रत्ननगर नगरपालिका-६ मा रहेको साना किसान कृषि सहकारी संस्था बछौलीको परिसरमा नौलो मेसिन देखिएपछि स्थानीयलाई कौतुहलता भयो। केही दिनदेखि नै उनीहरूले सहकारी संस्थामा धान रोप्ने मेसिन ल्याइँदैछ भन्ने गाइँगुइँ सुनिरहेका थिए।
मेसिन आइपुग्नेबित्तिक्कै स्थानीयले त्यसलाई घेरिहाले। यसको विषयमा सबैभन्दा बढी चासो महिलाहरूलाई थियो। सानो ट्याक्टरजस्तो देखिने त्यो उपकरणले कसरी धान रोप्ला भन्ने जान्न उनीहरू निकै उत्साहित देखिन्थे।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले सहकारी संस्थामार्फत् धान रोप्नका लागि चीनबाट दुई वटा चारचक्के मेसिन मगाएको थियो। एकै पटकमा ६ लाइनमा धान रोप्ने यस्तो मेसिन सहकारी संस्थामार्फत् सञ्चालनमा आउन लागेको देशमै पहिलो पटक हो। यसअघि झपाको महारानीझोडामा एक जना व्यवसायीले यस्तो मेसिन भित्र्याएका थिए।
२० लाख ९० हजार रुपैयाँका दरले खरिद गरिएका दुई वटा मेसिनहरू साना किसान कृषि सहकारी संस्था बछौली र कुमरोजले सञ्चालन गर्नेछन्। यसमा परियोजनाले ५० प्रतिशत अनुदान दिएको छ भने बाँकी रकम सहकारी संस्थाहरूले व्यहोरेका छन्।
‘यो मेसिन आएपछि अब हामीले लाइन लागेर धान रोप्न पर्दैन? हाम्रा दुःखका दिन सकिएकै हुन् त?,’ स्थानीय कार्की चौधरीको जिज्ञाशा थियो। किसानको चासो मान्छेले रोप्दा र मेसिनले रोप्दा हुने उत्पादनको फरक, लागतको भिन्नता कस्तो हुन्छ भन्नेमा थियो।
सहकारी संस्थालाई मेसिन हस्तान्तरण गर्दै कृषि तथा सहकारी मन्त्री पद्मा अर्यालले प्रविधिको जमाना सुरू भएको भन्दै अब प्रविधिको प्रचुर प्रयोग गर्दै देशलाई समृद्धितर्फ अघि बढाउनु पर्ने बताइन्।
‘अब कृषिमा यान्त्रिकीकरणको प्रयोग नितान्त जरूरी छ,’ उनले भनिन्, ‘खेतमा जान हलो, जुवा, गोरुको जोहो गरेर दौडधुप पर्नुपर्ने अवस्था हट्यो। हाम्रा दिदी बहिनीले अब घरकै पिँढी, आँगनमा बसेर कुत्रुकुत्रु ब्याड बनाए पुग्ने भयो।’
परियोजनाको धान जोन कार्यक्रमका अधिकृत माधव पौडेलले उत्पादकत्व धेरै देखिएका देशहरूमा यही मेसिनको प्रयोगबाट धान रोप्ने गरिएको बताए।
‘मान्छेले रोप्दाभन्दा यो प्रविधिको प्रयोग गरी धान रोप्दा सस्तो र स्तरीय हुन्छ,’ पौडेलले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको मेसिन, विज्ञान, तथ्य र व्यवहारले प्रमाणित गरेको प्रविधि भएकाले यसले उत्पादकत्व बढाउँछ भन्नेमा हामी ढुक्क छौं।’
नेपालमा धान रोप्ने तीन पांग्रे मेसिनको प्रयोग हुन थालेको केही वर्ष भयो। तर त्यसमा किसानको रूची खासै देखिएन। त्यसपछि केही किसानले एकै पटकमा चार लाइनमा रोप्न मिल्ने चार पांग्रे मेसिन भित्र्याए।
