चितवनमा आधुनिक मेसिनको प्रयोगगरी चैते धानको रोपाइ सुरु गरिएको छ।
केही हप्तामात्रै भित्रिएको चारपांग्रे मेसिनले पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकाका खेतमा धान रोप्न थालेको छ।
विगतमा मान्छेले धेरै समय लगाएर धान रोप्ने गरेको रत्ननगरको बछौली र खैरहनीको कुमरोजका खेतहरुमा यसपटकबाट मेसिनले धान रोप्न थालेको हो।
यहाँका बछौली र कुमरोज साना किसान कृषि सहकारी संस्थालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले ५० प्रतिशत अनुदानमा ६ लाइनमा एकै पटक धान रोप्न सक्ने मेसिन उपलब्ध गराएको थियो। उक्त मेसिनको मूल्य करिब २० लाख पर्छ।
चीनबाट आएको जापानिज प्रविधिको उक्त मेसिनको प्रयोगले थोरै खर्चमा धेरै उत्पादन दिने परियोजना कार्यान्वयन ईकाई चितवनका धान जोन कार्यक्रमका अधिकृत माधव पौडेलले बताए।
उनकाअनुसार पहिलो वर्ष यी मेसिनहरुले करिब ५० विघा क्षेत्रफलमा धान रोप्नेछन्। ‘यस वर्ष रोपिएको धानको उत्पादकत्वलाई हेरेर आगामि वर्ष क्षेत्र बिस्तार हुने अपेक्षा गरेका छौं,’ पौडेलले भने, ‘किसानहरुको चासो र सहभागिता उत्साहजनक देखिएको छ।’
चितवनमा ५ हजार हेक्टर भन्दा बढी क्षेत्रमा चैते धान रोपिन्छ। यस मध्ये परियोजनले ३ हजार हेक्टर क्षेत्रलाई हेर्ने गरेको छ। पौडेलले चैते धानको उत्पादन राम्रो भए आगामि असारमा ती क्षेत्रका सबै खेतमा मेसिनको प्रयोग गर्ने तयारी रहेको बताए।
सरकारी अनुदानमा मेसिन प्राप्त गरेपछि पूर्वी चितवनका ती दुई कृषि सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको जमिनलाई चक्लाबन्दी गरेर मेसिनको प्रयोग गरी धान रोप्न प्रोत्साहन गरेका थिए।
कुमरोजका किसान सूर्यबहादुर बोगटीले आफ्नो दुई बिघा जमिनको आधा हिस्सालाई सतह मिलाएर मेसिनको प्रयोगगरी धान रोपे। त्यसो गर्दा उनको खर्च आधा भन्दा बढीले कम भयो।
‘मेसिन र मान्छेले रोपेको धानको उत्पादन दाँजेपछि अर्को पटक के गर्ने भन्ने निर्णय गर्नुपर्ला,’ उनले भने, ‘मेसिनबाट रोप्दा काम गर्ने मान्छेको जोहो गर्नुपर्ने, धेरै खर्च गर्नुपर्ने झन्झट भने नहुने रहेछ।’
बछौलीकी किसान इन्दिरा महतो पनि यसपाली आफ्नो चार कट्ठा जमिनमा मेसिनबाट धान रोपिन्।
‘बाँकीमा परिवार मिलेरै रोपियो, मेसिनले रोपेको धान कस्तो फल्छ हेर्नुपर्यो भनेर यसपटक हेर्दैछौं,’ उनले भनिन्, ‘पहिले कहिल्यै नदेखेको भएर के होला भन्ने चाहि लागेको छ।’
मेसिनको प्रयोगगरी धान रोपेका किसानहरुले बिगतमा मान्छेले रोप्दा प्रति विघा १६ हजार रुपैयाँसम्म खर्च हुने गरेकोमा यस पटक ६ हजार रुपैयाँमै रोपाई सकिएको बताए। यहाँ प्रति विघा ६ मेट्रिक टन धान उत्पादन हुने गरेको छ।
‘मेसिनबाट रोप्दा लाइन मिलाएर रोपिने भएकाले रोग, किराको असर पनि कम हुन्छ,’ अधिकृत पौडेलले भने, ‘हावा र सूर्यको किरण खेल्न पाउने भएकाले धानको उत्पादकत्व बढ्ने र यसले किसानको मूनाफा पनि बढ्ने देखिन्छ।’
उनले जमिनको चक्लाबन्दी गर्दै धान काट्दासमेत कम्बाइन्ट हार्वेष्टरको प्रयोग गरेर अन्य खर्च पनि घटाउने तयारी भइरहेको बताए।
नेपालमा पहिलो पटक सरकारी अनुदानमा धान रोप्ने अत्याधुनिक मेसिन भित्र्याएको डी–क्याम माइक्रोसिस्टम प्रालीका प्रमुख इन्जिनियर प्रकाश विष्टले आधुनिक उपकरणको प्रयोगमा युवा पुस्ताको आकर्षण बढेको बताए।
परम्परागत प्रणालीबाट नयाँ प्रविधिमा जानका लागि केही अप्ठेरो देखिएको भएपनि यसका फाइदा बुझेपछि आकर्षण बढेको पाएको बताए।
चितवनमा केही वर्ष देखि तीन पांग्रे मेसिनले धान रोप्न थालिएको भएपनि त्यो असफल भएपछि चार पांग्रेको प्रयोग थालिएको पौडेलले बताए। उनकाअनुसार एक पटकमा चार लाइनमा रोप्नसक्ने चार पांग्रे एउटा मेसिन भने चितवनमा यस अघि नै भित्रिसकेको थियो।