गत साता बिहीबार मध्याह्न बाँकेको डुडुवा गाउँपालिका–५, सिधिन्याघाटमा तातो हावा चलेको थियो। अधिकतम तापक्रम ३८.६ डिग्री सेल्सियस थियो। त्यो बगरमा छहारी दिने रूख एउटा पनि थिएन। भुंग्रो जस्तो गर्मीमा मान्छेहरू तरबुजा खाएर आँत शीतल बनाउने प्रयास गर्दै थिए।
अचेल हुलाकी मार्ग हुँदै नेपालगञ्ज आउजाउ गर्ने धेरै यात्रुको ध्यान सिधिन्याघाटको तरबुजाले तान्छ।
गाडी आइपुग्नासाथ भारतीय बिक्रेताहरू यात्रु नजिक पुग्छन् र कराउँछन् — तरबुजा खाओ, धुप से बचो, गर्मी से बचो, ज्यान जोगाओ!
नेपाली भाषा पनि बोलेको सुनिन्छ — अर्गानिक तरबुजा, गुलियो छ, स्वादिलो छ, खाएर प्यास बुझाउनुहोस्, नखाए पछुताउनु होला!
यसरी तरबुजा बेच्नेहरू केटाकेटीदेखि पाका उमेरसम्मका हुन्छन्। अरू बेला सुनसान हुने सिधिन्याघाट तरबुजाको मौसममा करिब डेढ महिना यसरी नै गुन्जिन्छ।
तरबुजा बेच्न मात्र नेपाल आएका यी भारतीयहरूले खेती पनि नेपाली भूमिमै गरेका छन्। राप्तीको उकास बगरमा उनीहरूले तरबुजा खेती गरेर आम्दानी गरिरहेका छन्।
सिधिन्याघाट हुलाकी मार्गमा पर्छ। बाँकेको राप्ती सोनारी गाउँपालिकामा पर्ने सिक्टा सिँचाइ परियोजनाको बाँध–पुल हुँदै नेपालगञ्ज पुग्ने छोटो र सरल बाटो यही हो। सिधिन्याघाट नजिकै राप्ती नदीमा पुरानो पुल यथावत छ। त्यहँबाट पूर्वतिर जाँदा विकट मानिने नरैनापुर गाउँपालिका पुगिन्छ। नेपाल–भारत दसगजा पनि त्यतै छ।
सिधिन्याघाटमा तरबुजा खाने र घर लैजाने उद्देश्यले यो मार्ग रोज्ने यात्रु पनि हुन्छन्।
राप्ती सोनारी गाउँपालिका–६, डाँडा टपरीका ४६ वर्षीय फत्तेसिंह थारू र उनकी ४४ वर्षीया श्रीमती सोनापति राप्ती नदीको उकास बगरमा भारतीयहरूसँगै खेती गर्ने एक्ला नेपाली दम्पती हुन्। उनीहरूले बगरमै एउटा छाप्रो बनाएका छन्।
'भारतीयहरूले चार सय बिघाभन्दा बढी क्षेत्रफलमा तरबुजा खेती गरेका छन्,' फत्तेसिंहले भने, 'खेती गरेबापत उनीहरूले कुनै प्रकारको शुल्क तिर्नुपरेको छैन। मैले चाहिँ वार्षिक ५० हजार रूपैयाँमा तीन बिघा जग्गा भाडामा लिएको छु।'
स्थानीय व्यक्तिले भोगचलन गरेकाले उनैसँग जमिन भाडामा लिएको फत्तेसिंहले बताए।


'पहिले कसैलाई यो बगरको मतलब थिएन। तरबुजा खेती हुन थालेपछि मान्छेहरू आएर यति जग्गा मेरो हो भन्न थालेका छन्,' फत्तेसिंहले भने, 'कति जग्गा कसको हो भन्ने कसैलाई थाहा छैन। मान्छेहरू आएर मेरो हो भन्दै सिमाना बाँध्न थालेका छन्। भारतीयले खेती गरेको जमिनमा भने कसैले दाबी गरेका छैनन्।'
