नेपालमा करिब ३०/४० लाख युवा बाह्य रोजगारीमा छन्। कयौं गाउँ युवाविहीन अवस्थामा पुगेका छन्। तर, के नेपालमा रोजगारको अवसर शून्य भएर यस्तो अवस्था आएको हो?
अवसर नभएको होइन, तर कतिपय क्षेत्रमा नेपाली युवाको सीप नहुँदा विदेशीले कब्जा जमाएका छन्।
उदाहरणका लागि, इलेक्ट्रिसियन र प्लम्बिङको कामबाट मासिक एक लाख आम्दानी हुने भए पनि खासै नेपाली युवा यसतर्फ आकर्षित छैनन्। साइकल मर्मत गर्नेले मासिक ५० हजार आम्दानी गर्ने बुझिन्छ। मोटरसाइकल मर्मत गर्नेले मासिक करिब ७५ हजार र टायर पन्चर टाल्नेले पनि मासिक ४० हजार कमाउने गरेक छन्।
त्यस्तै, फ्रिज, पंखा लगायत मर्मत गर्ने, मोबाइल र रेडियो मर्मत गर्नेले पनि मासिक ५०–६० हजार आर्जन गरिरहेका छन्। पुरुषको कपाल काट्नेले मासिक ३०–४० हजार आम्दानी गर्छन्। यी पेसामा प्रायः नेपाली युवाहरू आकर्षित छैनन्।
महिलाको ब्युटीपार्लरमा भने नेपाली युवतीहरू स्वरोजगारमार्फत् आफ्नो खुट्टामा उभिन सफल भएका छन्।
नेपालमा निर्माणको काम प्रशस्त भइरहेको छ। सिकर्मी र डकर्मीको दैनिक ज्याला करिब दुई हजार हाराहारी भए पनि सीपयुक्त जनशक्तिको अभाव खड्किएको छ। मासिक १०–१५ हजार पाए पनि वैदेशिक रोजगारमा जान तयार हुने तर मुलुकभित्र दैनिक पन्ध्र सयमा काम नगर्ने प्रवृत्ति देखिएको छ।
यी सबै प्रवृत्ति नियाल्दा स्वरोजगारमै सहभागी गराउनु जरुरी देखिन्छ। यसका लागि घरेलु तथा साना उद्योग विभाग र समितिले अनेकौं स्किम सार्वजनिक गरेका छन्। युवा परिषदले पनि विविध कार्यक्रम सञ्चालन गरिरहेको छ। युवा स्वरोजगार कोषले सघाइरहेको छ। बैंक, वित्तीय संस्था र सहकारीहरू पनि स्वरोजगारमा सघाउन अग्रसर छन्।
नेपालमा स्वरोजगारका के–कस्ता सम्भावना छन् त?
जाम, जेली, मार्मलेट, केचप, सस र स्क्वास उद्योग सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना छ। यो एक प्रकारले लघु उद्योग हो। यसको कच्चापदार्थ नेपालमै उपलब्ध छ। करिब ३ लाख रुपैयाँ पुँजी भए यो काम गर्न सकिन्छ।
अदुवाको सुठो, पाउडर, क्यान्डी उद्योग सञ्चालन गरी एउटा युवा आफ्नै खुट्टामा उभिन सक्छ। यसका लागि करिब २ लाख रुपैयाँ पुँजी भए पुग्छ। यस्ता उत्पादनको बजार प्रशस्त छ।
अचार उद्योगलाई चाहिने कच्चा पदार्थको हामीकहाँ कमी छैन। सिजनमा हरियो तरकारी निकै कम मूल्यमा पाइन्छ। त्यसैले आँपको अचार, काउलीको अचार, करेलाको अचार र लसुनको अचार उद्योग स्थापना गर्न सकिन्छ।
त्यस्तै, कागतीको अचार, अमलाको अचार, लप्सीको अचार र खुर्सानीको अचारको पनि बजारमा प्रशस्त माग छ।
