दाङका निर्माण व्यवसायी जनक बुढा आजकाल प्रायः बाँकेको कुसुममा भेटिन्छन्। उनी त्यहाँ निर्माण सम्बन्धी काममा होइन, केराको बगैंचामा हुन्छन्।
उनको धेरैजसो समय केरा बगैंचा हेरचाह, केरा संकलन र बिक्रीमा बित्छ। बगैंचामा कामदार खटनपटन पनि उनकै काम हो।
जनक बाँकेको राप्ती सोनारी गाउँपालिका–१, कुसुममा २५ बिघा क्षेत्रफलको एकै चाक्लोमा रहेको केरा खेतीका साझेदार हुन्।
'बाँकेमा एकै ठाउँमा सबभन्दा धेरै क्षेत्रफलको व्यावसायिक केरा खेती यही हो,' ४९ वर्षीय जनकले भने।
घोराही उपमहानगरपालिका–१२ का जनकले निकै लामो समय आफ्नै निर्माण कम्पनी 'अम्बे बिल्डर्स' चलाए।
उनका ठूलाबुवाका छोरा, उमेरले भाइ शेरबहादुर (नवीन) बुढा चितवनमा बस्थे। उनी पहिले घोराहीकै बासिन्दा थिए। उनैले दाङमा भाडामा जग्गा खोजेर केरा खेती गरौं भन्दै जनकलाई फोन गरिरहन्थे। एक पटक जनकले घोराहीमा आफ्ना साथीहरूलाई शेरबहादुरले भनेका कुरा सुनाए।
निर्माण व्यवसायी संघ, दाङका वरिष्ठ उपाध्यक्ष शोकबहादुर रोकामगर, अर्का निर्माण व्यवसायी ईश्वर पुन र टीका थापासँग सल्लाह भयो। उनीहरू संयुक्त रूपमा केरा खेती गर्ने निष्कर्षमा पुगे।
जनक, शेरबहादुर, शोकबहादुर, ईश्वर र टीका साझेदार भए।
उनीहरूले दाङमा जग्गा खोजे तर चाहेको क्षेत्रफलमा एकै चाक्लो पाउन सकेनन्।
ईश्वरले करिब एक दशकअघि राप्ती सोनारी गाउँपालिकाको कुसुममा १३ बिघा जग्गा किनेका थिए। त्यो जग्गा बाँझै थियो। त्यही जग्गा ताकेर उनीहरू कुसुम गए। पूर्व–पश्चिम राजमार्गसँग जोडिएको, चट्ट मिलेको समथर जमिनमा सबै लोभिए। त्यहाँ व्यावसायिक रूपमा केरा खेती सम्भव छ कि छैन भनेर प्राविधिक जाँच गराए।
जनक बुढा
शेरबहादुर (नवीन) बुढा
'जमिन केरा खेतीका लागि उपयुक्त छ भन्ने प्राविधिक सल्लाह पायौं,' जनकले भने, 'हामी त्यही जग्गामा खेती गर्ने र वरपरको जमिन लिजमा लिने निर्णयमा पुग्यौं।'
उनीहरूले २०८० सालमा 'श्री राप्ती ग्रीन भ्याली एग्रो फर्म प्रालि' दर्ता गराए। लगत्तै सिमाना जोडिएको आठ बिघा जग्गा भाडामा लिए। बाराको निजगढबाट ४० हजार केराका बिरूवा किनेर चैत–वैशाखमा रोपे।
'बिरूवामा १० लाख रूपैयाँ खर्च लाग्यो। पहिलो खेपको बगैंचाले उत्पादन दियो। त्यसबाट गत वर्ष ३५ लाख रूपैयाँको केरा बेच्यौं,' उनले भने, 'केरा खेतीबाट कम मेहनतमा राम्रो आम्दानी हुँदो रहेछ भन्ने भयो।'
उनीहरूले फेरि सिमाना जोडिएकै थप चार बिघा जमिन भाडामा लिएर खेती विस्तार गरे। यसरी २५ बिघाको एकै चाक्लोमा खेती फैलियो। हाल प्रतिकट्ठा वार्षिक एक हजार रूपैयाँ भाडा दिने सर्त छ।
यति बेला बगैंचाभरि केराका घरी छन्, बिक्रीको सिजन छ। एक दिन बिराएर एक ट्रक केरा घोराहीस्थित एउटा डिलरले लगिरहेको छ। यो सिजनको सबै केरा त्यही डिलरले उठाउने सम्झौता भएको छ।
डिलरले आफै ट्रक पठाउँछ र बगैंचाबाट केरा संकलन गर्ने, भारी हाल्ने कामदारको ज्याला पनि तिर्छ। डिलरले काँचो केरा लैजाने भएकाले रासायनिक वस्तु नहाली पकाउने सर्त रहेको जनकले बताए।
तुलसीपुर, लमही र भालुवाङका व्यापारीले पनि केरा मागेको तर अहिले दिनै नपुग्ने उनी बताउँछन्।
'केरा नबिक्ने चिन्ता छैन, बजारको माग धान्न सकिँदैन,' जनकले भने, 'यस वर्ष जेठ र असारमा ४० लाख रूपैयाँको केरा बिकिसक्यो। भदौसम्म कुल एक करोड रूपैयाँको व्यापार हुने अनुमान छ।'
