एक वर्ष अगाडि कसलाई थाहा थियो र सामान ढुवानीको लागि गाडी खोज्न चोकमा पुग्न पनि सकस हुन्छ भन्ने।
गत बर्ष ३ युवाले सुरु गरेको एउटा आईडियाले लकडाउनको समयमा सामान ढुवानी गर्न धेरैलाई राहत मिलेको छ ।
उनीहरुले सुरु गरेको ‘उपाय सिटी कार्गो’ एप डाउनलोड गरी क्लिक गरेको भरमा सामान ढुवानी गर्न गाडी आइपुग्छ।
सुमन रायमाझी, रन्जिव श्रेष्ठ र अमिगो खड्का केही नयाँ उद्यम गर्न चाहान्थे।
सुमन र रन्जिव आफ्नो क्षेत्रका प्रतिष्ठित चार्टर्ड एकाउन्टेन्ट हुन् र आमिगो भने अमेरिकामा पढाई सकेर केही समय जागिर गरेर नेपालमै केही गर्छु भनेर फर्केका। सुमन र रन्जिव केहि नयाँ गर्नुपर्छ भन्ने सोचमा थिए।
काम त गर्ने तर के गर्ने?
उनीहरु सोच्न थाले।
त्यो बेलामा डिजिटल पेमेन्ट, खाना डेलिभरी, अनलाईन सपिङ नेपालमा प्रशस्तै थियो। थिएन त सामान डेलिभरीको अनलाईन प्लेटफर्म।
उनीहरुले ३ महिना त रिसर्चमै बिताए। कोठा सार्नदेखि सामान पुर्याउने गाडी खोज्ने काम निकै सकसपुर्ण भएको उनीहरुले निक्र्यौल निकाले।
‘हामीलाई नेपालले पनि केही वर्षमा डिजिटल क्षेत्रमा ठूलो फड्को मार्छ भन्ने विस्वास थियो,’ ‘अमिगोले भने ‘हामीले सामान डेलिभरी गर्ने समस्या हटाउने सोचेर उपाय निकाल्यौं र नाम राख्यौ उपाय सिटी कार्गो।’
यती थोरै मान्छेले काम गर्न सम्भव थिएन। उनीहरुले युकेबाट पढाइ सकेर फर्किएका राहुल मल्ल ठकुरी र अमेरिकाबाट फर्किएका सन्दिप सुबेदीलाई पनि टोलीमा राखे।
२०७५ चैत १ गतेदेखि सुरु भयो उपाय सिटी कार्गो।
सुरुमा उनीहरुलाई काम गर्न त्यति सहज थिएन।
‘हामीसगँ २ ओटा च्यालेन्ज थियो। पहिलो त चालक खोज्ने र दोस्रो मानिसलाई यसको बारेमा जानकारी दिने’,’ अमिगोले सेतोपाटीसगँ भने।
उनीहरुले काम बाँडफाँड गरे। सन्दिपले लजिस्टक डिपार्टमेन्ट, राहुलले मार्केटिङ डिपार्टमेन्ट र अमिगो सबै व्यवस्थापन हेर्न थाले भने सुमन र रन्जिव बोर्डमा बसेर मार्गनिर्देशन दिन थाले।
उनीहरुले टाटाका कार्गो गाडी किनेकाहरुसगँ सम्पर्क गरे। यसरी बिस्तारै चालकको संङ्ख्या बढ्दै गयो। उनीहरुसगँ हाल ४ सय भन्दा धेरै चालक आवद्ध भएको अमिगोले जानकारी दिए।
त्यस्तै कम्पनिमा ३० जना भन्दा धेरै स्टाफहरु छन्।
सुरुमा नगन्य रुपमा प्रयोग भएको उनीहरुको एप पछिल्लो समय २ हजार ५ सय भन्दा धेरै डाउनलोड भएको छ।
साथै मासिक १ हजार भन्दा धेरै ट्रिपहुने गरेको छ। १ वर्षभित्र दैनिक १ हजार पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए।
कम्पनीले किलोमिटरको आधारमा भाडा निर्धारण गरेको छ। उपभोक्ताले एपबाटै भाडा थाहा पाउन सक्छन् र चालकलाई बोलाउन सक्छन्। गाडी खोज्न जाँदा भन्दा २० देखि २५ प्रतिशत सस्तो रहेको कम्पनीको दावी छ।
कम्पनीले निकै न्यून कमिसन राख्ने गरेको उनले जानकारी दिए।
अहिलेको लकडाउनको समयमा उपाय सिटी काग्रोको झन महत्व देखिएको छ । मेडिकल सामाग्री, तरकारी, खाद्यान्न लगायतको सामाग्री ढुवानी गरिरहेको जानकारी अमिगोले दिए।
दराज, सस्तो डिल, किराना, खेती, काठमाण्डौ अर्गानिक्स र फुडमान्डुले समेत हाल उपाय सिटि काग्रोको सेवा लिईरहेका छन्।
यो सेवा हाल काठमाडौं उपत्यका केन्द्रित छ।
‘हामी पहिले काठमाडौंमा सफल हुन्छौ र क्रमश सेवा विस्तार गर्दै अन्य ठाउँमा जान्छौं’, अमिगोले भने।