चितवनको पहाडी गाउँ ढाँड खोलाका अक्कलबहादुर प्रजाले पालेका ८ वटा लोकल कुखुरा हुर्कँदै थिए। अनिकालको बेलामा यही कुखुरा बेचेर आएको पैसालाई साहरा बनाउँला भन्ने सपना उनले देखेका थिए। तर जेठको पहिलो साता उनले पालेका कुखुरा अस्वभाविक रूपमा ढल्न थाले। दुई दिनमा सबै कुखुरा सोत्तर भएपछि उनले बारीमा खाल्डो खनेर गाडे।
छोडुवा लोकल कुखुरा पाल्ने दिलबहादुरजस्ता धेरैले केही महिनायता यस्तै समस्या झेल्दै आएका छन्। पहाडी क्षेत्रका हरेकजसो घरमा पाल्ने गरिएको लोकल कुखुरा अचेल देख्दै मुस्किल पर्छ।
व्यवस्थित तवरबाट व्यवसायिक रूपमा पालिएका कुखुरामा पनि यस्तै समस्या देखिन थालेको चार महिना भयो। भरतपुर-१३ का मातृका पौडेलले पालेको ७ सय लेयर्स कुखुरा वैशाखको अन्तिम तीन दिनमा मरेर सकिए। धमाधम कुखुरा मरेपछि आत्तिएका पौडेलले नयाँ चल्ला भित्र्याएर व्यवसाय अघि बढाउने आँट अझै गर्न सकेका छैनन्।
भरतपुर-१४ मा रहेको अमृत पोल्ट्री सञ्चालन गर्दै आएका रामलाल भुषालले केही दिन अघिमात्रै २ हजार वटा कुखुरा रोगका कारण मरेको बताए। उनको पोल्ट्रीमा ५० हजार कुखुरा थिए। बाँकीलाई जोगाउन ठूलो चुनौती रहेको उनले बताए। एक वर्षअघि उनले पालेका ११ हजार कुखुरा रोगकै कारण मरेका थिए।
‘थप व्यवस्थित रूपमा व्यवसाय अघि बढाएपछि यसपटक घाटा अल्ली कम भएको छ,’ उनले भने।
नेपाल पाल्ट्री महासंघका अनुसार गत सालको फागुनयता रानीखेत र एचनाइनलगायतका रोगको संक्रमणका कारण देशभरमा ६० लाख भन्दा बढी कुखुरा मरेका छन्। चार महिनाको अवधिमा रोगकै कारणले देशभरमा साढे दुई अर्ब रुपैयाँको क्षति भएको महासंघका उपाध्यक्ष टीकाराम पोखरेल बताए। कुल क्षतिको करिब ३० प्रतिशत चितवनमा देखिएको उनले बताए।
पोखरेलका अनुसार रोगले छोडुवाका साथै साना र मध्यमस्तरका पोल्ट्रीमा ठूलो असर पुर्याएको छ।
‘ठूलाले जैविक सुरक्षा प्रणालीमा बढी ध्यान दिने गरेका कारण त्यति धेरै समस्या देखिएन, साना र मध्यम स्तरका फार्ममा रोगको प्रकोप देखियो,’ पोखरेलले भने।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका प्रमुख डाक्टर दयाराम चापागाईंले फागुनताका काठमाडौंमा देखिएको समस्या चितवन हुँदै देशैभर फैलिएको बताए। काठमाडौंमा केही महिना अघि एचफाइभ (मान्छेमा पनि सर्न सक्ने बर्डफ्लु)को संक्रमणसमेत देखिएको थियो। अहिले धेरैतिर देखिएको एचनाइन पनि वर्डफ्लुको एक किसिम भए पनि यो कम घातक र मान्छेमा नसर्ने खालको हुन्छ।
‘व्यवस्थित रूपमा पाल्नुपर्ने कुखुरा गाई, भैंसी जसरी खुल्ला रूपमा पाल्ने गर्दा संक्रमण बढेको छ,’ उनले भने, ‘जुकाको औषधी र भ्याक्सिन नलाइएका कुखुरा भकाभक मरिरहेका छन्।’
उनले पंक्षी रोगको विषयमा अनुसन्धान गर्न चितवनमै राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला सञ्चालनमा रहेपनि उक्त प्रयोगशालालाई कोरोना भाइरसको नमूना परीक्षणका लागि प्रयोग गरिँदा पंक्षीसम्बन्धी अनुसन्धान गर्न बाधा भइरहेको बताए।
