लकडाउनको असर कसलाई पो परेन होला र!
चितवनका प्रदीप पौडेलको काठमाडौंस्थित कन्सल्टेन्सी पनि लकडाउनले चौपटै बनायो।
चैतको सुरुबाटै ठप्प भएको व्यवसाय महिना दिन बित्दा पनि खुल्ने छेकछन्द थिएन। त्यही रनाहामा उनी चितवनको पदमपुरस्थित घर आइपुगे।
आफ्नो जग्गाजमिनमा खेती गर्ने सोचसहित उनी आएका थिए।
प्रदीपले बुवा कृष्णप्रसादलाई भने, ‘लकडाउनले बित्यासै पार्यो, बरू यतै ३ विघा जति जमिनमा सयपत्री फूल खेती गरौं, यसको सम्भावना राम्रो छ।’
खेतमा धान रोप्न ठिक्क परेका कृष्णप्रसादलाई यो कुरा रत्तिभर मन परेको थिएन।
‘पितापुर्खा कसैले नगरेको यो व्यवसायबाट नाफा होला भन्ने फिटिक्कै लागेको थिएन, मैले अनुमति नै दिइनँ,' उनले सुनाए।
प्रदीपले तत्कालका लागि घर वरपर रहेको आफ्नै ७ कट्ठा र अरू भाडाको जमिन थप गरेर एक विघामा खेती गरी हेरौं भनी आग्रह गरे। कृष्णप्रसादलाई यो कुरा पनि चित्त बुझेको थिएन तर छोराको मन दुख्ला भनेर ‘भो’ भनेनन्।
प्रदीपले बिउ ल्याएर जमाए। तर पहिलो गासमै ढुंगा लाग्यो।
‘गतिलो बीउ परेनछ, राम्रोसँग उम्रिएन,' बुवा कृष्णप्रसादले सुनाए, ‘यो हुने खालको मेसो होइन भन्ने त्यतिखेरै लाग्यो।’
प्रदीपले हार मानेनन्। उनले २० हजार वटा बिरुवा किनेर ल्याए। बिरूवा सर्दै थियो केही दिनमा ठूलो वर्षा भयो। तुसारो लाग्यो। पानी र तुसारोले धेरै बिरूवामा क्षति पुर्यायो। उनीहरूले ढलेको बिरूवाको मुन्टा चुँडेर पनि सारे। विस्तारै ती हुर्कन थाले।
साउनको अन्तिम सातातिर रोपिएको फूलमा कात्तिकमा कोपिला लाग्यो।
‘बल्ल मैले ढुक्कको श्वास फेरें,' कृष्णप्रसादले सुनाए,‘त्यसपछिचाहिँ मलाई छोरोले राम्रो काम गर्न खोजेको रहेछ भन्ने महसुस भयो।’
सयपत्रीको बोटमा थुँगा लाग्न थालेयता कृष्णप्रसादलाई फुर्सद छैन। उनको परिवारले सुरू गरेको फूल खेतीले छिमेकीलाईसमेत व्यस्त बनाइदिएको छ।
पदमपुर–२ का १५ जना महिलाले यहाँ फूल टिप्ने र माला उन्ने काम गर्न थालेको दुई हप्ताभन्दा बढी भयो। उनीहरूले दैनिक एक हजार रुपैयाँसम्म कमाइ गर्छन्।
कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि केही किशोरीहरूसमेत यही काम गरेर पढाई खर्च जुटाउँदै छन्।
कृष्णप्रसादले अहिलेसम्म दुई लाख रूपैयाँभन्दा बढीको फूल बिक्री गरिसके। अचेल फूल, माला किन्न खोज्नेको फोन उठाउन उनलाई भ्याइनभ्याई भएको छ। अहिलेसम्म पशुपतिनाथको मन्दिरमा फूल, माला पठाइरहेका उनलाई अब भने चितवनका विभिन्न क्षेत्र र नवलपरासीबाट तिहारका लागि ५ हजारवटा मालाको अर्डर भइसकेको छ।
उनले एउटा मालाको ५० रुपैयाँमा बिक्री गरिरहेका छन्। बजारमा मालाको मूल्य ७० देखि ८० रुपैयाँसम्म पर्छ।
‘फूल खेती गरेर यति व्यस्त भइन्छ, यतिधेरै कारोबार हुन्छ भन्ने लागेकै थिएन,' कृष्णप्रसाद भन्छन्, ‘अब त यसलाई विस्तार नगरी नहुने भयो।’
तिहारसम्ममा फूल, माला बिक्रीबाट ७ लाख रुपयाँ कमाइ हुने आकलन उनको छ। फूल फूलाउनका लागि उनले करिब एक लाख रुपैयाँ खर्च गरेका थिए।
उनले अब छिट्टै थप दुई विघा जमिन भाडामा लिएर फूल खेती बिस्तार गर्ने योजना बनाइसकेका छन्।
कृष्णप्रसादले २० वर्षसम्म गाई पालन गरेका थिए। तर त्यसबाट दैनिक खर्च चलाउनेबाहेक प्रगति गर्न सकेका थिएनन्।
भएको खेतमा धान, मकै, तोरीलगायतका बाली लगाउँथे तर त्यसबाट उनलाई खर्च उठाउनै हम्मे हुने गरेको थियो।
‘धेरै कमाइ हुँदा १ लाख रुपैयाँसम्म हुन्थ्यो’, उनले भने, ‘फूल खेतीबाट त नपत्याउँदो भयो, सत प्रतिशत सन्तुष्ट छु।’
फूल व्यवसायीहरूको छाता संस्था फ्लोरिकल्चर एसोसिएशन अफ नेपाल, चितवनका अध्यक्ष प्रकाश पन्तकाअनुसार चितवनमा तिहारको समयमा मात्रै एक करोड रुपैयाँ बराबरको फूलको कारोबार हुन्छ।
यहाँ करिब एक दर्जन किसानहरुले ३० विघाभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती गर्दै आएका छन्।
‘खेतीको क्षेत्र बिस्तार हुँदै गएको छ,' पन्तले भने, ‘चितवनमा फूलेका फूल धेरै काठमाडौंमा बिक्री हुन्छन्।’
भारतबाट फूलको आयात रोकिँदा यसपालि सयपत्री फूलको खेती गर्नेले राम्रो आम्दानी गरेको पन्तले बताए। विगतमा चाडपर्वका समयमा भारतबाट माला आउँदा नेपाली पुष्प व्यवसायीहरूले राम्रो मूल्य पाएका थिएनन् ।
फूलको माग चाडपर्वबाहेक विवाह, व्रतबन्ध, पार्टी, सेमिनार, सभामा हुने गरेको छ।
‘पहिले फूल पूजाका लागिमात्रै प्रयोग हुन्थ्यो भने अहिले सजावटमा प्रयोग बढेको छ’, पन्तले भने, ‘माग बढेसँगै बाह्रै महिना फूलको खेती गर्ने किसानको संख्या पनि बढ्दैछ।’