बाख्रालाई खेततिर छाडेर फर्किएपछि सीतामाया थिङ खोर सफा गर्नमा व्यस्त थिइन्। केहीदिनअघि भेट्दा उनले यही खोरका कारण आफू अचेल निदाउन थालेको बताइन्।
‘यो खोरले त हाम्रो परिवारको जीवन नै नयाँ बनाइदिएको छ। अचेल मज्जाले निदाउन पाएकी छु,’ सीतामायाले भनिन्, 'सुधारिएको पक्की खोरमा राख्न थालेपछि बाघले खाला भन्ने पीर हट्यो अनि ढुक्कले निदाइन्छ।'
सानो चिटिक्कको यो खोर बनेको केही महिनामात्रै भयो। त्यसअघि पनि उनी बाख्रा पाल्थिन्। तर पक्की खोर थिएन। सामान्य गोठमा बाँधिएका बाख्रा जुनसुकै बेला बाघको आहारा बन्नसक्थे।
यति भनेपछि सीतामाया आफ्नो र ईच्छानगर गाउँको दुःख बताउन थालिन्।
इच्छानगर गाउँ पर्सा जिल्लाको ठोरी गाउँपालिकामा पर्छ। यहाँ करिब डेढ सय परिवार बस्छन्। ठोरीको वडा नम्बर २ मा पर्ने यो गाउँलाई चारैतर्फ चितवन राष्ट्रिय निकुञ्जले घेरेको छ। यहाँ पुग्न हुलाकी राजमार्गबाट करिब आधा घण्टा जंगलको बाटो हिँड्नुपर्छ।
निकुञ्जको कोर क्षेत्रभित्र पर्ने बस्ती भएकाले यहाँ वन्यजन्तुबाट धेरै डर छ। जंगली हात्ती, पाटेबाघ, चितुवा, बँदेललगायतका वन्यजन्तुको सामना गरेर दैनिकी चलाउनु यहाँका बासिन्दाका लागि समान्य बनिसक्यो।
‘हात्ती, बँदेल, मृगको बथान पसे भने बाली केही बाँकी राख्दैनन्। बाघ पस्यो भने पशु चौपाय सोत्तर पारिहाल्छ,’ सीतामाया भन्छिन्, ‘दिउँसो आए त सबै मिलेर लखेट्न हुन्थ्यो नि। राति आएर हैरान पार्छ। एक्लो ज्यान कता दौडिनु?’
सीतामायाका तीन छोरा, तीन छोरी छन्। १५ वर्षअघि श्रीमानले छाडेपछि सबै छोराछोरीको जिम्मा उनको काँधमा आइपर्यो। त्यतिखेर १६ कट्ठा नम्बरी जमिन र एउटा घरबाहेक केही थिएन।
‘बाली थन्काउने बेलामा रातभरी कुरेर बस्नुपर्ने, लखेट्न जाँदा आफैंलाई सक्छ कि भन्ने पीर उत्तिकै हुन्थ्यो। पर लुकेर झटारो हान्थें। जंगली हात्तीले कहिले त घरै भत्काउँथ्यो,’ सीतामायाले विगतका दुःख सुनाइन्।
दुःख पाएको देखेपछि एउटा समूहले उनलाई अनुदानमा बाख्राको पाठी दियो। त्यो पालेर खर्च जुटाउने सपना पुरै देख्न पनि नपाउँदै बाघले आहारा बनाइदियो।
तैपनि उनले हरेस खाइनन्। बाख्राका पाठी किनेर पाल्दै गइन्। विभिन्न समयमा गरेर बाघले उनले पालेका ४ वटा माउ बाख्रा खाइदियो। ‘ एक पटक त बाघलाई खुर्पाले झटारो हानें। तर उसलाई त के हुनु, जति हुनु मैलाई भयो,’ उनले दुःख पोखिन्।
सीतामायाका बाख्रा अहिले २४ वटा पुगेका छन्। ती सबै खोरमा अटाउँछन्। पक्की खोरभित्र बाख्रा हुलेपछि उनलाई आनन्दको निद्रा लाग्छ।
‘जमिनमा लगाएको बाली भित्र्याउन पाइँदैन। त्यो त्यसै बाँझो रहन्छ। बाख्रा त्यहीँ लगेर चराउँछु,’ उनले भनिन्, ‘घर खर्च बाख्रा बेचेर पुगिहाल्छ। अब शरीरले सकिन्जेल बाख्रा पालेरै खान्छु।’
इच्छानगरमा २०३० सालताका बस्ती बस्न थालेको हो। यहाँ अधिकांशको आयआर्जनको प्रमुख स्रोत बाख्रा पालन हो। उनीहरुको व्यवसायलाई सुरक्षित बनाउन चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, मध्यवर्ती उपभोक्ता समिति तथा आइयुसिएन, केएफडब्लुको सहयोगमा तराई भू–परिधी कार्यक्रमले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका छन्।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव–बाघ समझदारी अभिवृद्धी गर्ने उद्देश्यले सुरक्षित बाख्राको खोर निर्माण गर्ने योजना तराई भू–परिधी कार्यक्रमले यहाँ पनि सञ्चालन गरेको छ। यसले इच्छानगरबासीको व्यवसायलाई सुरक्षित बनाइरहेको निर्मलठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए। साथै गाई, भैंसीको गोठ सुधार गर्ने, वन्यजन्तुको आक्रमणबाट मृत्यु भएकाका परिवार, घाइतेका परिवारलाई जिविकोपार्जनमा सघाउने, जंगल र बस्तीको सीमानामा मेसजाली लगाउने काममा पनि उक्त संस्थाले सघाउँदै आएको बस्नेतले बताए।
स्थानीय बिचारी बिष्टले अचेल मान्छे जंगलभित्र र वन्यजन्तु बस्ती आउनक्रम घटेको बताइन्।
