औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलाले आफ्नो कार्यकालमा देशका सबै औद्योगिक क्षेत्रका समस्या समाधान गर्ने दाबी गरेका छन्।
बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको ४५औं वार्षिकउत्सव कार्यक्रममा महाप्रबन्धक सिटौलाले २/४ महिना समय लागेपनि विद्युत, ढल, सडक नाली लगायतका समस्या आफ्नै कार्यकालमा समाधान गर्ने दावी गरे।
‘औद्योगिक क्षेत्रभित्र अब कच्ची सडकमा हिड्नुपर्ने छैन, विद्युत, ढल र नालीको समस्या पनि मेरै कार्यकालमा समाधान गर्ने छु।’ उनले भने।
महाप्रवन्धक सिटौलाले नजिकै रहेको जंगलका कारण बुटवल औद्योगिक क्षेत्र आगलागीको जोखिममा रहेको उल्लेख गर्दै सडक किनार र विद्युतको पोलसंगै रहेका रुखहरु हटाएर भएपनि औद्योगिक क्षेत्रलाई सुरक्षित गर्नुपर्ने बताए।
महाप्रबन्धक सिटौलाले बुटवलको औद्योगिक क्षेत्रले मात्र २१ सय बढीलाई रोजगारी दिएको जानकारी दिए। तीसंग ११ हजार व्यक्ति आश्रीत रहेकोले उनिहरुको रोजगारीको सुरक्षाको लागि पनि सरकारले उद्योगीका समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ।
उनले उद्योगीका समस्यालाई आफ्ना समस्या सम्झिएर काम गर्न व्यवस्थापन कार्यालयका कर्मचारीलाई आग्रह गरे।
विगत १५ वर्षदेखि बन्द अवस्थामा रहेको बुटवल धागो कारखाना र हेटौडा कपडा उद्योगलाई कसरी अगाडी बढाउने भन्ने विषयमा सरकारसंग छलफल भईरहेको उनले जानकारी दिए।
उद्योग मन्त्रालयका सचिव राधा वाग्लेले अरु क्षेत्रको अवस्था सुधारिदै जांदा उद्योग र औद्योगिक क्षेत्रको अवस्था खस्किदै जानु चिन्ताको विषय भएको बताइन्।
नेपाल उद्योग परिसंघका प्रदेश ५ संयोजक एजाज आलमले सरकारले नेपाली उद्योगको प्रवद्र्धन गर्ने हो भने सरकारी कार्यालयमा नेपाली उत्पादनको प्रयोग अनिवार्य गर्नुपर्ने बताए।
सरकारी क्षेत्रको सोंच उद्योग र उद्योगीप्रति सकारात्मक नभएको भन्दै उनले उद्योगीलाई डण्डा लगाएर उद्योग क्षेत्रको विकास हुन नसक्ने जिकिर गरे।सरकारले उद्योगीको सेवा उद्योगलाई टेवा भन्ने नारा लिएपनि सरकारी क्षेत्रको साेंच भने उद्योगमैत्री नभएको उनको गुनासो छ।
आलमले बन्द रहेको बुटवल धागो कारखानालाई अहिलेको अवस्था र त्यहां रहेको प्रविधिबाट चलाउन नसकिने भन्दै त्यसको स्थानमा १५/२० वटा उद्योग संचालन गर्न सकिने दाबी गरे।
बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख निमेश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रशासकिय प्रमुख चक्रपाणी शर्मा, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराईलगायतको उपस्थित थियो।
बुटवल १० मा रहेको औद्योगिक क्षेत्र उद्योग सञ्चालनका लागि साघुंरो गएकोले सरकार औद्योगिक क्षेत्रको विस्तारमा लाग्नुपर्ने उनीहरुको भनाइ थियो।
बुटवल औद्योगिक क्षेत्र २०३२ सालमा स्थापना भएको हो। उद्योग संचालनका लागि उद्योगीहरु लगानी गर्न ईच्छुक भएपनि औद्योगिक क्षेत्र विस्तार हुन नसक्दा उद्योगमा लगानी बढ्न सकेको छैन।
बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा उद्योग स्थापनाको लागि जग्गाको माग राख्दै ६ सय भन्दा बढी निवेदन दर्ता भएका छन्। वर्षौ पहिले दिएका निवेदकले समेत जग्गा पाउन नसकेपछि पछिल्ला वर्षमा निवेदन दिने क्रम घटेको छ।
लगानीमा उद्योगीहरुको आकर्षण भएपछि लिमिटेडले औद्योगिक क्षेत्रको बिस्तारका लागि उत्तर पूर्व ३ सय रोपनी र पश्चिम दक्षिणतर्फको २ सय ४० रोपनी जग्गा माग गरेपनि प्राप्त हुन सकेन।
तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेले औद्योगिक क्षेत्र विस्तारका लागि २ करोड रुपैयाँ बजेट विनियोजित गरेपनि बन मन्त्रालयले फाईल अगाडि नबढाउंदा औद्योगिक क्षेत्र विस्तारको योजना बीचमै रोकिएको थियो।
कुल ४ सय ३४ रोपनी क्षेत्र रहेको बुटवल औद्योगिक क्षेत्रको १ सय ४३ रोपनी क्षेत्र धागो कारखानाले ओगटेर बसेको छ। औद्योगिक क्षेत्र भित्रकै २८ रोपनी क्षेत्रमा बुटवल उपमहानगरपालिकाले बधशाला निर्माणको लागि लिएको छ।
धागो कारखाना र विगत १५ वर्षदेखि बन्द रहेको छ। बधशालाको लागि उपमहानगरपालिकाले करिब ६ करोड रुपैयाँ खर्च गरेपनि उपयुक्त नभएको भन्दै पुनः निर्माण गर्ने तयारीमा रहेको छ।
तत्कालिन बुटवल नगरपालिकाले उत्तरपुर्वको बनक्षेत्रको जग्गा औद्योगिक क्षेत्रको लागि उपलब्ध गराउने सहमतीमा बधशाला संचालनको लागि २८ रोपनी जग्गा लगेपनि सहमती कार्यान्वयन हुन सकेन।बाँकी रहेको २ सय ६३ रोपनी क्षेत्रमा ६७ वटा उद्योग संचालित छन्।
तिनवटा उद्योग निर्माणको क्रममा रहेका छन्। उद्योग सञ्चालनका लागि बाहिर जग्गा महंगो पर्ने भएकाले पनि संगठित स्थानमा उद्योग सञ्चालन गर्न उद्योगीहरुले ईच्छा राख्ने गरेका छन्।
स्थापनाको बखत सरकारको १ करोड ७९ लाख र निजी क्षेत्रको २ अर्ब ७० करोडमा बुटवल औद्योगिक क्षेत्रको स्थापना भएको औद्योगिक क्षेत्रमा प्लाष्टिक, फेब्रिकेट र ईलेक्ट्रिकजन्य उद्योग संचालनमा रहेका छन्।