दाङ, तुलसीपुर बसपार्कबाट उकालो लाग्नेबित्तिकैको पहिलो चोक। उज्यालो रङ पोतिएको दुई तले घरको सटर। भित्र टेबल-कुर्सी मिलाएर राखिएका छन्।
यो 'जुस बार एन्ड रेस्टुरेन्ट' हो। रेस्टुरेन्ट घरधनीकै छोराहरूले चलाइरहेका छन्। एक महिनाअघिसम्म यहाँका पाँचै सटर भाडामा थिए। दैनिक उपभोग्य सामग्री बिक्री हुन्थ्यो।
भारतमा काम गर्दै आएका दाजुभाइ नन्दप्रसाद र भूपेन्द्र डाँगीले सटर खाली गराए। उनीहरू रेस्टुरेन्ट खोल्न तम्सिँदा आमा चिजमालीलाई चित्त बुझेन। भाडाबापत महिनामा ६० हजार रुपैयाँ आउँथ्यो। छोराहरूको लहडले त्यो पनि गुम्ला भन्ने चिन्ता चिजमालीलाई थियो। तै दाजुभाइले ढिपी छाडेनन्।
डाँगी दाजुभाइ भारतका होटल तथा रेस्टुरेन्टमा सेफ थिए। घरमै रेस्टुरेन्ट खोल्न भनेर कामधाम छाडेर फर्किएका। एक महिना भयो यो रेस्टुरेन्ट खुलेको। यो एक महिनामा भएको व्यापार देखेर आमा चिजमाली दंग परेकी छिन्। छोराहरूको काममा सघाउन थालेकी छिन्। चिजमालीका श्रीमान भने भारतै ठेक्कापट्टाको काम गर्छन्, प्राय: उतै बस्छन्।
'सबै खर्च कटाएर मासिक अढाइ लाख नाफा भयो,' २६ वर्षीय भूपेन्द्रले भने, 'दैनिक कारोबार २२ देखि ३० हजारसम्म भइरहेको छ। यो देखेपछि आमाले सहयोग गर्न थाल्नुभयो।'
सामान्य रेस्टुरेन्टले त्यस्तो के परिकार पस्कियो जसले उनीहरूलाई यत्तिको कमाइ दियो?
'नेपालमा सहजै पाइने चिजबाट बिरलै पाइने खानाका परिकार बेच्छौं,' ३० वर्षीय नन्दप्रसादले भने, 'योबाहेक विभिन्न फलफूल-तरकारीका जुस। नयाँ स्वाद, सुपथ मूल्य भएकाले होला, ग्राहकहरू आकर्षित हुनुभएको छ।'
यहाँ बिहान जुस, मध्यान्हतिर खाना र साँझपख म:म लगायत परिकार खान ग्राहकहरू आउँछन्।
यी त सामान्यै परिकार भए नि?
'हो, तर मःम, चाउमिन बजारमा पाइने जस्तो आँटा-मैदाको होइन। जुस पनि अनेकथरी छन्,' उनले भने।
उनका अनुसार यहाँ कोदोको म:म पाइन्छ। चाउमिन पनि कोदाकै। भेज र ननभेज दुवै स्वादमा। यति मात्रै होइन, भारतीय खाना डोसा र पराठा पनि कोदाकै हुन्छ। आँटा-मैदाको ठाउँमा उनीहरूले यहाँको रैथानै खाद्यान्नलाई आकर्षक ढंगमा पस्किएका हुन्।
उसो त यहाँ पाइने अरू खानेकुरा पनि सामान्य नै छन्। टुसा उम्रेको मुङ र चनाको दाल, सिस्नोका परिकार, उसिनेको मकै लगायत यहाँ 'ब्रेक फास्ट'का रुपमा खान पाइन्छ।
'घरमा जस्तो खाना खाइन्छ, त्यस्तै दिन्छौं। अजिनो-मोटो र मसला पनि हाल्दैनौं,' भूपेन्द्रले दावी गरे, 'कसैले पहिले नै 'अर्डर' गरेपछि मात्रै चट्ट वा अमिलो-पिरो बन्छ।'
बिहान ब्रेकफास्टसँगै यहाँ घ्यूकुमारी, ड्र्यागन फ्रुट, किवी, गाँजर, चुकन्दर, एभोगाडो, स्ट्रबेरी, स्याउ, अंगुर, जमरा, अमलादेखि करेला, लौकासम्मको जुस पाइन्छ। केही फलफूल-तरकारी नेपाली बजारबाट र केही भारतबाट जुटाउँछन्।
'काठमाडौं, दिल्ली र चण्डीगढमा हामीले महिनावारी तलबमा तीन जना मान्छे राखेका छौं। उनीहरूले नै आवश्यक फलफूल-तरकारी पठाइदिन्छन्,' भूपेन्द्रले भने।