यस अतिरिक्त मेथीको अचार, मिक्स अचार, मसलाको अचार, घ्यूकुमारीको अचार, गुलियो अचार, माछामासुको अचार र कटहर एवं तिलको अचार उद्योग स्थापना गर्न करिब ५ लाख पुँजी भए पुग्ने देखिन्छ।
यसमध्ये कुनै एक प्रकारको अचार मात्रै उत्पादन गर्ने हो भने ५० हजार भए पुग्छ। यस्तो पुँजी उपलब्ध गराउन गाउँपालिका र नगरपालिका नै अग्रसर हुनुपर्ने देखिन्छ।
नेपालमा स्वरोजगारका लागि पाउँ उद्योग सफल कोटीमा परेका छन्। बेची पाउँ, चटपट पाउँ, लप्सी पाउँ, चिनी पाउँ, झोल पाउँ, गुलियो पाउँ र खट्टु पाउँको बजारमा माग छ। गुणस्तरीय उत्पादन र आकर्षक प्याकमा उत्पादन गर्न सके जोकोही युवा आफ्नै खुट्टामा उभिन सक्छ।
यसका लागि करिब ५ लाख रुपैयाँ पुँजी चाहिने अनुमान छ। सामान्य ढंगले कुनै एक प्रकारको पाउँ मात्रै उत्पादन गर्ने हो भने करिब ४० हजार बाटै अघि बढ्न सकिन्छ।
हालका दिनमा मानिसको खाने बानीमा फरकपन आएको छ। यसको कारण दालमोठ, भुजिया, फुरनदाना, आलुचिप्स, बदाम, भटमास फुराउने र भुजा उद्योग पनि सम्भाव्य देखिएका छन्। यस उद्योगका लागि करिब ७ लाख रुपैयाँ पुँजी चाहिन्छ। यसमा पनि गुणस्तरीय उत्पादन र आकर्षक प्याकेज भए राम्रो बजार पाउने प्रशस्त सम्भावना छ।
केही स्वरोजगारका स्किममा सामान्य पुँजी भए पनि पुग्ने देखिन्छ। ठेलाको व्यापार त्यसैमध्ये एक हो।
ठेलामा हरियो तरकारी, आलु, प्याज, फलफूलसहित नर्सरीका बिरुवा, साबुन र फिनेल लगायत वस्तु पनि बिक्री गर्न सकिन्छ। यसरी बिक्री गर्न नगरपालिकाले तोकेको क्षेत्रमा जानुपर्छ।
यसको सट्टा सानो चटपटे उद्योग सञ्चालन गर्ने भए करिब ५० हजार रुपैयाँको पुँजीले पुग्छ।
अलिक राम्रै बेकरी उद्योग सञ्चालन गर्ने भए करिब १५ लाख बीउ पुँजीको खाँचो पर्छ। यस उद्योगबाट प्याटिज, ड्राई केक, साधारण केक, पाइनापल अपसाइड डाउन केक, फ्रुट केक, क्यारोट केक, बर्थ डे केक, कुकिज, कोकोनट कुकिज, कार्टब्रेड बिस्कुट, डोनट, चकलेट ब्राउनी, जिन्जर स्न्याप्स, पाउरोटी र बन उत्पादन गर्न सकिन्छ।
यीमध्ये कुनै एउटा मात्रै उत्पादन गर्ने उद्योग खोल्ने हो भने करिब १ लाख पुँजीले पुग्छ।
यसैगरी करिब ४ लाखको बीउ पुँजीमा ललीपप र चकलेटका कन्फेक्सनरी उद्योग सञ्चालन गर्न सकिन्छ भने करिब ११ लाख लागतमा पुष्टकारी, गुँदपाक, तितौरा, पनिर र खुवा उद्योग सञ्चालन गर्न सकिन्छ।
नेपालका ७ सय ५३ स्थानीय तह यसमा अघि सरेर ठाउँ सुहाउँदो स्किममा युवाहरूलाई तालिम दिएर स्वरोजगारका लागि बीउ पुँजीसहित उत्प्रेरित गर्नुपर्छ।
