नमस्ते राप्ती प्रालिका ३५ जना गाडी धनी ‘पुरानो राप्ती सार्वजनिक बस व्यवसायी समिति’मा समाहित भएका छन्।
गत जेठ १३ गते पुरानो राप्ती सार्वजनिक बस व्यवसायी समिति त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालिको नाममा दर्ता भएको छ।
अध्यक्ष सुरेश हमालका अनुसार पुरानो समितिमा कूल ५ सय ७५ वटा बसहरु थिए। नमस्ते प्रालिका गाडीहरु समेत पुरानो राप्ती समितिमा मिसिन आएपछि सोमबारदेखि बसको संख्या ६ सय पुगेको छ।
सल्यान रुटमा संचालन हुँदै आएका २५, रोल्पाको होलेरी रुटमा संचालन हुँदै आएका ६ र दाङ काठमाडौं रुटमा संचालन हुँदै आएका ४ वटा गरी कुल ३५ वटा बस सोमबारदेखि राप्ती समितिमा आएर मिसिएका छन्।
त्यसरी कम्पनी छोडेर गाडी सहित पुरानो राप्ती समितिमा मिसिन आउनेहरुमा नमस्ते राप्ती प्रालिका उपाध्यक्ष ओमकार वोहोरा, सचिव मुक्तिप्रसाद
गौतम (शिवहरी),सदस्यहरु धनवहादुर वली, महेन्द्र खड्गी लगायत व्यवसायी छन्।
गौतमले प्रतिस्पर्धा गर्दा गाडीको किस्ता तिर्नपनि मुस्किल पर्न थालेपछि कार्यगत एकताको लागि पुरानै राप्ती समितिमा फर्किएको बताए।
‘हामीले व्यवसयिक सुरक्षा र हकहितका लागि कार्यगत एकता गरेका हौँ,’सचिव गौतमले भने, ‘ हामी प्रालिमा रहँदा पनि समितिसंग सल्यान, तुलसीपुर घोराही रुटमा डायल सिस्टमबाटै गाडीहरु संचालनगर्दै आएका थियौँ।’
राज्यको नीतिलाई आफूहरुले आत्मसात गर्ने बताएका उनले पुरानो राप्ती समिति पनि प्रालीमा रुपमान्तरण भइसकेको हुँदा फेरि त्यसैमा फर्किएको बताए। ‘राज्यको उद्देश्य त प्रालिमा हामीलाई लगेर कर असुल्ने नै हो’ गौतमले भने ‘त्यस्तो अवस्थामा एकै ठाउँमा दर्जनौँ कम्पनी खोलेर गाडी धनी कसरी बाँच्न सक्छन् ?’
सिन्डिकेट अन्त्य गर्न भन्दै राज्यले देशभरका समितिहरु भंग गरेकाले पुराना समितिहरु कम्पनी रजिष्टारको कार्यालयमार्फत प्रालिमा दर्ता भएर हालसम्म संचालन हुँदै आएका छन्। यद्यपी उनीहरुले साउन १ गतेसम्म पुरानै समितिको नाममा संचालन हुन पाउने सुविधा पाएका छन्।
पुरानो राप्ती समिति पनि जेठमै त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालीको नाममा दर्ता भइसकेको छ।
अध्यक्ष हमाल अहिलेलाई समिति नै भन्नु उपयुक्त हुने बताउँछन्। ‘अझैं हामीलाई साउन १ गतेसम्म समिति भन्ने अधिकार छँदै छ’ उनले भने।
कम्पनीमा दर्ता भएको महिना दिन वितिसक्दा समेत समितिले काउन्टरमा प्रालि लेखेको छैन। बसहरुमा पनि हालसम्म समिति नै कायम छ।
अध्यक्ष हमालले प्रालिमा समिति दर्ता भएपनि हालसम्म राप्ती समिति जस्तै पदाधिकारीको नाममा बसहरु दर्ता गरिएको बताए। अरु जम्मै ५ सय ७५ गाडी धनीहरुलाई सेयर सदस्य बनाइएको उनले बताए।