उनले भारतीयहरूकै सिको गरेर तरबुजा खेती सुरू गरेका हुन्। त्यहाँका सबैजसो भारतीय किसानसँग फत्तेसिंहको राम्रो सम्बन्ध छ। उनी अनुभवी कृषकहरूसँग रायसल्लाह पनि लिन्छन्।
उनका अनुसार राप्तीको बगरमा तरबुजा खेतीका लागि भारतीयहरू पुस १५ सम्ममा आउँछन्। जेठभरिमा तरबुजा बेचेर घर फर्किन्छन् र पुस लागेपछि फेरि आउन थाल्छन्। हाल राप्ती बगरमा १२ परिवार भारतीयले खेती गरेका छन्।
'गाईभैंसी चर्ने यो बगरमा भारतीय आएर के गरेका होलान् भन्ने लागेको थियो,' उनले भने, 'उनीहरूले तरबुजा फलाएर फाइदा लिएको देखेपछि मैले पनि सुरू गरेको हुँ। बिउकै ७५ हजार रूपैयाँ किलो पर्ने रहेछ।'
सवा किलो बिउबाट दुई हजार वटा बिरूवा तयार भए। भारतीय खेतीवालासँग पनि बिरूवा किनेर ६ हजार वटा रोपे। सिँचाइका लागि बोरिङ गरे। सबै काममा तीन लाख रूपैयाँ खर्च भयो।
अब तरबुजा बिक्रीबाट सात लाख रूपैयाँ कमाइ हुने उनको अनुमान छ।
'यो जातको एउटै तरबुजा ९ किलोसम्मको हुन्छ। बिक्रीमा समस्या छैन,' उनले भने, 'बिक्रीका लागि तयार नहुँदै धेरै व्यापारी आइसके। यो गर्मीमा नेपालगञ्ज पुर्याउँदा जति पनि बिक्री हुन्छ।'
गत बिहीबार तरबुजा काठमाडौं लैजान दुइटा ट्रक सिधिन्याघाट पुगेका थिए। एक चालकले ७५ क्विन्टल तरबुजा लिन काठमाडौंबाट आएको बताए।भारतीय खेतीवालाहरू तरबुजा सहरका ठूला स्टोर र सुपर मार्केटमा पठाउँछन्, सिधिन्याघाटमा बसेर फुटकर पनि बेच्छन्।
तरबुजा खेतीमा दुःख भने धेरै छ। रातदिन नभनी तातो बगरमा खेती हेरचाह गर्नुपर्छ। तरबुजा किसानहरू जुत्ताचप्पल नलगाई खेतीमा डुल्छन्।
'बाहिर लगाएको जुत्ताचप्पल लगाएर खेतीमा हिँड्दा बिरूवामा रोग सर्दो रहेछ,' आफ्नो खुट्टा देखाउँदै फत्तेसिंहले भने, 'यी हेर्नुहोस्, अहिले पनि हामी खाली खुट्टा छौं। राति पनि खाली खुट्टा नै हिँड्छौं।'
कहिलेकाहीँ खेतीबाटै तरबुजा चोरी पनि हुन्छ। छाडा गाईभैंसी आएर क्षति पुर्याउने जोखिम हुन्छ। यस्तो क्षति हुन नदिन राति पनि टौवामा बस्नुपर्छ।
वर्षौंदेखि बाँझो बगरमा भारतीयले तरबुजा खेती गरेर नेपालीको आँखा खोलिदिएको फत्तेसिंहको ठहर छ। भारतीयहरूको जाँगर र सक्रियता देखेर फत्तेसिंह छक्क पर्छन्।
'भारतीयलाई देख्दा त हामी नेपाली व्यापारमा धेरै पछाडि रहेछौं जस्तो लाग्छ। उनीहरूका केटाकेटी र बुढाबुढी सबै व्यापारमा लागेका छन्,' उनले भने, 'हामी त उनीहरूजस्तो तरबुजा खानुहोस् भनेर कराउँदै बेच्न पनि लजाउँछौं।'


राप्ती बगरमा भारतीयहरूले तरबुजा खेती गरेको यो दोस्रो वर्ष हो।
