नेपाल पत्रकार महासंघ, धनुषा शाखाको कार्यालयमुनि एउटा सानो चिया पसल छ। एकपटकमा चार-पाँच जना मात्र बस्न मिल्छ। यही चिया पसलबाट सुरू हुन्छ रामजित यादवको दिनचर्या।
रामजित बिहान ५ बजे आँखा मिच्दै पसल पुग्छन्। सरदाम मिलाउँछन्। सानो ग्यास सिलिन्डरमाथि जोडिएको चुल्होमा ताप्के बसाउँछन्। सिसा र कागजका गिलास ठिक्क पार्छन्।
अनि चिया बनाउन थाल्छन्।
रामजितको पसल जोडिएको महासंघको कार्यालयमा बस्ने पत्रकारदेखि नजिकैको राष्ट्र बैंकका कर्मचारीको नियमित चिया उनैले बनाउँछन्।
उनले बनाएको चिया यी दुई कार्यालयमै सीमित भने होइन। बाटोमा हिँड्ने बटुवादेखि त्यो चोकमा पसल थाप्ने प्रायः व्यापारीको नाकसम्म चियाको हरक पुग्छ। बिहान १० बजेसम्म उनलाई रत्तिभर फुर्सद हुन्न।
पूरा दिन उनी यसैगरी चिया पकाइरहन्छन्। बीचमा एकचोटि एक-दुई घन्टा विश्राम लिन्छन्, घर गएर खाना खाने समय।त्यसपछि दिनभरि कोही न कोही चिया पसलमा आइनै रहन्छ। उनी बेलुका ८ बजेसम्म खटिन्छन्।
रामजित उमेरको उत्तरार्द्धमा छन्। उनले चिया पसल चलाएकै ४५ वर्ष भयो। यो समयमा जोकोहीलाई यत्तिका काम गर्दा थकाइ लाग्छ। उनमा भने एकरत्ति परनिर्भता देखिँदैन। उनको आराम गर्ने उमेरमा अनवरत काम र लगन देखेर युवाहरू समेत अचम्म मान्छन्।
रामजितले एक दिनमा डेढदेखि दुई सयभन्दा बढी कप चिया बेच्छन्। कहिलेकाहीँ तीन सय कपसम्म खपत हुन्छ रे। प्रति कप १५ रुपैयाँमा बिक्ने चियाको हिसाबले उनी दैनिक २ हजारदेखि तीन हजार रूपैयाँसम्म कमाउँछन्।
'जब महासंघको भवनमा कुनै संस्थाले कार्यक्रम गर्छन्, त्यस दिन त भ्याइनभ्याइ हुन्छ,' मुस्काउँदै रामजितले सेतोपाटीसँग भने, 'यति व्यस्त भइन्छ, कहिलेकाहीँ त एक्लो ज्यानले सक्छु कि सक्दिनँ, अर्डर लिऊँ कि नलिऊँ भन्ने हुन्छ।'
रामजित एक्लै पसलमा खट्छन्।
उनका चार सन्तान छन्। कान्छो छोराबाहेक तीन जनाले स्नातकोत्तर गरेका छन्। रामजितले चिया बेचेरै उनीहरूलाई यतिसम्म पढाएका हुन्।
जेठा छोरा परमजित र जेठी छोरी उर्मिला जनकपुरकै सिद्धार्थ बोर्डिङ स्कुलमा पढाउँछन्। कान्छी छोरी निर्मला स्नातकोत्तरसम्म अध्ययन गरेर बिहेपछि डिभी परेर अमेरिका गएकी छन्। कान्छा विश्वजितले उच्च शिक्षा हासिल गरेका छैनन्, कक्षा १० सम्म मात्र पढे। रामजितका अनुसार उनी अहिले वैदेशिक रोजगारका लागि कतारमा छन्।
उनका सबै छोराछोरी राम्रै कमाउँछन्। रामजितलाई वृद्धावस्थामा पनि किन काम गर्नुपरेको होला? छोराछोरीले वेवास्ता गरेका त होइनन् भन्ने सवाल स्वाभाविकै आउँछ। तर यस्तो होइन।
'छोरा एकदम राम्रो कमाउँछन्। सबैले घर बस्न भन्छन्। मलाई भने मनै लाग्दैन,' उनी भन्छन्।
उनको मनै चिया पसलमा बसेको छ। यही पसल चलाएर उनले छोराछोरीलाई निजी स्कुलमा पढाए जुन उनको कल्पनामा पहिले थिएन।
यसपछाडि रोचक कथा छ।
उनका अनुसार एकचोटि रिचर्ड बरघार्ट जनकपुरधाम र मिथिलाबारे अध्ययन गर्न जनकपुर आएका थिए। रिचर्ड अमेरिकामा जन्मेर जर्मनीमा काम गरेका प्रख्यात मानवशास्त्री थिए।
उनी आफ्नो पिएचडीको थेसिस गर्न नेपाल आएका थिए, २०३० सालतिर। उनले जनकपुरमा करिब दुई वर्ष बिताएको जर्मन एन्थ्रोप्रोलोजी डटकममा उल्लेख छ।
