घुम्न कहाँ जाने होला भनेर तपाईंले साथीलाई सोध्नु भो भने कसै न कसैले त 'सौराहा जाऊँ' भनिहाल्छन्।
हात्ती सफारी गर्ने, गैँडा हेर्ने, गोहीलाई जिस्क्याउने रहर बोकेर हिँडेकाहरूले चितवनको सौराहालाई रोज्छन्।
सौराहामा भिडभाड कोलाहल बढ्दै गएपछि पश्चिम चितवनको मेघौलीले पर्यटकको आँखा तान्न थालेको छ। ठूलो लगानीमा सुविधासम्पन्न होटल, रिसोर्टहरू खुल्न थालेपछि मेघौली पर्यटकहरूको रोजाइ बन्न थालेको हो।
भिडभाडभन्दा शान्त वातावरणमा रमाउन चाहने र धेरै पैसा खर्च गर्न सक्नेहरू अचेल सौराहा छोडेर पश्चिम चितवनको मेघौली जाने गरेको देखिन्छ।
मेघौली सेराई ताज सफारी रिसोर्टमा आएका विदेशी तथा स्वदेशी पाहुनाको तथ्याङ्कले पनि त्यसलाई पुष्टि गर्छ।
सन् २०१८ मा पुगेका नौ सय १२ जना पर्यटकमध्ये सात सय ७५ जना विदेशी थिए। सन् २०१९ मा यहाँ पुग्ने पर्यटकको संख्या बढेर एक हजार १ सय २ पुग्यो। त्यतिबेला विदेशी केही घटेर सात सय ४५ आए। त्यो वर्ष नेपालीको संख्या भने बढेर ३ सय ५७ पुगेको थियो।
२०१९ मा अमेरिकनको संख्या दुई सय २७ थियो, भारतीय एक सय ९५, चिनियाँ ५३, बेलायती ४२, जर्मन ३१, क्यानडा र अष्ट्रेलियाका २३/२३ जनासहित विश्वका ४० वटा देशका पर्यटक यस रिसोर्टमा पुगेका थिए।
यस क्षेत्रमा रहेका ठूला होटलहरू बाराही जंगल लज र होटल वाइल्डलाइफ स्यानच्युरीमा पनि पर्यटकको संख्यामा कमी थिएन। अन्य मध्यम तथा साना होटलदेखि होमस्टेहरूसमेत आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन्थे।
सन् २०१९ को अन्त्यतिर कोरोना भाइरसको महामारी फैलन थालेपछि भने विदेशीको आगमन रोकियो। देशमा लकडाउन नै घोषणा गरिएपछि पर्यटकीय क्षेत्र सुनसान बन्न थाले।
चौधरी ग्रुपअन्तर्गत सिजी होटल्स एण्ड रिसार्टद्वारा सञ्चालित मेघौली सेराई ताज सफारी रिसोर्टका महाप्रबन्धक ठाकुर पौडेलकाअनुसार सन् २०२० को आधाभन्दा बढी समय ठप्प अवस्थामा रहेको पर्यटन व्यवसाय अब जुर्मुराउन थालेको छ।
‘विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटकको आगमन उत्साहजनक छ,’ उनले भने, ‘पर्यटकहरू शान्त वातावरणमा उपलब्धिमूलक बसाइका लागि मेघौली आउने गरेका छन्। यहाँ आउनेहरू कोलाहलमुक्त वातावरणमा रमाउँदै सन्तुष्ट भएर फर्कन्छन्।’
बाराही जंगल लजका सञ्चालक विप्लव पौडेल बिदाको समयमा प्याकेज बनाएर विदेश जान चाहने आन्तरिक पर्यटकहरूले मेघौलीलाई विकल्प बनाउन थालेको बताउँछन्।
‘पैसा भएर पनि रमाउनका लागि विदेश जान नपाएका पर्यटकहरू मेघौली आएर रमाउन थालेका छन्,’ उनले भने, ‘यहाँ आउँदा चितवन राष्ट्रिय निकुञ्जभित्रै भएको महसुस गरेर फर्कन्छन्।’
बिदा मनाउनका लागि भ्रमण प्याकेज बनाएर थाइल्याण्ड, सिंगापुर, इण्डोनेसिया जान चाहने धेरै नेपाली पर्यटकहरू अन्तर्राष्ट्रिय नाका बन्द हुँदा मेघौली पुगेर रमाउने गरेको उनले बताए।
