमता भएका भैंसीमा प्रतिस्थापन गरेर उन्नत जातको पाडापाडी उत्पादन गर्ने लक्ष्य राखेको डा.कडरियाले बताए।
‘विश्वविद्यालयमा सञ्चालनमा आउन लागेको सेन्टर फर वायोटेक्नोलोजी ल्यावले भैंसीको डिम्बासयबाट संकलित डिम्बलाई राँगाको सिमोनमा मिसाएर बनेको भ्रूणबाट पाडापाडी उत्पादन गर्ने लक्ष्य राखेको छ,’ उनले भने।
यसरी प्रजनन् गराउँदा पाडा वा पाडी कुन जन्माउने पहिले नै निश्चित हुने भएकाले आवश्यकताअनुसार जन्माउन सकिने उनले बताए। उनले आगामि १ वर्ष भित्रमा ल्याव सञ्चालनमा आएर काम सुरु गरिसक्ने लक्ष रहेको बताए।
प्रजनन् क्षमता भएका भैंसी कटाईमा बिक्री गर्ने र राँगा पाल्ने क्रम कम हुँदै जाँदा कृतिम गर्भाधानलाई थप व्यवस्थित र विश्वासयोग्य बनाउनुपर्ने चुनौती विज्ञहरुका सामु देखिन्छ।