आगामी सोमबारदेखि दाङ एयरपोर्टमा हप्तामा चार दिन दैनिक दुइटा उडान हुने भएको छ।
दाङ विमानस्थलमा इतिहासमा दैनिक दुइटा उडान हुन थालेको यो नै पहिलो पटक हो।
पहिलो पटक आगामी सोमबारदेखि दैनिक दुइटा उडान सुरू गरी सेड्यूल आएको टरिगाउँ एयरपोर्टमा टिकटको व्यवस्थापन गर्दै आएका एक कर्मचारीले जानकारी दिए।
१/१ दिनको अन्तरमा दैनिक दुइटा फ्लाइट हुने ती कर्मचारीले बताए। कर्मचारी गौरव रेग्मीका अनुसार प्राप्त नयाँ सेड्यूल अनुसार सोमबार दुइटा, मंगलबार एउटा, बुधबार दुइटा, बिहिबार एउटा, शुक्रबार दुइटा, शनिबार एउटा र आइतबार दैनिक दुइटा उडान हुने छ।
पछिल्लो समय झन्डै छ महिना अगाडिदेखि नेपाल एयरलाइन्सले दाङको टरिगाउँ एयरपोर्टमा उडान भर्दै आएको छ।
सुरूमा हप्तामा दुई दिन उडान गरे पनि विगत ३ महिनादेखि भने दाङमा दैनिक उडान हुन थालेको हो।
दैनिक उडान हुँदा पनि यात्रुको चाप अधिक हुने र टिकट नपाउने समस्या यात्रुले भोग्दै आएका छन्। यात्रुको चापलाई मध्यनजर गरेर एयरलाइन्सले हप्तामा चार दिन दैनिक दुइटा उडान गर्ने गरी सेड्यूल पठाएको कर्मचारी रेग्मीले जानकारी दिए।
टरिगाउँ एयरपोर्टको धावनमार्ग कालोपत्र भए पनि लम्बाइ जम्मा साढे ८ सय मिटर र चौडाइ ३० मिटरको मात्रै छ। जसले गर्दा यहाँ ठूला विमान भने अवतरण हुन सक्दैनन्।
दाङमा आएको ट्वीनटर विमान मात्रै अवतरण गर्न सक्छ। ठूला विमान आउन नसक्दा यात्रुले नेपालगञ्जको तुलनामा महँगो भाडा तिर्नुपरेको छ।
दाङदेखि काठमाडौंको लागि प्रतिव्यक्ति ८ हजार ८ सय ८० रुपैयाँ भाडा निर्धारण गरिएको छ भने काठमाडौंबाट दाङका लागि भने ६ हजार ७० रुपैयाँ तोकिएको छ।
दाङको टरिगाउँ एयरपोर्टमा हालसम्म इन्धन डिपो पनि छैन। जसले गर्दा प्लेनले उतैबाट इन्धन बोकेर आउनुपर्ने बाध्यता छ। यात्रु बस्ने सिटमा इन्धन ल्याउनुपर्ने हुँदा बढीमा १२ देखि १४ जना जति यात्रुमात्रै विमानले बोक्ने गर्छ।
टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तार गर्नको लागि यसअघिको सरकारले झण्डै महिना दिन लगाएर यसको डिटेल सर्भे गरेको थियो। तर अहिलेको सरकारले त्यसलाई प्राथमिकता दिएको छैन। बरु अहिलेको सरकारले दाङको घोराही क्षेत्रमा अर्को एउटा अन्तर्राष्ट्रियस्तरको एयरपोर्ट निर्माण गर्ने कुरा गर्दै आएको छ।
घोराही उपमहानगरपालिका वडा नं. १० को नारायणपुर क्षेत्रमा त्यो एयरपोर्ट निर्माण गर्ने भनिएको छ। तर स्थानीय बासिन्दाले भने त्यसको विरोध गर्दै आएका छन्। उनीहरूले आफूहरूको खेतियोग्य जमिन मासेर एयरपोर्ट बनाउनु गलत भएको बताउँदै आएका छन्।