हाल बगैंचाबाट केरा प्रतिदर्जन ८४ रूपैयाँमा बेचिरहेका छन्। दाङको बजारमा खुद्रा भाउ दर्जनको १२० देखि १४० रूपैयाँसम्म छ।
जनकहरूको खेतीको काममा एक लेखापाल र मासिक तलब पाउने केही कामदार छन्। केराको घरी निकाल्ने समयमा दैनिक १५–२० जना ज्यालादारी कामदार पनि हुन्छन्।
पाँच जना साझेदारले बगैंचा रेखदेखको पालो लगाएका छन्।
'हामी सबै निर्माण व्यवसायी हौं। त्यसैले खेतीको कामको पालो लगाएका छौं। ढुक्कै त बस्नु पर्दैन, कामदारले हेरचाह गर्छन्,' उनले भने।
उनीहरूको केरा खेती भएको ठाउँ बाँके राष्ट्रिय निकुञ्जनजिकै पर्छ। निकुञ्जबाट खासगरी राति आउने बँदलेको बथानले क्षति पुर्याउँछ, बोट ढाल्छ। त्यसैले चौबीसै घण्टा चौकिदार खटाउनुपर्छ।
जनकका अनुसार यसले खेतीको खर्च बढाएको छ। उनीहरूले अब तारबार गर्ने सोचेका छन्। यसनिम्ति निकुञ्ज प्रशासन, गाउँपालिका र प्रदेश सरकारसँग सहयोगको आग्रह गरेका छन्।
सिँचाइका लागि गाउँपालिका कार्यालयले ७० प्रतिशत अनुदानमा एउटा डीप बोरिङ राखिदिएको छ। पूरा खेतीमा पाइपबाट मात्र सिँचाइ पुर्याउन सम्भव नभएपछि ठाउँ ठाउँमा पानी जम्मा गरेर पोखरीजस्तो बनाएका छन्।


रासायनिक मल र उन्नत बिउको भने अभाव भएको जनक गुनासो गर्छन्।
'हामीलाई राज्यबाट धेरै ठूलो सहयोग चाहिएको छैन, समयमा रासायनिक मल पाए हुन्थ्यो। हामी प्रांगारिक मल प्रयोग गर्छौं तर त्यसले मात्र पुग्दैन। गोबर किन्न मात्र एक वर्षमा १५ लाख रूपैयाँ खर्च भयो,' उनले भने, 'यो केरा खेतीमा हालसम्म करिब एक करोड रूपैयाँ लगानी भइसक्यो।'
जनक र उनका साझेदारहरूले कृषिमार्फत नेपालमै निकै राम्रो आर्जनको सम्भावना देखेका छन्। अनुभवी निर्माण व्यवसायीहरू यो टोलीको मन अचेल कृषि कर्ममा रमाउन थालेको छ।
'आफ्नो खेतीमा काम गर्दा मन रमाउँदो रहेछ। भित्रैबाट ऊर्जा आउँदो रहेछ,' जनकले भने, 'काम गरेर खलखली पसिना बगेपछि मन हल्का हुँदो रहेछ।'
जनकहरूलाई केरा खेती गर्न उक्साइरहने शेरबहादुर त झनै खुसी छन्।
घोराहीका बासिन्दा उनी काम गर्न साउदी अरब गएका थिए। १८ वर्ष काम गरेर फर्के र चितवनमा बसे। त्यहाँ कालिकानगरको खोलेसिमलका साहु राजु दाहालको केरा बगैंचामा करिब सात वर्ष ज्यालादारी गरे।
त्यहीँ उनलाई केरा खेतीको अनुभव भयो। यसबाट राम्रो आम्दानी लिन सकिने रहेछ भन्ने विश्वास भयो। तर एक्लै लगानी गरेर व्यावसायिक खेती गर्न सक्ने अवस्थामा थिएनन्।
'त्यसैले मैले जनक दाइलाई मिलेर केरा खेती गरौं, म हेरचाह गर्छु, राम्रो कमाइ हुन्छ भनिरहेँ,' शेरबहादुरले सुनाए।
शेरबहादुरका अनुसार कुसुममा केरा खेती गर्ने कुरा थाहा भएपछि स्थानीयवासीहरूले अचम्म मानेका थिए। नजिकै राष्ट्रिय निकुञ्जको जंगल भएकाले खेती जोगाउन सक्दैनन् भने उनीहरूको धारणा थियो।
'बगैंचा कसरी जोगाउँछौ भन्थे, अहिले गज्जब हुँदो रहेछ भनेर दंग परेका छन्,' उनले भने, 'केरा खेतीमा मेरो अनुभव भएकाले रोग, कीराबारे पनि कसैलाई सोध्नपर्दैन। धेरैजसो औषधि–उपचार जान्दछु।'
उनी युट्युब हेरेर देश–विदेशमा भएका केरा खेतीबारे पनि जानकारी लिन्छन्।
१८ वर्ष विदेशमा बिताएका उनको अहिले मनस्थिति फेरिएको छ। तरिका पुर्याएर मेहनत गर्दा नेपालमै कमाइ हुँदो रहेछ र अरूलाई पनि रोजगारी दिन सकिँदो रहेछ भन्ने उनले बुझेका छन्।
'विभिन्न ठाउँका किसान र कृषि प्राविधिकहरू पनि खेती अवलोकनका लागि आउन थालेका छन्। यसरी काम गर्दा खुसी लाग्दो रहेछ,' उनले भने।



भिडिओः