‘त्यसको प्रयोगबाट उत्पादन लागत घट्ने र उत्पादकत्व बढ्ने देखियो,’ परियोजनाका चितवन प्रमुख मेघनाथ तिमिल्सिनाले भने, ‘अब किसानहरूलाई यसतर्फ अग्रसर हुन प्रेरित गर्नुपर्छ भनेर हामीले सहकारी संस्थाहरूसँग समन्वय गर्न थालेका छौं।’
तिमिल्सिनाकाअनुसार तराई क्षेत्रका अधिकांश खेतमा सतह मिलाएर यो मेसिनको प्रयोग गरी धान रोप्न सकिन्छ। यसले एक दिनमा ५ विगाहा जमिनमा धान रोप्न सक्छ।
मेसिनको प्रयोग गरी धान रोप्नका लागि ब्याडको छुट्टै व्यवस्था गर्नुपर्छ। खेताला खोजेर खेतमै ब्याड राख्ने गरिएकोमा मेसिनले रोप्ने बीउ भने ‘ट्रे’(बीउ जमाउन प्रयोग गरिने भाँडो)मा जमाउनुपर्छ। उस्तै आकारका ट्रेमा माटो र मल राखेर जमाइएको बीउ रोप्न योग्य भएपछि मेसिनले खेतमा लगेर लाइन मिलाएर रोप्छ।
‘सुरुवातमा यी कुराको जोरजाम र व्यवस्थापन गर्न केही गाह्रो छ तर एकचोटी यी काम गरिसकेपछि सधैँलाई ढुक्क हुन्छ,’ तिमिल्सिना भन्छन्, ‘खेताला खोजेर गरिएको खेतीभन्दा प्रविधिको प्रयोग गरिएको खेतीमा ४० प्रतिशत कम खर्च हुने आकलन गरिएको छ।’
अहिले एक विगाहा जमिनका लागि बीउ राख्न ४-५ जना, धान रोप्न २० जना, गोड्न ४० जनासम्म र काट्न २० जना खेताला आवश्यक पर्छ। यसबाट उत्पादन हुने प्रतिक्विन्टल धानको लागत खर्च कटाएर किसानले मुस्किलले ५०० रुपैयाँ फाइदा लिन्छन्।
मेसिनको प्रयोग गर्दा खर्च घट्ने भएकाले उही मूल्यमा बेच्दा पनि फाइदा १ हजार रुपैयाँसम्म लिन सकिने उनी बताउँछन्।
बीउ लगाउने मेसिन पनि स्वचालित र मेनुअल पाइन्छन्। साना किसान कृषि सहकारी संस्था बछौलीसँग स्वचालित र कुमरोजसँग मेनुअल सिडर मेसिन छ। स्वचालित मेसिनले १ घन्टामा ५०० वटा ट्रेमा बीउ राख्न सक्छ। १६० वटा ट्रेमा हुर्किएको बीउले १ बिगाहा क्षेत्रफलमा रोप्न पुग्छ। एक दिनमा राखेको बीउले २५ बिगाहासम्म रोप्न सकिन्छ।
अधिकृत पौडेलकाअनुसार मेसिनले ३० सेमी दूरी राखेर एकैनासले रोप्ने भएका कारण झार, किराको समस्या पनि धेरै हुँदैन।
‘सूर्यको किरण र हावा खेल्ने भएकाले फड्केलगायतका कीराको प्रकोप नहुने र झार व्यवस्थापनमा सहज हुने देखिन्छ,’ पौडेल भन्छन्, ‘यी समस्या कम हुने भएकाले पनि उत्पादन बढ्छ भन्ने देखिन्छ।’
खेतमा राखिएको बीउ माटोबाट उखेलेर अर्को जमिनमा लगेर रोप्ने गरिन्छ। ट्रेको बीउ भने मेसिनले मल र माटोसँगै खेतमा लगेर गाडिदिन्छ। पौडेल भन्छन्, ‘यसो गर्दा बीउलाई हुर्कन सहज हुन्छ।’
नेपालका पहाडी क्षेत्रमा धान रोप्ने काममा महिलाहरू बढी खट्ने गर्छन्। तराई क्षेत्रमा भने पुरुषहरूले धान रोप्ने चलन बढ्दो क्रममा छ। चितवनमा चैते धान र वर्षे धान रोप्न पूर्वी र पश्चिम तराईबाट ठूलो संख्यामा पुरुष आउने गर्छन्। उनीहरू समयमै आएनन् भने यहाँ धान रोप्ने जनशक्तिकै अभाव हुनेगर्छ।
