दाङको तुलसीपुर क्षेत्रमा सहर बजारका छाडा पशु चौपाया पाल्नको लागि सहकारी संस्था गठन गरिएको छ।
तुलसी गौसाला तथा सरसफाई व्यवस्थापन बहुउदेश्य सहकारी संस्थाले बजार क्षेत्रका छाडा गाईगोरु लगेर व्यवस्थित गर्न थालेको छ। केही दिन मात्रै यो सहकारीले तुलसीपुर बजार क्षेत्रमा फेला परेका डेढ सय बढी गाई गौशालामा लगेको छ।
फागुन २९ गते दर्ता भएको सहकारीले बजार क्षेत्रका छाडा गाईगोरु व्यवस्थापनको काम सुरु गरेको छ। जसको नेतृत्व युवा वीरबहादुर भण्डारीले गरेका छन्। सहकारीमा सेयरवापत हाल व्यक्तिगत ४० लाख रुपैयाँ बढी संकलन भइसकेको छ।
त्यसमा तुलसीपुर उपमहानगरपालिकाले सेयर लिइ थप १५ लाख रुपैयाँ थपिदिएको छ। हालसम्म सहकारीमा ५५ लाख जतिको कोष जम्मा भइसकेको छ।
सहकारीमा एक सय पाँच जना सेयर सदस्य छन्। यसमा प्रवेश गर्न पाँच सय प्रवेश शुल्क लाग्छ। दश हजार रुपैयाँको एकसय कित्ता सेयर किन्न पाइन्छ। तुलसी गौसालमा यस क्षेत्रका प्रतिष्ठित उद्योगी व्यापारीले पनि लगानी गरेका छन्। एकलाख भन्दा बढी सेयर लगानी गर्ने झन्डै ३० जनाको हाराहारीमा छन्। बाँकीले क्षमता अनुसार सेयर राखेका छन्।
तीन वर्ष अगाडि तुलसीपुर ६ गोलौरामा केही समाजिक र धार्मिक व्यक्तिहरु मिलेर खोलेको गौशालाई हाल सहकारीमा रुपान्तरण गरिएको छ। राष्ट्रिय गाई संरक्षण अभियानमा लगिएका गाईको व्यवस्थापनमा कठिनाई उत्पन्न हुन थालेपछि ती गाईहरुको उचित लालन पालन गर्ने उद्देश्यले सहकारी गठन गरिएको नारायणप्रशाद रेग्मीले बताए।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा आनन्द सारु आएपछि उनैले सहकारी मार्फत छाडा गाई गोरु व्यवस्थापनको जुक्ति सुझाएको गौसंरक्षण सहकारीका सदस्य रेग्मीले बताए। बजारमा दिनहुँ छाडा गाईगोरुको संख्या थपिदै जाँदा व्यवस्थापनमा स्थानीय सरकारलाई चुनौती बन्दै गएपछि उनले त्यो जुक्ति सुझाएका थिए।
गौलौरामा तीन बिघाजति जग्गा भाडामा लिएर अस्थायी रुपमा गौशाला निर्माण गरिएको छ। जहाँ गाईको रेखदेखको लागि ६ जना मानिसहरु मासिक तलवमा राखिएको छ। दिर्घकालिन रुपमा व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिका वडा नं १३ फूलवारीमा ६ बिघा जग्गामा ठूलो गौशाला निर्माण गर्न थालिएको छ।
तुलसीपुर उपमहानगरपालिकाको झन्डै साढे २ बिघा जति जग्गा २० बर्षको लागि भाडामा सहकारीले लिएको छ भने सहरकारी आफैले खरिद गरेको ४ बिघा जग्गा प्रयोग गर्न लागिएको अध्यक्ष भण्डारीले बताए।
यो सहकारीको उद्देश्य सहर बजारमा समस्याको रुपमा रहेका गाई गोरुको व्यवस्थापन गर्दै त्यसबाट मुनाफा लिनु पनि रहेको छ। गाईको मल मुत्रलाई संकलन गरेर बिक्री गर्ने तथा सहकारी मार्फत अर्गानिक खेती गर्ने उद्देश्य रहेको अध्यक्ष भण्डारीले बताए। ‘गाईको मलमुत्र बेचेर आम्दानी गर्ने, अर्गानिक तरकारी खेती गर्ने र फोहरबाट बायोग्यास उत्पादन गर्ने हाम्रो दिर्घकालिन लक्ष्य छ,’ अध्यक्ष भण्डारीले भने।
उनले भविस्यमा तुलसीपुर उपमहानगरको फोहर व्यवस्थापनको जिम्मा पनि सहकारीले नै लिने गरी तयारी भइरहेको बताए। तुलसीपुर नगरले दिर्घकालीन रुपमा फोहर व्यवस्थापनको लागि हालसम्म व्यवस्थित डम्पिङ साईड फेला पार्न सकेको छैन। भविस्यमा उपमहानगरले फोहर व्यस्थापन गर्न समस्या झेल्नु नपरोस भनेर सहकार्य गरेर अगाडि बढ्ने सोचका साथ सहकारी गठन भएको भण्डारीले बताए।
त्यसको अलवा सहकारीले सबै गाईहरुको बीमा गराएर दूधालू गाईबाट दूध उत्पादन गरेर बिक्री वितरण गर्ने सोच पनि बनाएको छ। त्यसैगरी कुनैपनि किसानले उपयोगिता पछि यदी कुनै गाई गोरुलाई गौशालामा लगेर छोड्न चाहन्छ भने उसले निश्चित शुल्क तिर्नुपर्ने नियम राखिने बस्नेतले बताए।
‘हाल कति शुल्क लिने भन्ने निर्धारण भइसकेको छैन। फूलवारीमा हाम्रो व्यवस्थित गौशाला तयार भएपछि मात्रै यो सबै कुराहरु लागु गर्ने छौं,’–अध्यक्ष भण्डारीले भने। सहकारीमा इच्छुक जो कोहीलाई पनि प्रवेश खुल्ला गरिएको अध्यक्ष भण्डारीले बताए।
कुनैपनि समस्यामा अवसर पनि सँगै आउने बताउँदै उनले त्यो व्यवस्थापन गर्ने दायित्व समाजले लिनुपर्ने बताए। बजार क्षेत्रका छाडा चौपाया व्यवस्थापन गर्न सहकारी गठन हुनु र त्यही कार्यको लागि ५५ लाख बढी रकम एकाध महिनामै जम्मा हुनु सुखद पक्ष मान्नुपर्ने भण्डारीले बताए। फूलवारीको गौशाला निर्माण पुरा भएपछि बजार क्षेत्रमा छाडा गाईहरु सबै त्यही लैजाने सहकारीको उद्देश्य छ।