एक पालिका एक उद्योगग्राम स्थापना गर्ने नेपाल सरकारको योजना अनुरुप रुपन्देहीको तिलोत्तमा नगरपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि प्रकृया सुरू गरेको छ।
सरकारले चालु आर्थिक वर्षमा उपमहानगरपालिका बाहेक देशका ३२ पालिकामा उद्योगग्राम स्थापनाको लक्ष्य लिएको छ। सोही अनुरुप रुपन्देहीको तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा उद्योग ग्राम स्थापनाको लागि संघीय सरकारले अनुदान समेत उपलब्ध गराइसकेको छ।
उद्योगग्राम स्थापनाको लागि छनोट भएको पालिकालाई नेपाल सरकारले चालु आर्थिक वर्षमा प्रति पालिका ९२ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने छ।
तिलोत्तमा नगरपालिकाले नेपाल सरकारको अनुदान तथा आफ्नै आन्तरिक स्रोतबाट रकम संकलन गरी नगरपालिकाको वडा नंं १० मा तिलोत्तमा औद्योगिक ग्राम स्थापनाको तयारी गरेको हो।
वडा नंं १० को रोहिणी नदी पुलसँगै जोडिएको उत्तरतर्फको १५ विघा क्षेत्रफलमा स्थापना गर्न लागिएको उद्योग ग्रामको डिपिआर बनाइँदैछ। सो डिपिआरबारे नगरपालिकाले यहाँका उद्योगी व्यवसायीसँग सोमबार छलफल गरेको छ।
नगरप्रमुख बासुदेव घिमिरेले उद्योगग्राम स्थापनाको लागि नगरपालिकाले छुट्याएको जग्गाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विज्ञ टोलीले निरीक्षण गरेर स्वीकृत गरेपछि डिपिआरको काम अगाडि बढाइएको हो।
नगरप्रमुख घिमिरेले अहिले अगाडि सारिएको औद्योगिक ग्रामको अवधारणा साना तथा मझौला उद्योगहरुका लागि भएको जानकारी दिए। हालै सम्पन्न लगानी सम्मेलनपछि तिलोत्तमामा उद्योग स्थापना गर्न ईच्छुक लगानीकर्तालाई सोही उद्योगग्राममा जग्गा उपलब्ध गराइने घिमिरेले जानकारी दिए।
उद्योग ग्रामको लागि छुट्याइएको स्थानमा ३० विघा जग्गा रहेकोले आवश्यकताअनुरुप आगामी वर्षहरुमा क्षेत्र विस्तार समेत गर्न सकिने उनले बताए।
बेलहिया बुटवल व्यापारिक मार्गको मंगलापुर देखि सात किलोमिटर पुर्वतर्फ कान्छीबजार–रोहिणी सडकमा पर्ने उक्त उद्योग ग्राममा ३० वटा दुई कठ्ठाका प्लट र ३ वटा ५ कठ्ठाका प्लटमा उद्योग स्थापना गर्न सकिने छ।
उद्योग ग्राममा ६० प्रतिशत संघीय सरकारको र ४० प्रतिशत प्रदेश र स्थानीय तहको लगानी रहने नगरप्रमुख घिमिरेले बताए। प्रारम्भिक मास्टरप्लान प्रस्तुत गर्दै आर्किटेक नितेश पौडेलले ४० प्रतिशत क्षेत्रमा पार्किङ, सडक तथा हरियाली र ६० प्रतिशत क्षेत्रमा उद्योग स्थापना गरिने जानकारी दिए।
उद्योगग्राममा बीमा, स्वास्थ्यचौकी, चमेनागृह, बालबालिका स्याहार केन्द्र, उद्योग ग्रामका कर्मचारी तथा उद्योगका कामदारको लागि आवास गृह, बालउद्यान, पार्किङ, फायर स्टेशन, मेकानिकल मर्मत केन्द्र लगायतका संरचना निर्माण गरिने छन्।
नगरपालिकाले औद्योगिक ग्राम, नगर तालिम केन्द्र, सीपमूलक तालिम सञ्चालन समेतका कार्यक्रम कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा उद्योग क्षेत्र शीर्षकमा १ करोड २१ लाख रकम विनियोजन गरेको छ। यसका अतिरिक्त असल औद्योगिक वातावरणका लागि आर्थिक ऐनमार्फत कर छुटको समेत व्यवस्था छ।
न्यूनतम १० जना नगरबासीलाई रोजगारी दिने उत्पादनमूलक उद्योगहरु चालू वर्षमा सुरु भएमा आगामी ३ वर्षसम्म लाग्ने व्यावसायिक करमा २० प्रतिशत छुट दिने, कम्तिमा ५० जना नेपाली नागरिकलाई रोजगारी दिने, उत्पादनमूलक चालू उद्योगको नाममा रहेको जमिनमा लाग्ने सम्पत्ति करमा १५ प्रतिशत छुट, अपाङगता भएका व्यक्तिले सञ्चालन गरेको उद्योग÷व्यवसायमा तोकिएको करमा ५० प्रतिशत छुट दिने नीति नगरपालिकाले अवलम्वन गरेको छ।