‘मेसिनको प्रयोगपछि उनीहरूसँगको निर्भरता अनि मान्छेले ढाड नुँगाएर दुःख कष्ट गर्नुपर्ने बाध्यता हट्छ, यहाँ प्रयोग हुने जनशक्तिले अन्य क्षेत्रमा काम गर्न पाउँछन्,’ पौडेल भन्छन्, ‘कृषिको उत्पादकत्व बढाउन अब प्रविधितर्फ अग्रसर हुनैपर्छ।’
साना किसान कृषि सहकारी संस्था बछौलीका अध्यक्ष नारायण महतोले यस वर्ष २५ बिगाहा जमिनलाई चक्लाबन्दी गरेर मेसिनको प्रयोगगरी धान रोप्न लागिएको बताए। यस वर्ष ३५ जना किसानहरुले मेसिनको प्रयोगबाट धान रोप्न लागेका छन्, आगामी वर्ष थप किसानलाई पनि प्रेरित गर्दै सत प्रतिशत मेसिनबाट धान रोप्ने लक्ष्य हाम्रो छ,’ उनले भने, ‘हाम्रो सहकारी संस्थाले कृषिको विकासका लागि प्रविधिको प्रयोगमा अग्रसर बन्न किसानलाई अभिप्रेरित गर्ने गरेका छौं।’
साना किसान कृषि सहकारी संस्था कुमरोजका अध्यक्ष तेजप्रसाद बर्तौला सुरुआती दिनमा सबै किसानहरू प्रविधिको प्रयोग गर्न तयार नभए पनि अन्यत्र राम्रो भएको देखेपछि बिस्तारै सबैले मेसिनको प्रयोग गर्ने बताउँछन्।
‘बीउ लगाउने, धान रोप्ने, काट्ने, पराल मुठो पार्ने सबै काममा प्रविधिको प्रयोग गर्न थालेका छौं,’ उनले भने, ‘कृषिमा क्रान्ति ल्याउन यान्त्रिकीकरणमा नगई सुखै छैन।'
किसानको माग: अनुदान बढाउनुपर्यो
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिना ५० प्रतिशत अनुदानलाई बढाउनुपर्ने माग किसानबाट आइरहेको बताउँछन्।
‘उहाँहरू ५० प्रतिशत अनुदान कम भयो ८५ प्रतिशतसम्म पुर्याउनु पर्ने भन्दै हुनुहुन्छ,’ तिमिल्सिना भन्छन्, ‘अत्याधुनिक स्वचालित मेसिनहरू महँगो पर्ने भएकाले ५० प्रतिशतमात्रै रकम तिर्न पनि उहाँहरूलाई गाह्रो भएको छ।’
परियोजनाले धान रोप्न मेसिनका लागि आह्वान गर्दा २ वटा सहकारी संस्थाले मात्र आवेदन दिएको बताए।
‘यसको कारण अनुदानमा कमी हो,’ उनले भने, ‘किसानले यो मेसिनबाट हुने फाइदाबारे राम्रोसँग बुझिसकेका छैनन्, त्यसैले जोखिम मोलेर धेरै लगानी गर्न डराए।’
उनकाअनुसार परियोजनाले धान रोप्ने मेसिनका अलावा बीउ लगाउने मेसिन, शून्य जोताइमा बीउ छर्ने मेसिन, धान, गहुँ काट्ने रिपर, पराल डल्लो पार्ने वेलर, ड्याङ बनाउनेलगायतका मेसिन अनुदानमा उपलब्ध गराउँदै आएको छ।
‘धेरै किसानहरूले यी मेसिनभन्दा ट्याक्टर, थ्रेसर, खेत जोत्ने उपकरण बढी माग गर्नुभएको छ,’ तिमिल्सिनाले भने, ‘राज्यले अनुदानमा वृद्धि गरिदियो भने किसानले आधुनिक खेती प्रणालीमा जान तयार छन् भन्ने देखिँदैछ।’