रामजितलाई उनका बारेमा धेरै कुरा त थाहा छैन। तर लेखक भनेर चिन्ने रिचर्डसँग उनको गहिरो सम्बन्ध छ।
रिचर्ड जनकपुरको एक होटलमा खाना खान्थे। रामजितका अनुसार उनी त्यही होटलमा भाँडा माझ्ने काम गर्थे। रिचर्डलाई मिथिलाबारे अध्ययन गर्न मैथिली र नेपाली भाषा सिक्नु थियो।
यहीँनिर रामजित र रिचर्डको भेट भयो। सहकार्य सुरू भयो।
रामजितले दससम्म पढेका छन्। रिचर्डका कुरा बुझ्न र फर्काउन उति गाह्रो भएन। रिचर्ड उनीसँग घुलमिल हुन थाले। रामजितले रिचर्डलाई मैथिली वा नेपालीमा बोलिएका कुरा अंग्रेजीमा भावानुवाद गरेर बुझाइदिन्थे। विस्तारै अध्ययननिम्ति कुनै कुटी वा मन्दिर जाँदा रिचर्डले रामजितलाई साथै लिएर जान थाले।
यसरी साथ हिँड्दाहिँड्दै रामजित रिचार्डलाई ठाउँ घुमाउने गाइड र भाषा बुझाउने ट्रान्सलेटर नै बने।
'म अंग्रेजी बुझ्थेँ। रिचर्डले नेपाली र मैथिली नबुझ्ने,' उनले सुनाए, 'म विस्तारै उनलाई सबै बुझाइदिन्थेँ।'
जनकपुरधामको महत्व झल्काउने जानकारी दिने सबै ठाउँ र पुस्तकका लागि रिचर्डले रामजितलाई भारतको मधुवनी, अयोध्यासहितका स्थानमा पठाउन थाले। आफूले रिचर्डको अनुसन्धानका लागि विभिन्न स्थानबाट मिथिलाको विशेषता र महत्व झल्काउने किताबहरू ल्याएको उनी बताउँछन्।
'मिथिला अध्ययन गर्न विभिन्न ग्रन्थ पनि आवश्यक पर्थ्यो,' उनी सम्झिन्छन्, 'रिचर्डले मलाई पैसा दिन्थे र विभिन्न ठाउँमा लिन पठाउँथे।'
रामजितको यो सहयोग रिचर्डले गुन सम्झे। गुन तिर्न रिचर्डले उनका जेठा छोरा परमजितलाई जनकपुरकै तत्कालीन प्रसिद्ध निजी स्कुल सिद्धार्थ बोर्डिङमा भर्ना गराइदिए। उनको एक वर्षको पूरा शुल्क पनि बुझाइदिएका थिए रे।
त्यही बेला रामजितले बुझे, सन्तानलाई राम्रो शिक्षा दिनुपर्छ! रिचर्डले जुन स्कुलमा भर्ना गरिदिएका थिए, परमजित अहिले त्यही स्कुलमा पढाउँछन्।
'रिचर्डकै कारण मैले आफ्ना सन्तानलाई योग्य बनाउन सकेको हुँ,' उनी रिचर्डको गुन सम्झिन्छन्।
सन्तानलाई राम्रो शिक्षा दिने हुटहुटीले नै उनलाई मरिमेटेर खट्न सक्ने बनायो। सानो चिया पसल चलाएरै सबैलाई सक्षम बनाए।
अहिले उनका हातका छाला चाउरी परिसकेका छन्। बेलाबेला गलेर फतक्क हुन्छन्।
जेठा छोरा परमजितले कहिलेकाहीँ सक्दो सघाउँछन्। उनको स्कुल आउजाउ गर्ने बाटो प्रायः बाबुको चिया पसलकै हो। कुनै दिन कामबाट फर्किँदा वा जाने बेलामा बुवाले ग्राहकको चाप थाम्न नसक्ने अवस्था देख्छन्। अनि मोटरसाइकल रोक्छन्।
अरू नभ्याए पनि हकले चिया खाएर छाडेका सबै गिलास टिपेर डस्टबिनमा हालिदिन्छन्। सिसाको गिलास भए माझिदिन्छन्।
'कहिलेकाहीँ उहाँको शरीरले काम गर्न नसकिरहेको अवस्था हुन्छ,' परमजित बुवाको अवस्थाबारे भन्छन्, 'मलाई जतिबेला फुर्सद हुन्छ वा बुवालाई गाह्रो भएको देख्छु, मैले सक्ने सहयोग गर्न सदैव प्रयासरत रहन्छु।'
रामजितकी बुहारीलाई भने उनको काम पटक्कै मन पर्दैन रे। पति शिक्षक र उनका बुवा एक चिया पसले भएर 'अरूको जुठो उठाउने, माझ्ने' गरेकामा लाज लाग्छ। त्यसैले उनले आफूहरू सक्षम भइसकेकाले घरमै बस्न पटकपटक भनिरहने रामजित सुनाउँछन्।
तर पनि रामजित काम छाड्ने मनसायमा छैनन्।
उनले मन बनाइसकेका छन्, 'जबसम्म जाँगर रहन्छ, कसैको बोझ बन्दिनँ। सकुन्जेल त गर्ने नै हो।'