‘समस्या आइहाले यहीँ पत्ता लगाएर छिट्टै समाधान गर्न सकिन्थ्यो तर ल्याबलाई अन्य काममा प्रयोग गरिएकाले त्यो सम्भव भएन,’ उनले भने, ‘नमूना परीक्षण गरी अध्ययन भइरहेको छ। केही दिनमा वास्तविक समस्या पत्ता लाग्ला।’
नेपालमा सबै कुरा पत्ता लगाउन नसकिने भएपछि केही दिन अघिमात्रै यहाँ मरेका कुखुराको नमूना परीक्षणका लागि अष्ट्रेलिया पठाइएको पोल्ट्री महासंघका उपाध्यक्ष पोखरेलले बताए।
‘त्यहाँबाट केही दिनमा रिपोर्ट आउला। त्यसबाट आगामी दिनमा कसरी अघि बढ्ने भन्ने निर्क्यौल हुनेछ,’ उनले भने।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका विज्ञ डाक्टर सुविर सिंहले भरतको ल्याबमा गरिएको जाँचबाट केही महिनायता नेपालमा कुरा मर्नुको प्रमुख कारण रानीखेत रोग रहेको पुष्टि भएको बताए।
‘रानीखेतको पनि कस्तो प्रकृति हो भन्ने विषयमा अहिले हामी अध्ययन गर्दै छौं,’ उनले भने, ‘केही दिनमा यसको पनि टुंगो लाग्छ।’
उनकाअनुसार एक वर्ष अघि पनि कुखुरामा यस्तै किसिमको समस्या देखिएको थियो।
‘जाडो सकिएर गर्मी सुरू हुँदै गर्दा कुखुरामा यस्तो समस्या देखिने गरेको छ,’ उनले भने, ‘समयमा उचित भ्याक्सिन दिन नसक्दा समस्या देखिने गरेको पाएका छौं।’
डा.सिंहकाअनुसार छोडुवा लोकल कुखुरा, गिरीराज, हाँस, टर्कीका साथै व्यवसायिक रूपमा पालिएका ब्रोइलर, लेयर्स र प्यारेन्ट कुखुरामा संक्रमण देखिएको छ। संक्रमण फैलिएका फार्महरूमा ४० देखि ५० प्रतिशतसम्म मृत्युदर देखिएको उनले बताए।
‘पूर्वी चितवन र मकवानपुरका केही फार्ममा त सत प्रतिशत कुखुरा मरेको पनि भेटियो,’ उनले भने, ‘हामी यो रोगको विषयमा गहन अध्ययन गर्दैछौं। केही दिनमा यसको रिपोर्ट तयार गरेर जानकारी गराउँछौं।’
पशु चिकित्सक डाक्टर रेवन्तकमार भट्टराईले रानीखेतको संक्रमण देखिएको फार्ममा बाँचेका कुखुराबाट पनि उत्पादन असाध्यै कम देखिएको बताए।
‘मर्ने त मरिहाले रोगलाई जितेर बाँचेकाले पनि राम्रो उत्पादन दिएका छैनन्। अण्डाको उत्पादन ३०-३५ प्रतिशतसम्म मात्रै छ,’ उनले भने, ‘बजारमा अण्डाको भाउ आकाशिएको छ तर किसान घाटामा छन्।’
उनले छोडुवा पंक्षीका कारण रोग फैलिएको हुनसक्ने बताए।
‘ग्रामीण क्षेत्रमा पालिएका कुखुरा सोत्तर भएका छन्, मलाई रुकुम, रोल्पा, सल्यानलगायतका जिल्लाबाट पनि कुखुरा मर्न थाले भनेर फोन आइरहेको छ’, उनले भने, ‘जहाँ पंक्षीलाई खोप दिने चलन छैन समस्या त्यहीँ बढी देखिएको छ।’
उनले जैविक सुरक्षाका विधि अपनाएर व्यवस्थित तरिकाले पालिए समस्या कम आउने दाबी गरे। रानीखेत र एसनाइनविरूद्धको भ्याक्सिन लगाइएका कुखुरामा समस्या कम देखिएको उनले बताए।
डाक्टर भट्टराईले रोग के भन्ने कुरा पत्ता लगाएर यसको उचित भ्याक्सिन सर्वसुलभ रूपमा उपलब्ध गराउन सकेमात्र समस्या कम हुने बताए।
‘आवश्यकताअनुसारको भ्याक्सिन उत्पादन र आयातमा सहज हुने वातावरण बनाइदिनुपर्यो भनेर हामीले सरकारका निकायहरूमा वर्षौंदेखि आग्रह गर्दै आएका छौं तर सुनुवाइ भएको छैन,’ उनले भने, ‘रोगको संक्रमण बढेपछि सरकारी समिति पनि बनेको छ। त्यसले पनि प्रतिवेदन ल्याउला, हामी पनि अनुसन्धान गरिरहेका छौं। ती प्रतिवेदनको आधारमा सरकारलाई दबाब दिनुपर्छ।’