स्वास्थ्य क्षेत्रमा परिचित नाम हो-डाक्टर जीवन क्षेत्री। चितवनको नारायणी सामुदायिक अस्पताल, सेन्ट्रल अस्पताल र पुष्पाञ्जली अस्पतालका प्याथोलोजिस्ट डाक्टर हुन् उनी।
उनी समसामयिक तथा स्वास्थ्य क्षेत्रका राष्ट्रिय मुद्दाहरूमा बहसमा आइरहन्छन्।
उनै डाक्टर क्षेत्रीले चितवनमा आफ्नो पेशा र पहिचान भन्दा विल्कुलै नौलो व्यवसाय सुरू गरेका छन्।
यातायातको साधनको रूपमा प्रायःजसो साइकल चढ्ने क्षेत्रीले मंगलबार औपचारिकरूपमा यसैको व्यवसाय थालनी गरे।
भरतपुर महानगरपालिकाको हाकिम चोकमा उनले सुरू गरेको साइकल व्यवसायको नाम ‘वाह साइकल’ हो।
डा.क्षेत्रीले साइकलको व्यवसाय थालेपछि चितवनका धेरै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले साइकल चढ्न थालेका छन्।
‘जिल्लाका प्रतिष्ठित उद्योगी, व्यवसायीहरूले पनि चासोका साथ साइकलको विषयमा बुझ्ने र चढ्ने गर्दै आउनुभएको छ’, उनले भने, ‘व्यक्तिगत स्वास्थ्यकै लागि पनि साइकल उपयुक्त साधन हो भनेर यसलाई प्रोत्साहन गर्दै आएका छौं।’
प्रदूषण कम गर्नका लागि साइकल उपयुक्त सवारीसाधन भएका कारण यसको प्रोत्साहन आवश्यक रहेको उनले बताए।
कोभिड- १९ को महामारीमा सार्वजनिक सवारी साधनमा जोखिम बढ्दै जाँदा छोटो दूरीका लागि साइकल उपयुक्त हुने उनी बताउँछन्।
डा.क्षेत्रीले कोरोना भाइरसको महामारी चल्दै गर्दा गत जेठमा साइकलको विक्री सुरू गरेका थिए।
‘सार्वजनिक सवारीसाधन बन्द थिए, त्यसको विकल्पमा साइकल चलाउन सकिन्छ भनेर सुरूआतमा मैले अभियानका रूपमा कुरा उठाएँ’, उनले भने, ‘पछि आफैंले व्यवसाय गर्दा कसो होला भन्ने लागेर सुरू गरें।’
जेठमा अनौपचारिक रूपमा सुरू गरेको व्यवसायले सफलता पाएपछि यसलाई मंगलबार औपचारिक रूप दिएको उनले बताए।
डा.क्षेत्रीसँगै, डा.बासुराज पाण्डे, इन्द्रध्वज क्षेत्री र अमर घिमिरेले संयुक्त रूपमा व्यवसाय सुरू गरेका हुन्।
प्रबन्ध निर्देशक क्षेत्रीकाअनुसार करिब २० लाख रुपैयाँ लगानीमा व्यवसाय सञ्चालनमा ल्याइएको हो।
यसअघि क्षेत्रीले भरतपुरमा सञ्चालन गर्दै आएको ‘डबली क्याफे’बाटै साइकलको कारोबार गर्थे। अहिलेसम्म १५० वटा साइकल विक्री भइसकेको उनले बताए।
‘वाह बाइक’ले नयाँ साइकल विक्रीका साथै पुराना साइकलसँग नयाँ साट्ने व्यवस्था पनि गरेको छ।
यहाँ अहिले १४ हजारदेखि ६५ हजार रुपैयाँसम्म पर्ने साइकल छन्।
माउन्टेन बाइक, ट्रेल्स बाइक, ब्राण्डेड तथा स्थानीय, बालबालिकाका लागि गेयर र नन गेयर बाइक यहाँ विक्रीका लागि राखिएको छ।
ठूला र प्रदूषण फैलाउने सवारीसाधनको अत्यधिक प्रयोगका कारण नेपालको सहरी विकासका धेरै समस्या हुन थालेको ठान्छन् क्षेत्री।
चितवन धेरैले साइकल चलाउने जिल्लाका रूपमा परिचित छ।
‘चितवन पनि काठमाडौं जस्तो नबिग्रियोस् भनेर बेलैमा सजग बनाउने उद्धेश्यले अभियान नै सञ्चालन गर्दै आएका छौं’, उनले भने,‘साइकलजस्ता साधन प्रयोग गर्दा हुनेले इन्धन आवश्यक पर्ने साधन नचढ्दा फाइदा हुन्छ।’
झट्ट हेर्दा व्यवसायिक देखिए पनि आफूहरूले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै अभियानका रूपमा साइकलको कारोबार सुरू गरेको उनले बताए।
विकास निर्माणका क्रममा साइकल लेन, साइकल पार्किङ लगायतका संरचनालाई पनि जोड्न स्थानीय तहलाई दबाव दिनेदेखि साइकलका फाइदाबारे पैरवी गर्ने लक्ष्य रहेको उनले बताए।
लकडाउनयता चितवनमा साइकल अभियान तीव्र रूपमा अघि बढेको छ। बिहान, बेलुकी व्यायामका रूपमा साइकल चलाउनेदेखि काममा समेत साइकलको प्रयोग गर्ने बढेका छन्।
कोरोना महामारीका कारण पर्यटकीय क्षेत्र ओझेलमा पर्दै जाँदा साइकलमार्फत् पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका काम पनि भइरहेका छन्।
पर्यटकीय क्षेत्रका होटलहरूले आफ्ना प्याकेजमा ‘साइकल राइडिङ’लाई समावेश गर्न थालेका छन् भने कतिपय जनप्रतिनिधिहरूले समेत अभियानका रूपमा साइकल राइडिङलाई प्रोत्साहन गर्दै आएका छन्।
डा.क्षेत्री आफैं पनि दैनिक २० देखि ३० किमी साइकल चढ्छन्। उनी अस्पताल जाने आउनेदेखि अन्य व्यवसायिक कामका लागि पनि साइकल नै प्रयोग गर्छन्।