दाङमा इतिहासमै पहिलो पटक दैनिक रूपमा विमान सेवा सुरू हुने भएको छ। नेपाल वायु सेवा निगमका प्रवक्ता विजय लामाले यही पुस १२ गतेबाट दाङमा दैनिक विमान सेवा सुरू हुनेगरी तालिका तयार भएको बताए।
दाङ एयरपोर्टमा विमान अवतरण भएको झन्डै ६४ वर्षको अन्तरालमा पहिलो पटक दैनिक रूपमा विमान सुरू हुन लागेको खबर सुनेपछि जिल्लावासी हर्षित भएका छन्।
तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजालले विमान सेवा दैनिक हुने खबरले निजी क्षेत्र उत्साहित भएको सेतोपाटीलाई बताए।
‘यो अत्यन्तै खुसीको कुरा हो, यसले जिल्लाको विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने हामीलाई विश्वास छ,’ रिजालले भने।
विमान सेवा नियमित गराउनका लागि निरन्तर लागि पर्ने तुलसीपुरका मेयर घनश्याम पाण्डे धन्यवादका पात्र बनेको उनले तर्क गरे।
‘कुनै दिन बन्द रहेको एयरपोर्टको धावनमार्ग कालोपत्रे गराउन र विमान सेवा सुरू गर्न हामीले पनि धेरै भूमिका खेलेका हौं,’ रिजालले भने, ‘तर, हामीले जति प्रयास गर्दा पनि नियमति गराउन सकेनौं।’
हाल हप्तामा तीन दिन नेपाल वायु सेवा निगमको विमानले उडान भर्दै आएको छ।
विक्रम संवत २०११ सालदेखि दाङको एकमात्रै टरिगाउँ एयरपोर्टमा विमान अवतरण भएको थियो।
निकट भविष्यमै दैनिक रूपमा विमान सेवा सुरू हुने खबरले दाङवासीमा खुसी छाएको शिक्षक विनिल केसीको बताए।
‘यसले दाङप्रतिको नकारात्मक धारणा समाप्त गर्ने छ,’ केसीले भने ‘हालसम्म टरिगाउँ एयरपोर्टको भविष्य के हुने भन्ने थियो अब त्यो भ्रम समाप्त हुनेछ,यो खबरले दाङवासीमा खुसी छाएको छ।’
तर उनले विमान सेवा नियमित गर्नको लागि आवश्यक पूर्वाधार निर्माणका साथै इन्धन डिपो स्थापना झनै अहम् सवाल भएको बताए।
धावनमार्गको विस्तार गर्दै तुलसीपुरमै इन्धन डिपो स्थापना गर्न सकेको खण्डमा भविष्यमा अरु विमान सेवा प्रदायक संस्थाहरू दाङको एयरपोर्टमा आउन लालायित हुने उनको धारणा थियो।
‘केही समयका लागि दैनिक उडान गराउनु मात्रै ठूलो कुरा हैन त्यो सेवा दिर्घकालीन बनाउनका लागि धावनमार्ग विस्तार र इन्धन डिपोको स्थापना महत्त्वपूर्ण आधार हुन्,’ केसीले भने।
हप्तामा एक दिन हुँदै पछि दुई दिन गरेर पंचायतकालमा नियमित विमान सेवा सुरू भएको टरिगाउँ एयरपोर्टमा २०४६ सालमा प्रजातन्त्रको लागि आन्दोलन हुँदा केही समय विमान सेवा अवरूद्ध भएको जानकारहरू बताउँछन्।
त्यसपछि फेरि नियमित रूपमा विमान सेवा सुरू भएको टरिगाउँ एयरपोर्टमा माओवादी द्वन्द्व उत्कर्षमा पुग्दै गर्दा फेरि बन्द भएको थियो। २०६२/०६३ को आन्दोलन पछि फेरि टरिगाउँ एयरपोर्टमा विमान सेवा केही वर्ष अवरूद्ध भयो । फेरि सुरू भए पनि २०६७ सालतिर यसको धावनमार्ग कालोपत्रे गर्नको लागि सेवा अवरूद्ध भएको थियो । धावनमार्ग कालोपत्रे भएपछि पनि विमान सेवा सुरू गराउन तत्कालीन समय तुलसीपुर उद्योग वाणिज्य संघले टिकेटको जिम्मा नै लिएर विमान सेवा सुरू गराउन भूमिका खेलेको थियो।
तर त्यो डेढ वर्षमै बन्द भयो र पछिल्लो समय स्थानीय निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिको पहलमा गत सालको अन्तिम समयदेखि टरिगाउँ एयरपोर्टमा विमान सेवा सुरू भएको हो ।
पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नेपाल वायुसेवा निगमले सेवा सञ्चालन गर्दै आएको छ ।