डुडुवाको वडा नम्बर २ र ५ मा फैलिएको चार सय बिघाभन्दा बढी जमिनमा खेती गरिरहेका भारतीयहरू उत्तर प्रदेशको डिल्लीका बासिन्दा हुन्। त्यो ठाउँ नेपाल–भारत सीमाबाट करिब ६ सय किलोमिटर टाढा पर्छ।
खेतीवाला समूहका नाइके हुन् ४५ वर्षीय साइदा अली।
'हामीले खेती गरेको दुई वर्ष भयो। जग्गाको पैसा तिर्नुपरेको छैन,' उनले भने, 'यहाँका गाउँलेसँग हाम्रो मित्रता छ। उनीहरूले खुसीले गरिखाऊ भनेर दिएका हुन्।'
नेपाली साथीसँग घुम्न आएका बेला यो खाली बगर देखेर तरबुजा खेती गर्ने विचार आएको उनले बताए। १२ परिवारले चार सय बिघामा पहिलो वर्ष साढे एक करोड भारतीय रूपैयाँ लगानी गरेर खेती गरेको उनले बताए। यस वर्ष कम्तीमा तीन करोड भारतीय रूपैयाँको तरबुजा बिक्री हुने उनको अनुमान छ।
'ए ग्रेडको (सबभन्दा राम्रो) छानेर सुपर मार्केटहरूमा पठाउँछौं। बाँकी स्थानीय बजारतिर पठाउँछौं। फुटकर पनि बेच्छौं,' उनले भने।
अर्का भारतीय कृषक ४६ वर्षीय साबिर शेखले राप्ती बगर उर्वर रहेको थाहा पाएर टाढाबाट खेती गर्न आएको बताए।
'हामी किसानहरू राम्रो जमिन खोज्दै खेती गर्छौं। जहाँ पुगे पनि किसानले खेती नै गर्ने हो,' उनले भने, 'यो जमिन यहाँका मान्छेले खाली छाडेका थिए। त्यसैले खेती गरेका हौं।'
डुडुवा गाउँपालिका–२, हलबलडोलीका बासिन्दा ६५ वर्षीय जम्मन शेखले चिनजानका भारतीयहरू आएर बगरमा खेती गर्न चाहेको बताएपछि गाउँलेहरूले अस्थायी रूपमा भोगचलन गर्न दिएको बताए।
केही स्थानीय भने यहाँ खेती सुरू भएपछि चरनक्षेत्र खुम्चिएको बताउँछन्।
'हामी बगरमा गाईभैंसी छाडा छोड्न पाउँथ्यौं। तरबुजा खेती सुरू भएपछि चर्को घाममा गोठालो आउनुपरेको छ,' डुडुवा–५ का पप्पु यादवले भने, 'हामी त सिजन अनुसार मकै, गहुँ, रहर दाल फलाउँछौं। तरबुजा खेतीबारे थाहा छैन, मन पनि पर्दैन। अन्न फलाउँदा खान पाइन्छ। तरबुजा खाएर बाँचिदैन।'
नेपाली जमिनमा भारतीयहरूले खेती गरिरहेकोमा प्रशासनिक निकायहरूको पनि ध्यान छैन। बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बाँकेमा भारतीयले खेती गरिरहेको कुरा आफ्नो जानकारीमै नरहेको बताए।
त्यस्तै डुडुवा गाउँपालिकाका सूचना अधिकारी सञ्जयकुमार कर्णले भारतीयहरूसँग राजस्व लिने, नलिने विषयबारे आफूलाई जानकारी नभएको बताए।
खेती भइरहेको वडा नम्बर ५ का वडाध्यक्ष झंकबहादुर थापा मगरले भने बगरमा स्थानीयवासीको निजी जग्गा रहेकाले खेती गर्ने भारतीयसँग राजस्व लिन नसक्ने बताए।
'सबै जग्गा व्यक्तिगत हो। जग्गावालाले सित्तैमा दिएका हुन् कि केही फाइदा लिएका छन् भन्ने थाहा छैन,' उनले भने, 'निजी जमिन भएकाले हामीले लिन चाहिँ सक्दैनौं।'