‘हामी बाख्रा चराउन जंगल जान्थ्यौं। हात्ती, बाघ आहारा खोज्दै बस्ती पस्थे। अचेल हामी जंगल जान छाड्यौं। बस्ती आसपासमा चराउने, सुरक्षित खोरमा राख्ने गर्दा बाख्रा जोगिएका छन्,’ उनले भनिन्, ‘हात्ती कहिलेकाहीँ छिर्छ। अन्नबाली खाइदिन्छ। बाघ नपसेको धेरै समय भयो।’
मसरी राउतले दर्जनबढी बाख्रा पालेकी छन्। बाघले मार्न थालेपछि उनी बाख्रा घरभित्रै हुलेर सुत्थिन्।
‘अब पक्की खोर बनाउन लागेको छु। संस्थाहरुले खोर बनाउन सघाएका छन्,’ राउतले भनिन्, ‘धान, मकै, तोरी राम्रै फल्थ्यो। हात्ती, बँदेल र मृग पसेर खेती गर्न दिँदैनन्। बाख्रासम्म जोगाउन पाए परिवार पालिन्थ्यो।’
वीरगञ्जबाट नजिकै रहेकाले यहाँ पालेका बाख्राको बजारको समस्या छैन। व्यापारी गाउँमै आएर बाख्रा खरिद गर्छन्।
तराई भू–परिधी कार्यक्रमका चितवन–पर्सा कम्प्लेक्सका कार्यक्रम संयोजक प्रेम पौडेलले चितवन र पर्सा निकुञ्जका ८ वटा मध्यवर्ती उपभोक्ता समितिलाई लक्षित गरेर एकीकृत बाघ बासस्थान संरक्षण कार्यक्रम सञ्चालन गरिएको बताए। यो कार्यक्रम चितवनको माडी र मेघौली, पर्साको ठोरी र नवलपुरको त्रिवेणीमा करिब ६ वर्षदेखि सञ्चालन भइरहेको छ।
यो कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षभित्र ३९५ वटा बाख्राका खोरहरू निर्माण गरिएको पौडेलले बताए। गत वर्ष १७७ वटा खोरहरु निर्माण गरिएको थियो। सबै खोरहरुमा गरेर अहिले २ हजार ७२७ वटा बाख्रा पालिएका छन्।
८ वटा क्षेत्रमा बाघ र चितुवाको आक्रमणबाट १२९ वटा बाख्राहरु मरेको तथ्यांक छ। निर्मलठोरी उपभोक्त समितिअन्तर्गत रहेको ठोरी गाउँपालिकाका वडा नम्बर १, २ र ३ मामात्रै २० वटा बाख्रा बाघ, चितुवाले मारेका थिए।
पौडेलकाअनुसार प्रभावित क्षेत्रमा रहेका ३४९ जनालाई साना व्यवसाय सञ्चालन गर्न सघाएको छ। वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका र घाइते भएका विपन्न परिवारलाई बाख्रा, कुखुरा, भैंसी, माछा, बंगुरपालन, मोवाइल, किराना, फलफूल, तरकारी, फर्निचर पसल, घुम्ती, ठेला व्यवसाय, होमस्टे सञ्चालनका लागि बीउ पुँजी दिएको उनले बताए।
निर्मलठोरीका ६८ परिवारले बाख्रा, बंगुर पालन, तरकारी खेती, सिलाई, कोल्ड स्टोर, ग्रील, आरन पसल, फर्निचर र होमस्टेमा यो पुँजी लगानी गरेका छन्।
‘१० वर्षमा बाघको संख्या दोब्बर बढाउने लक्ष्य लिएको नेपालले त्यो अवधिमा झण्डै तेब्बर संख्या पुर्यायो। अबको चुनौती ती बाघको संरक्षण गर्ने र बाघबाट समुदायमा असर पर्न नदिने हो। त्यसका लागि समुदायलाई सचेत बनाउने, मान्छेको व्यवहारमा परिवर्तन आवश्यक पर्छ,’ पौडेल भन्छन्, ‘हामीले मध्यवर्ती क्षेत्रमा रहेका बासिन्दालाई आयआर्जनको विकल्प दिएर जंगलको निर्भरता हटाउने, वन्यजन्तुलाई बस्तीमा नआउने वातावरण बनाउन सघाउने काम गर्दै आएका छौं।’
पौडेलले स्थानीयबासी, निकुञ्ज र केन्द्रस्तरको समूहलाई भारतका निकुञ्जहरुमा लगेर अन्तरक्रिया तथा समन्वय बैठक गराउने गरेको बताए। अनुभव आदानप्रदान गर्दा संरक्षणको विषयमा दुबै पक्षलाई फाइदा भएको पौडेलले बताए।
अयोध्यापुरी उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकले उपभोक्तहरुका लागि सञ्चालन गरिएका आयआर्जनका कार्यक्रम र सचेतना कार्यक्रमले दिगो वन व्यवस्थापनमा सघाएको बताए।
‘अयोध्यापुरी उपभोक्ता समितिअन्तर्गत यस वर्ष ४० वटा बाख्राको खोरहरु निर्माण गरिएको छ। ४४ जना प्रभावित परिवारलाई आयआर्जनका लागि सघाइएको छ,’ उनले भने, ‘यस्ता कार्यक्रमले समुदायको जीवनस्तर उकास्न मदत गर्छ, समुदाय सक्षम भए जैविक विविधता संरक्षण प्रभावकारी बन्छ।’
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले वन, वन्यजन्तु जोगाउने र मध्यवर्ती क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्ने काम एकैसाथ अघि बढाइएको बताए।