कोरोनाको महामारीलाई नियन्त्रणमा लिन लगाइएको निषेधाज्ञाको फाइदा उठाउँदै धानको बिउमा अवैध धन्दा भइरहेको भेटिएको छ।
महामारीको समयमा औषधिको कालोबजारीबाट बिरामी मर्कामा परिरहँदा बिउमा देखिएको अवैध धन्दाले किसानहरु पनि मारमा पर्ने चिन्ता थपिएको छ।
निषेधाज्ञाको समयमा अति आवश्यक कृषि सामग्रीको ओसारपोसारमा छुट दिइएको छ। वर्षे धानका लागि बिउ राख्ने समय सुरु हुन लागेकाले बिउ बोक्ने गाडी अहिले प्राथमिकतामा पर्छ। तर यसैको फाइदा उठाउँदै सरकारले अनुपयुक्त भनेर सूचीबाट हटाएको बिउ अहिले धमाधम नेपाल भित्रँदै गरेको भेटिएको हो।
कृषि ज्ञान केन्द्र चितवनकाअनुसार यसरी अबैधरुपमा भित्रएको ‘गोरखनाथ ५०९’ जातको करिब २०० बोरा बिउ मंगलबार नारायणगढ र नवलपुरबाट नियन्त्रणमा लिइएको छ। भारतीय उत्पादनका रुपमा रहेको यो जातको धानको बिउलाई गत वर्षमात्रै राष्ट्रिय बिउविजन समितिले नेपालका लागि उपयुक्त बिउको सूचीबाट हटाएको थियो।
केन्द्रका प्रमुख राजन ढकालकाअनुसार जातीय गुण लुकाएर विक्रीवितरण गरेको भेटिएपछि बिउविजन समितिले गोरखनाथलाई बिउको सूचीबाट हटाएको थियो। ‘नेपालमा वषौंं देखि हाइब्रिड भनेर लगाइंदै आएको त्यो बिउ हाइब्रिड नै होइन रहेछ,’ उनले भने, ‘त्यो भेटिएपछि समितिले सूचीबाट हटाएको थियो। सूचीमा नपरेको बिउ कारोबार गर्न नपाइनेमा यसरी कारोबार भइरहेको रहेछ।’
बिराटनगरको कोशी अर्गानिक मलले स्वस्तिका ट्रान्सपोर्ट प्रालिमार्फत चितवन पठाएको बिउ किसानले दिएको सूचनाको आधारमा ज्ञान केन्द्रले नियन्त्रणमा लिएको थियो। उक्त ट्रान्सपोर्टको चितवन शाखामा छापामार्दा ५० बोरा बिउ भेटेपछि खोज्दै जाँदा नवलपुरको रजहरबाट थप १७० बोरा बिउसहितको ट्रक समातिएको ढकालले बताए।
चितवन ल्याइएको बिउ यहाँका ४ वटा एग्रोभेटहरुले मगाएका थिए। ट्रकमा पश्चिमतर्फ जाँदै गरेको बिउ रुपन्देही र दाङका लागि रहेको केन्द्रले जनाएको छ। दुई वर्षअघि हाइब्रिड बनेर विक्री गरिएको गरिमा जातको धान रोप्दा विभिन्न जिल्लामा धानमा बाला नलाग्ने समस्या देखिएको थियो। त्यतिखेर गरिमा बिउकै कारण चितवनका किसानले मात्र १० करोड १९ लाख रुपैयाँ भन्दा बढीको क्षति व्योहोरेका थिए। त्यसपछि सरकारले बिउ वितरण गर्ने कम्पानीलाई कारबाही गर्दै किसानलाई क्षतिको २५ प्रतिशत राहत उपलब्ध गराएको थियो।
गरिमा बीउमा बाला नलागेपछि सुरु भएको अनुसन्धानका क्रममा गोरखनाथ ५०९ हाइब्रिड नभएको खुलेको थियो। गरिमा भने हाइब्रिड भएपनि कम्पनीले प्याकेटभित्र अर्कै बिउ हालेर विक्री गरेको भेटिएको थियो।
‘यसरी सरकारले सूचीमै नराखेको बीउ ल्याएर विक्री गर्दा यसबाट ठूलो क्षति हुनसक्छ,’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका धान जोन अधिकृत माधव पौडेल भन्छन्, ‘यदी यो बिउ पनि गरिमा जस्तै निस्कियो भने कसलाई समाउने? किसानलाई कसले क्षतिपूति दिने?’
उनले गोरखानाथ जातको बिउ किसानको माझमा लोकप्रिय भएपनि अबैधरुपमा भित्रिएको बिउको गुणस्तरको कुनै भर नहुने बताए। मसिनो चामल हुने, मध्यम अवधिमा फल्ने र पराल राम्रो हुने भएकाले यो धान किसानको रोजाइमा पर्ने गरेको छ।
चितवनमा २७ हजार ३०० हेक्टर जमिनमा धान खेती हुने गरेको छ। एक विघाका लागि ४० किलो बिउ आवश्यक पर्छ।
नेपालमा अहिले ७ चैते र १३८ जातका वर्षे धानका बिउहरु सूचीकृत छन्। हाइब्रिड बिउको आयात बढ्दै जाँदा नेपालमै उत्पादित बिउको प्रयोग कम हुँदै गएको छ। ‘आफैंले बिउ साँचेर राख्ने चलन हराउँदै गयो, व्यवसायिकरुपमा चितवनका केहीले स्थानीय बिउ उत्पादन गरेका छन्, अन्य जिल्लाहरुमा पनि उत्पादन भएका छन्,’ पौडेलले भने, ‘तर आयातित हाइब्रिड बिउ सूचीकृत हुनेक्रम बढ्दो छ, सूचीकृत नै नभएका बिउ पनि यसरी आउन थाल्दा कृषिमा ठूलो घाटा सहनुपर्ने अवस्था आउन सक्छ।’
उनले यस्ता गतिविधिलाई नियन्त्रणमा लिन भन्सार जाँचमा कडाई गरिनुपर्ने बताए। ‘यो बिउ यसरी आयो भने अरु पनि यसैगरी आइरहेको हुनसक्छ,’ उनी भन्छन्, ‘यसरी हुने आयातमा तत्काल नियन्त्रण भएन भने यसको असर ठूलो पर्न सक्ने देखिन्छ।’
आधिकारिकरुपमा मंगलबार बिउ नियन्त्रणमा लिइएपनि केही दिन यता चितवनमा यो बिउको प्रयोग भइरहेको सूचना आफूहरुले पाइरहेको पौडेलले बताए। नियन्त्रणमा लिइएको बिउको विषयमा अनुसन्धान सुरु गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।