तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ राजापुर निवासी पुष्पा भण्डारीले आमा र हजुरआमाले दुना टपरी गाँस्दै आएका मात्र देखेकी थिइन्।
गाउँ घरमा अझै पनि कुनै पनि चाड पर्व, उत्सव होस् कुनै रितिरिवाजमा गाउँभरिका महिला दिदी बहिनी भेला भएर आँगनमा बसेर दुना टपरी गाँस्ने चलन कायमै छ।
यो देख्दै र गर्दै आएकी पुष्पालाई मेसिनले छिनभरमै फटाफट दुना टपरी बनाइन्छ भन्ने थाहा नै थिएन न नै देखेकी थिइन्।
तर अहिले भने उनी आफैं मेसिन चलाएर फटाफट दुना टपरी तयार पार्छिन्।
यो अवसर जुराइदिएको हो,तुलसी दुना टपरी उद्योगले।
पुष्पाले दुना टपरी उद्योगमा काम गर्न लागेको आधा महिना जतिमात्रै भयो।
कसरी जुर्यो त उद्योगमा काम गर्न?
राजापुर गाउँमै दुना टपरी बनाउने मेसिन आएको उनले खबर पाइन्। आश्चर्य मानेर हेर्न गइन्। मेसिनले एकैछिनमा फटाफट दुना टपरी बनाएको देख्दा उनी दंग परिन् तर धित मरेन उनी पटकपटक हेर्न गइन्। त्यही दौरान उनलाई काम गर्न इच्छा जाग्यो अनि प्रस्ताव राखिन्।
तुरुन्तै काम पनि पाइन्। उनीमात्र होइन् अन्य चार जनाले पनि त्यहाँ काम पाएका छन्।
‘त्यसै घरमा बसेर समय बिताउनु भन्दा दिदी बहिनी मिलेर काम गर्दा रमाइलो पनि हुने र कमाइ पनि हुन्छ,’ पुष्पाले भनिन्,‘बिहान घरको काम भ्याएर आउँछु र बेलुका फेरि बच्चा फर्किदा घर पुग्छु।’
यो उद्योगमा दुई वटा दुना टपरी बनाउने मेसिन छन्।
पुष्पा तलबमा होइन प्रतिशतको आधारमा काम गर्छिन्। अर्थात् जति समय खट्यो। जति बनाउन सक्यो उति नै कमाउँछिन्।
‘पात लिन जंगल जानु पर्यो। दिनभरि लगाएर पात खुट्दा ५० पिस पनि बन्दैन थियो। मेसिनबाट त एक सेकेन्डमै बनिहाल्छ,’ पुष्पाले भनिन्, ‘एक घन्टामा दुई सय पिस तयार हुन्छ।’
सुरू सुरूमा काम गर्दा पुष्पालाई मेसिनले हात पोलिहाल्छ कि? भन्ने डर लाग्थ्यो। तर अहिले काममा अभ्यस्त भइसकिन्।
‘माथि जाँदा पात राखिदिने र तल खुट्टाले च्यापदिने अनि मेसिन तल झर्छ,’ मेसिन चलाउने विधिबारे बेलिविस्तार लगाइन्।
स्थानीय वन जंगलमा त्यसै कुहिएर खेर जाने सालको पातबाट दुना टपरी बनाइन्छ। गाउँघरका महिलाले सालको पात टिपेर बेच्ने गर्छन्। यो काइदाको रोजीरोटी बनेको छ उनीहरूका लागि पनि।
उनीहरूले पात गाँसेर (सिन्काले जोडेर) थोरै आकार पहिले नै तयार पारिदिएका हुन्छन्। त्यसलाई मेसिनमा हालेपछि फटाफट दुना टपरी तयार हुन्छ।
‘एक घन्टामा दुई सय जति दुना बनाउँछु। टपरी भने एक घन्टामा १५ वटा मात्रै तयार हुन्छ,’ पुष्पाले भनिन्।
यसरी स्थापना भयो दुना टपरी उद्योग
तुलसी दुना टपरी उद्योग गत साल मात्रै स्थापना भएको हो। यो उद्योगमा तुलसीपुर उपमहानगरपालिकाको ७५ प्रतिशत अनुदान छ। अरू १३ जनाले २५ प्रतिशत रकमको खर्चिएर उद्योग स्थापना गरेका हुन्। अध्यक्ष भीमबहादुर खत्री जागिरको सिलसिलामा जिल्ला बाहिर गएपछि उद्योग सम्हाल्ने जिम्मा पाए ६२ वर्षीय बासुदेव आचार्यले।
उनी स्थानीय गैराखाली सामुदायिक वनको सचिव पनि हुन्। केही समयअघि राजापुरस्थित आफ्नै घरमा ल्याएर उनले काम थाले। सुरूमा बरुवा गाउँमा उद्योग थियो। कच्चा पदार्थ ( खरिद गरिएको सालको पात) भण्डारण गर्न सजिलो हुने भएकोले राजापुरमा सारिएको उनी बताउँछन्।