स्वरोजगारका लघु उद्योगमा रसवरी, लालमोहन, जेरी, बुनियाँ, पुरीतरकारी र पानीपुरी उद्योग पनि सञ्चालन गर्न सकिन्छ।
नेपालमा आइसक्रिमको खपत पनि बढ्दै गएको छ। करिब १५ लाखको बीउ पुँजीमा आँपको आइसक्रिम, भेनिला आइसक्रिम, स्ट्रबेरी आइसक्रिम, चोकोबार आइसक्रिम, कुल्फी आइसक्रिम, बटरस्कच आइसक्रिम र चक्लेट आइसक्रिम उद्योग सञ्चालन गर्न सकिन्छ।
यीमध्ये कुनै एउटा मात्र उत्पादन गर्ने हो भने करिब डेढ लाख पुँजीले पुग्छ। कुनै एक पालिकाले ५–७ जना युवालाई डेढ लाखका दरले पुँजी उपलब्ध गराई सामूहिक रूपमा एउटा–एउटा उत्पादनको जिम्मेवारी दिने उद्योग स्थापना गर्न सक्छ।
नेपालमा गुन्द्रक, मस्यौरा, पापड, तोफू, चाउमिन र सिस्ने धुलोको उद्योग पनि करिब ७ लाख रुपैयाँ बीउ पुँजीमा सञ्चालन गर्न सकिन्छ।
त्यस्तै, करिब १२ लाखको बीउ पुँजीमा साबुन र सरफ उद्योग स्थापना गर्न सकिन्छ। यसमा लुगाधुने साबुन, भाँडा माझ्ने साबुन, झोल साबुन, ह्यान्ड वास, डिटर्जेन्ट पाउडर (सरफ) उत्पादन गर्न सकिन्छ।
यसमा पनि एउटा मात्रै वस्तु उत्पादन गर्ने हो भने करिब डेढ लाखको बीउ पुँजीले पुग्ने देखिन्छ।
फिनायल (कालो, सेतो), ट्वाइलेट क्लिनर, क्लिनिङ पाउडर उद्योग स्थापना गर्न करिब ८ लाख ५० हजार बीउ पुँजी आवश्यक देखिन्छ। यस्ता लघु उद्योगको उत्पादनले मुलुकको आयात प्रतिस्थापन गर्न मद्दत पुर्याउने छ।
नेपालमा मैनबत्ती उद्योग पनि स्थापना गर्न सकिन्छ। यसका लागि करिब ३ लाख रुपैयाँ बीउ पुँजी भए पुग्छ। ब्रिकेट उद्योग स्थापना गर्न करिब अढाइ लाखको पुँजी भए पुग्ने देखिन्छ।
अल्लो प्रशोधन तथा तयारी सामान उद्योग सञ्चालन गर्ने हो भने करिब १२ लाख आवश्यक पर्न सक्छ। केतुकी र केरा प्रशोधनबाट रेशा उत्पादन तथा विभिन्न सामान तयार गर्ने उद्योग स्थापना गर्न सकिन्छ। यसका लागि करिब १५ लाख पुँजी आवश्यक पर्नेछ।
बाँसका सामग्री उत्पादन गर्ने उद्योग करिब ५ लाखको बीउ पुँजीमा स्थापना गर्न सकिन्छ। ढाका बुनाई उद्योग ७ लाख पुँजीमा स्थापना गर्न सकिन्छ भने कुचो उत्पादन उद्योगका लागि १ लाख ५० हजार नै पर्याप्त हुनेछ।
साथै, सिलाइकटाइ उद्योग सञ्चालन गर्न १ लाख ५० हजार र फेब्रिक पेन्ट उद्योग सञ्चालन गर्न २ लाख आवश्यक पर्छ।
नेपालमा मौरीपालन तथा मह प्रशोधन उद्योग सञ्चालनको पनि राम्रो सम्भावना छ। यसका लागि करिब ४ लाख रुपैयाँ बीउ पुँजी भए पुग्छ। माटोको भाँडा बनाउने उद्योग सञ्चालन गर्न करिब ३ लाख भए पुग्छ।
