चितवनमा गाई भैंसीमा ‘लम्पी स्किन’ नामको रोग फैलिएको छ। जिल्लाका सातवटै पालिकामा यो रोगको संक्रमण फैलिएको हो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले केही महिनादेखि चितवनका गाई, भैंसीमा यो रोगको संक्रमण बढेको बताए।
केन्द्रकाअनुसार अहिलेसम्म ३१०० गाई, २७० भैंसीमा यो रोग देखिएको छ। लम्पी स्किनका कारण अहिलेसम्म ८४ वटा गाई मरेको केसीले बताए।
रोगको असर पहाडी इलाकामा बढी देखिएको छ। राप्ती नगरपालिकामा ११७० गाई र २२५ वटा भैंसी संक्रमित भएको केन्द्रले जानकारी दियो। यहाँ १० वटा गाई लम्पी स्किनका कारण मरेका छन्।
इच्छाकामना गाउँपालिकामा ९०३ वटा गाईमा संक्रमण देखिएको छ।
अहिलेसम्म यहाँ ५३ वटा गाई मरिसकेका छन्। गाउँपालिकाको पशु स्वास्थ्य शाखाका पशु स्वास्थ्य अधिकृत दीपक पुरीले करिब ८० प्रतिशत गाईमा लम्पी स्किनको संक्रमण फैलिएको बताए।
‘सबैभन्दा बढी संक्रमण वडा नम्बर २ मा देखिएको छ। प्रायः गोठमा अधिकांश गाई, गोरुमा संक्रमण देखिएको छ,’ उनले भने, ‘बिरामी भएको जानकारी पाउनेबित्तिकै औषधि लिएर पुग्ने गरेका छौं। तैपनि नियन्त्रणमा आउन सकेको छैन।’
पुरीका अनुसार इच्छाकामना गाउँपालिकामा एउटै गोठका चार वटासम्म गाई मरेका छन्। पहाडी क्षेत्रमा बाछो उत्पादनका लागि गाई पाल्ने चलन छ। गाउँका स-साना गराहरू जोत्न गोरुको विकल्प छैन।
‘दुई वटा गाई, दुई गोरु र हुर्कँदै गरेका दुई बाछा थिए। सबैलाई रोग लागेको छ,’ इच्छाकामनाको थापथलीका बुद्धिबहादुर गुरूङले भने, ‘गोरुको शरिरमा गिर्खा र घाउ आएको छ। यसपालि मकैबारी जोत्न पनि पाइएन। दाउन ठिक्क परेका बाछाहरू ज्वरोले छटपटाएका छन्। खुट्टा सुन्निएका छन्।’
पुरीले गाई, गोरुमा उच्च ज्वरो आउने, घाँस, पानी नखाने, छालामा गिर्खा आउने, गिर्खा फुटेर घाउ हुने, र्याल काड्ने समस्या देखिएको बताए।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले रोग फैलिएपछि जिल्लाबाट केही औषधि प्राप्त भएको बताए। बाँकी औषधि र भ्याक्सिन गाउँपालिकाले खरिद गरेर उपचार गर्दै आएको उनले बताए।
भरतपुर महानगरपालिकामा पनि २०८ वटा गाई र ४ वटा भैंसीमा लम्पी स्किनको संक्रमण देखिएको छ। १३ वटा गाईहरू यो रोगले मरेका छन्।
गाईलाई १०५ डिग्रीको ज्वरो आएपछि भरतपुर-१२ का किसान रामशरण कुँवर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धाइरहेका छन्।
‘१५ भैंसी, ५ वटा गाई, केही बाख्रा पालेको छु। तीन दिनअघि एक्कासी यो गाईमा समस्या आयो, ज्वरो ह्वात्तै बढ्यो। दूध घट्यो,’ गाई डोहोर्याएर केन्द्र पुगेका कुँवरले भने, ‘यहाँ आएर घन्टौं कुर्दा पनि उपचार हुँदैन। रोग पत्ता लगाएर औषधि दिए त निको हुन्थ्यो होला।’