‘अब घर भाडा पनि विशेष राहत हुने छ र कच्चा पदार्थ भण्डारण गरेर राख्न पनि सहज भएको छ,’ अचार्यले भने, ‘रेखदेख गर्न पनि सजिलो भएको छ। बिहान र साँझ अबेर जतिबेला पनि काम गर्न सकिन्छ।’ तुलसीपुरका मेयर घनश्याम पाण्डेको उद्योग स्थापनामा महत्वपूर्ण योगदान छ।
‘उद्योग स्थापना गर्ने प्रेरणा नै मेयर पाण्डेले दिएका हुन्,’ आचार्यले भने। पाण्डे मेयर हुनुभन्दा पहिला सामुदायिक वनमै क्रियाशील थिए। देश विदेशमा उनको पहिचना वनकै माध्यमले स्थापित भएको थियो। जंगलमा खेर गएका सालका पातलाई सदुपयोग गर्दा स्थानीयलाई आय आर्जनको राम्रो अवसर हुन सक्ने संभावना देखेरै मेयरले यो प्रस्ताव समुदायमा राखे। आफूले अनुदानसमेत दिने बताए।त्यसपछि उद्योगले मूर्त रूप पाएको हो।
अनुभव नभएकोले पहिलो वर्ष उद्योगले घाटा व्यहोर्नुपर्यो। त्यसपछि भने व्यापारमा सुधार आएको उनी बताउँछन्।
अध्यक्षका अनुसार हाल उनीहरूको गोदाममा ७० हजार बराबरको पात स्टक छ।
शान्तिनगर गाउँपालिका, पवननगर, डाँडाखुटी, दमारगाउँ क्षेत्रका झन्डै ७५ जना बढी महिलाहरूले बेच्न ल्याउने गरेको अध्यक्ष आचार्यले जानकारी दिए।
पात बेच्न आउने महिलाबाट म:मको दुना बन्ने पातलाई प्रतिपिस ६० पैसा, चाटको दुनालाई ३५ पैसा र टपरीको प्रतिपिसलाई १ रुपैयाँमा खरिद गर्ने गरेको अध्यक्ष आर्चाले बताए।
बजारमा विक्री गर्दा १०० पिस चाट दुनाको ८० रुपैयाँ, म:मको १०० पिस दुनाको १२० रुपैयाँ र १०० पिस टपरीलाई दुई सय ५० रुपैयाँमा कारोबार हुँदै आएको उनी बताउँछन्।
उद्योग स्थापना भएपछि स्थानीय बजारमा मात्रै १ लाख ३० हजार बराबरको दुना टपरी विक्री भएको छ।
‘बजार राम्रो छ। हामी निकै उत्साहित छौं। अलिकति प्रचार प्रसारको अभाव भएको हाम्रो अनुभव छ,’ आचार्यले भने।
प्राकृतिक सालको पातबाट उत्पादित दुना टपरी प्लाष्टिकका दुना टपरी भन्दा तुलानात्मक रूपमा ५/१० रुपैयाँ १०० पिसमा महँगो पर्ने गर्छ। तर स्वास्थ्यका दृष्टिकोणले सालको पातको दुना टपरी लाभदायक रहेको आचार्यको दाबी छ।
‘अर्कोतर्फ स्थानीय उत्पादन र उद्योगलाई सबैले माया गर्नुपर्छ। यसले यहाँ धेरैलाई रोजगारीको अवसर सृजना गरेको छ। यस्ता उद्योगहरू अरू पनि थपिँदै गए त्यसले समाजमा थप रोजगारीका अवसर सृजना गर्ने छ,’ अध्यक्ष आचार्यले भने।
निकट भविष्यमै आचार्यले अब आफूहरू प्लाष्टिकको दुना टपरीसँग प्रतिस्पर्धा गर्ने गरी समान मूल्य तोकेर अगाडि बढ्ने गृहकार्य भइसकेको बताए।
सालका पातबाट टपरी बनाउने ‘तुलसी दुना टपरी उद्योग’ जिल्लाकै पहिलो उद्योग हो।
आजकाल सबैतिर प्लाष्टिक वस्तुको बिगबिगी छ। सहज र सस्तो हुने गर्दा यसको प्रयोग बढ्दो छ तर प्लाष्टिक नकुहिने हुँदा त्यसको प्रयोगले वातावरणमा ठूलो समस्या निम्त्याइरहेको छ।
प्लाष्टिकको प्रयोगले वातावरणका साथै स्वास्थ्यमा समस्या निम्त्याउने विज्ञहरूले बताउँदै आइरहेका छन्।
अर्कोतर्फ प्राकृतिक सालको पातबाट निर्मित दुना टपरीको प्रयोगले स्वास्थ्यमा कुनै पनि असर गर्दैन। सालको पात सहजै कुहिन्छ र माटोमा मिल्छ। त्यसैले वन जंगलमा त्यसै खेर जाने सालको पातबाट दुना टपरी बनाउने यस्ता उद्योगहरू अरू पनि थपिँदै जाने हो भने त्यसले समाजमा थप सकारात्मक ऊर्जा प्रदान गर्छ।