मोटरसाइकल मर्मत उद्योग सञ्चालन गर्न करिब २ लाख भए पुग्छ भने अगरबत्ती उद्योग १ लाखकै लागतमा सञ्चालनमा ल्याउन सकिन्छ।
काष्ठ हस्तकला उद्योग ३ लाखको पुँजीमा सञ्चालन हुन सक्छ भने टिका बिन्दीया बनाउने उद्योग सवा लाखको बीउ पुँजीमा सञ्चालनमा आउन सक्छ। सुकुल बुनाई उद्योग सञ्चालन गर्न ८० हजार भए पुग्छ भने हाउस वायरिङको काम गर्न ९० हजार चाहिन्छ।
प्लम्बिङ/स्यानिटरीको काम थालनी गर्ने हो भने करिब ९० हजार जुटाए पुग्छ भने मोबाइल मर्मत पसल खोल्न करिब ३ लाख जरुरत पर्छ। साथै, छ्वाली हस्तकला/ढाकी बुनाई उद्योग सञ्चालन गर्न करिब ५ लाखको बीउ पुँजी आवश्यक पर्ने देखिन्छ।
धातुजन्य उद्योग स्थापना गरी खुकुरी, करुवा, गाग्री, थाल उत्पादन गरेमा राम्रै बजार पाइन्छ। यसका लागि करिब १५ लाखको बीउ पुँजी आवश्यक पर्छ। गलैँचा बुनाई उद्योग सञ्चालन गर्न १२ लाख र जुट आदिको झोला बुनाई उद्योग सञ्चालन गर्न ५ लाखको बीउ पुँजी जरुरत पर्छ।
पुरुष कपाल कटाई पसल सञ्चालन गर्ने हो भने ३ लाख र ब्युटीपार्लर स्थापना गर्न करिब साढे तीन लाख रुपैयाँको बीउ पुँजी जरुरत पर्छ।
यी काम गर्न करिब तीन महिनाको तालिम पर्याप्त हुने देखिन्छ। यस्तो पेसा अंगालेपछि जीवनभरि आफ्नै खुट्टामा उभिन सकिने हुन्छ। आफ्नो आर्थिक क्षमता वृद्धि भएपछि ठूलो पुँजीमा ठूलै उद्योग वा पसल सञ्चालनमा ल्याउन सकिने हुन्छ।
नेपालमा फलफूल प्रशोधन उद्योग स्थापनाको पनि राम्रो सम्भावना छ। यसका लागि करिब ५ लाख रुपैयाँ बीउ पुँजी भए पुग्छ। यसैगरी तरकारी प्रशोधन गर्ने उद्योग स्थापना गर्न करिब अढाई लाख लाग्ने देखिन्छ।
होजियारी बुनाई उद्योग सञ्चालन गर्न पनि करिब अढाई लाख नै बीउ पुँजी भए पुग्छ, तर मिथिला आर्टको काम गर्न भने करिब ५ लाख आवश्यक पर्नेछ।
यस अतिरिक्त फोटोकपीको सेवा दिने पसल, फोटो खिच्ने पसल र ड्राईक्लिन सप पनि स्थापना गर्न सकिन्छ।
पत्रपत्रिका बिक्री गर्ने, तरकारी संकलन र कटिङ गरी प्याकेजिङ गर्ने, खाद्यान्नको होम डेलिभरीजस्ता कामको पनि राम्रै सम्भावना छ। जडिबुटीको कारोबार, होमस्टे सञ्चालन, बुटिक पसल, च्याउ खेती, माछापालन, बंगुरपालन, कुखुरापालन, बट्टाई खेतीको पनि राम्रो बजार उपलब्ध छ।
यसैगरी ड्राइभिङ पेसा, गार्डको काम, सुपथ मूल्य पसल सञ्चालन लगायतको काम गर्न सकिन्छ।
स्थानीय निकायले तत्कालै कम्तिमा एउटा कोसेली घर स्थापना गरेर यस्ता स्थानीय सामाग्री संकलन गरी बिक्री गर्न सक्छन्। यसबाट स्वरोजगार कार्यक्रमको प्रवर्द्धन हुनेछ।