उक्त कार्यालयले भने रोग पहिचान भएपछि उपचार गराउँदै आएको दाबी गर्यो।
केन्द्रको तथ्यांकअनुसार भरतपुर महानगरपालिकाभित्र ३८ हजार ७६० वटा गाई र १४ हजार ५६७ वटा भैंसी पालिएका छन्। तीमध्ये करिब २३ सय वटाले लम्पी स्किन रोग विरूद्धको भ्याक्सिन पाएका छन्। भरतपुरको वडा नम्बर ६ ले वडाको बजेटले भ्याक्सिन खरिद गरेर १७ सय ६० वटा गाई भैंसीलाई भ्याक्सिन लगाएको छ। वडा नम्बर १६ मा किसान जागरूक भएर आफैं खरिद गरेर ५ सयवटा गाई भैंसीलाई भ्याक्सिन लगाएका छन्।
राप्ती नगरपालिकामा ५० र रत्ननगर नगरपालिकामा २४० वटा गाईलाई भ्याक्सिन लगाइएको तथ्यांक केन्द्रसँग छ।
केन्द्रका प्रमुख केसीले गाई भैंसीलाई रोगबाट बचाउन दश लाख रुपैयाँको औषधि खरिद गरेर स्थानीय तहहरूमा पठाएको बताए।
‘रोग नियन्त्रणका लागि सचेतना गोष्ठी, फ्लेक्स, पम्प्लेट वितरण, सञ्चार माध्यमबाट सूचना प्रसारण गरेका छौं। औषधि किनेर पठाएका छौं। योभन्दा बढी गर्नसक्ने अवस्थामा हामी छैनौं,’ केसीले भने, ‘हामीले खर्च गर्नसक्ने भनेको त्यही दश लाख रुपैयाँ हो। योभन्दा बढी खर्च पैसा भए पनि गर्न सकिँदैन। प्रकृयाले दिँदैन। बरू मरे मरोस् भन्नुपर्ने अवस्था छ।’
केसीले किसानको समस्या समाधान गर्ने दायित्व स्थानीय तहको पनि भएकाले भ्याक्सिन र थप औषधिको व्यवस्था उनीहरूले गर्नुपर्ने बताए। केन्द्र वा प्रदेश सरकारसँग पैसा भए स्थानीय तहलाई दिएर उनीहरूले खरिद गर्दा ठीक हुने केसीले सुझाए।
नेपालमा लम्पी स्किन रोग विरूद्धको भ्याक्सिन भित्रिएको केही महिनामात्रै भयो। रोग लाग्नुअघि नै सबै गाई भैंसीलाई खोप लगाउनु यो रोग नियन्त्रणको एउटा उपाय हो। गोठमा एउटा गाईलाई रोग लागेपछि उसलाई समूहबाट छुट्टाएर उपचार गर्ने, गोठ, भकारोको सरसफाइमा ध्यान दियो भने थप फैलन नपाउने विज्ञहरू बताउँछन्। ज्वरो आएका पशुहरूलाई काममा नलगाई आराम गराउने, प्रशस्त मात्रामा पानी दिने, पातलो कुँडो, नरम घाँस, दाना, सख्खर पानी खुवाउने गर्नुपर्छ।
उच्च ज्वरो आउने, कचेरा निकाल्ने, सिँगान बग्ने, फिँज काड्ने, घाँटी, पेट, पछाडिको भाग, थुन वरीपरी गिर्खहरु देखिने, छालामा घाउहरु देखिने, दूध कम दिने लक्षण लम्पी स्किनका हुन्।
यो रोग संक्रमित लामखुट्टे, झिँगा, किर्नाको टोकाईबाट सर्छ। संक्रमित गाईवस्तुको ओसार-पोसारबाट पनि यो रोग सर्छ। सामुदायिक चरन क्षेत्र तथा दाना, पानी खाने ठाउँहरूबाट, आहाल, प्राकृतिक तथा कृतिम गर्भाधानबाट, फरक गाईभैंसीलाई एउटै सुईको प्रयोग गर्दा, प्रत्यक्ष सम्पर्कबाट यो रोग सर्छ।
चितवनमा ९३ हजार १८२ गाई र ७२ हजार ६९८ वटा भैसी रहेको तथ्यांक भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग छ। यी सबैलाई भ्याक्सिन लगाउँदा ४ करोड १४ लाख ८५ हजार रुपैयाँ खर्च हुन्छ।