आलु गाउँका रूपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजित राष्ट्रिय आलु महोत्सवमा २८ लाख रूपैयाँ बराबरको आलु बिक्री भएको छ।
स्थानीय विष्णुपादुका युवा क्लबले ‘सुन्दर ठाउँ हेम्जा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार अनेक’ को नारासहित गत चैत २६ गतेदेखि महोत्सव सञ्चालन गरेको थियो। महोत्सव आइतबार सकिएको हो।
महोत्सवस्थलमा आलुको पहाड बनाइएको थियो। महोत्सवस्थलबाट ८० टन आलु बिकेको आलु संकलन तथा कृषि परिचालन उपसमिति संयोजक जयराज तिमिल्सिनाले बताए। महोत्सवमा प्रतिकिलो ३५ रूपैयाँमा आलु बेचिएको थियो।
कृषक तिमिल्सिनाका अनुसार हेम्जाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले उपभोक्ताको माग बढी छ। यहाँको आलुको माग पोखराभन्दा बाहिर पनि बढी हुने गरेको छ। हेम्जा आलुसहित तरकारी उत्पादनमा समेत अग्रणी स्थानमा छ।
हेम्जाले पोखरा बजारलाई २५ देखि ३० प्रतिशत ताजा तरकारी आपूर्तिमा योगदान गरेको छ। महोत्सवमा कुल पाँच करोड रूपैयाँको कारोबार भएको बताइएको छ।
महोत्सव समापनका अवसरमा अग्रज कृषकहरूलाई सम्मान पनि गरियो। पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्र र नगदसहित सम्मान गरिएको हो।
हेम्जाका आलु उत्पादक कृषकहरू देवीरमण पौडेल, अमृत पौडेल, वीरबहादुर कार्की, सुनिता श्रेष्ठ, शिलशोभा नेपाली र निरज तिमिल्सिना सम्मानित भए। कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले क्लबले आगामी वर्षदेखि आलु महोत्सवलाई रातो किताब नै व्यवस्था गरी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए।
एक वडा एक उत्पादनका लक्ष्यसहित महानगर अगाडि बढिरहेको आचार्यले बताए।
उनले भने, 'कृषिलाई आयआर्जनसँग जोड्न सके मात्रै समृद्धि हासिल हुनसक्छ।'
महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटबिरूवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बीउ बिजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी गरिएको थियो।
कोरोना भाइसरका कारण विगत तीन वर्षसम्म हुन नसकेको महोत्सवले यस वर्षदेखि निरन्तरता पाएको हो ।