जुसमध्ये सबभन्दा महंगो ड्र्यागन फ्रुट र किवीको भएको बताए। ड्र्यागन फ्रुट अमेरिकातिर पाइने फल हो जुन नेपालमा यत्रतत्र छैन।
'भारतबाट यहाँसम्म ल्याउँदा किलोको १५ सय रुपैयाँ पर्छ। त्यही भएर अलि महँगो परेको,' उनले भने। ड्र्यागन फ्रुट एक गिलास जुसको दुई सय रूपैयाँ पर्ने उनले बताए।
ड्र्यागन फ्रुट क्यान्सर, सुगर भएका व्यक्तिले समेत खान मिल्ने बताइन्छ। अहिले दाङका केही स्थानमा यसको व्यावसायिक खेती सुरू भएको छ।
धेरै प्रकारका जुस पाइने हुनाले उनीहरूले 'जुस बार एन्ड रेस्टुरेन्ट' नाम दिएको बताउँछन्। नेपालीहरूका लागि अनौठा फलफूल-तरकारीको मात्रै होइन, दैनिकजसो खाने आलुको समेत जुस पाइन्छ।
आलुको ३० एमएल जुसको ४० रूपैयाँ र आलु सेक जुस २५० एमएलको ५० रुपैयाँ तोकिएको छ। आलुको त सेकुवा पनि पाइने उनले बताए।
'भुइँकटर, तर्वुजा, केरा, सुन्तला लगायत उपलब्ध भए जति सबैजसो फलफूलको जुस बेच्छौं,' भूपेन्द्रले सुनाए।
झन्डै २० लाख लगानीमा खोलिएको 'जुस बार एन्ड रेस्टुरेन्ट' दाङको पहिलो जुस बार भएको डाँगी दाजुभाइ बताउँछन्। सिजनमा ऊखु-जमरा लगायतका जुस बेच्ने पसल भए पनि यति विविधता भएको थिएन।
योबाहेक नन्दप्रसाद र भूपेन्द्र आफैंले नाम दिएर बनाएको परिकार हो 'ऊखु डन्डा चिकेन'। यसमा ऊखुको भित्री डाँठमा कुखुरा मासु बेरेर परिकार तयार पारिने उनीहरूले जानकारी दिए।
यस्तो परिकारहरूको आइडिया कसरी आयो त?
'छ महिनाअघि म घर आएको थिएँ। जुस खान मन लागेर बजारभर खोजेंँ। कतै भेटिनँ। बुझ्दा जिल्लामै जुस बार छैन भन्ने थाहा पाएँ। पछि आफ्नै घरमा खोल्ने योजना बन्यो।'
दाजुभाइ दुवैले भारतमा ८ वर्ष जति काम गरेका थिए। नन्दप्रसाद जुस बारमा सेफ, भूपेन्द्र रेस्टुरेन्टमा। त्यही सीप यहाँ ल्याएर नौलो तरिकाले पस्किएको उनीहरू बताउँछन्।
उनीहरुको पुर्ख्यौली घर रोल्पाको पछावाङ हो। बाबु भारतमै काम गर्थे। आमा चिजमाली पनि उतै थिइन्। कान्छा छोरा भूपेन्द्र दुई वर्षका भएपछि चिजमाली दाङ आइन्। भूपेन्द्रको एसएलसी र बाँकी पढाइ भारतमै भयो। नन्दप्रसाद पनि उच्च शिक्षाका लागि गए। दाजुभाइले उतै काम गर्दै होटल म्यानेजमेन्टमा स्नातक गरेका छन्।
अहिले 'जुस बार एन्ड रेस्टुरेन्ट'मा डाँगी दाजुभाइ बाहेक दस जना कर्मचारी छन्। मासिक तलबका कर्मचारीहरू प्राय: कलेज पढ्ने विद्यार्थी हुन्। काम बढेकाले अझै कर्मचारी थप्नुपर्ने अवस्था आएको भूपेन्द्र बताउँछन्।
ग्राहकहरूले यस्तै जुस बार घोराही, लमही जस्ता अरू प्रमुख सहरमा पनि खोल्न सुझाउने गरेका छन्। सल्यान, रोल्पाकाले समेत आग्रह गर्न थालेको भूपेन्द्रले बताए।
'यता जुस बारको राम्रो सम्भावना छ। ग्राहक अर्कोपटक आउँदा अरू मान्छे समेत लिएर आउनुहुन्छ,' भूपेन्द्रले भने, 'भएकै कुराहरूलाई नयाँ तरिकाले पेश गर्दा मान्छे आकर्षित हुने रहेछन्।'
सबै तस्बिरः नारायण खड्का/सेतोपाटी