पौडेलका अनुसार बाराही जंगल लजमा लकडाउन अघि हेलिकप्टर चार्टर्ड गरेर पनि धेरै पर्यटकहरू आउने गर्दथे।
‘एकै दिनमा ५ वटासम्म हेलिकप्टरमा पाहुना आएको रेकर्ड पनि छ, हप्तामा ४/५ वटा हेलिकप्टर त विदेशी पाहुना बोकेर आएकै हुन्थे,’ उनले भने।
त्यही अवस्था फर्कन त अब केही समय कुर्नैपर्ने उनले बताए।
'अहिले पैसा खर्च गर्न सक्ने आन्तरिक पर्यटकको रोजाइमा भने यो पर्न थालेको छ।’
उनका अनुसार विदेशी पर्यटकहरूले विभिन्न माध्यमहरूमार्फत् यहाँको अवस्थाको बारेमा निरन्तर चासो राख्ने गरेका छन्। अहिलेकै जस्तो अवस्था रहे आगामी सेप्टेम्बर पछि विगतको जस्तै चहलपहल सुरू हुने उनको विश्वास छ।
बाराही जंगल लजले विदेशी पर्यटकसँग एक रात बसाइको ४५० डलर लिने गरेको छ।
नेपालीसँग भने एक रात बसाइको २५ हजार रुपैयाँ लिने गर्छ।
मेघौली सेराई ताज सफारी रिसोर्ट पुग्ने पर्यटकले ४० देखि ५० हजार रुपैयाँसम्म खर्च गर्ने गरेका छन्। विदेशीले ६० देखि ८० हजार रुपैयाँसम्म खर्च गर्थे।
‘हाम्रोमा चितवन निकुञ्ज, त्यहाँ रहेका वन्यजन्तु हेर्ने चाहना भएका पर्यटक त आउँछन् नै, हाम्रो आफ्नै रिसोर्टको वातावरणले प्रभावित भएका पर्यटकहरू पनि धेरै आउने गरेका छन्,’ महाप्रबन्धक ठाकुर पौडेलले भने, ‘लक्जरियस होटल भएकाले यसको महसुस गर्नका लागि पनि धेरै खर्च गरेर यहाँ आउने गरेका छन्।’
यो ५ तारे होटल सन् २०१६ मा ६५ करोड रुपैयाँ लगानी गरेर स्थापना भएको थियो।
पौडेलले अहिले दैनिक १० देखि ४० जनासम्म पर्यटक सेराईमा पुग्ने गरेको बताए। यस रिसोर्टको ६५ जनासम्म पर्यटक राख्न सक्ने क्षमता छ।
मेघौलीमै रहेको होटल वाइल्डलाइफ स्याङच्युरीका सञ्चालक सुबोध प्रधानले बिदाको समयमा पर्यटकको संख्या उल्लेख्य हुने गरेको बताए।
यो रिसोर्ट मेघौलीमा रहेका सेराई र बाराहीभन्दा सस्तो छ। यहाँ आउने नेपालीका लागि दैनिक ५ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ।
कोरोना महामारी अघि नेपालीले ८ हजार रुपैयाँ तिर्नुपर्दथ्यो। विदेशीले भने एक रातको लागि ९० डलर बुझाउँथे।
‘मेघौली आउने पर्यटकहरू पनि सबैले ठूलो खर्च गर्न सक्ने अवस्था हुँदैन, ठूलो खर्च धान्न नसक्नेहरू हाम्रोमा आउँछन्,’ उनले भने, ‘परिवार नै आएर हप्तौ बसेर फर्कने पनि गर्छन्। यहाँ बसेर फर्कंदा आनन्दको महसुस गर्ने गरेका छन्।’
अझ कम खर्च गर्न चाहने पर्यटकका लागि यहाँ होमस्टे पनि छ।
थारु, कुमाल समुदायले सञ्चालन गर्दै आएका दर्जन बढी होमस्टेहरूमा पनि पर्यटकको उल्लेख्य उपस्थिति हुन थालेको छ।
थारू होमस्टे सञ्चालक सोमलाल महतोले कोरोना महामारीले थलिएको होमस्टे व्यवसाय पुनः उठ्न थालेको बताए।
‘हामीले पाहुनाहरूलाई थारू संस्कृति देखाउने, थारू समुदायको खाना खुवाउने गर्छौं,’ उनले भने,‘यसले पर्यटन प्रवर्द्धनसँगै थारू समुदायको जीवनस्तर सुधार्नमा पनि सघाउ पुर्याउँदै आएको छ।’
अहिले होटल सांग्रिला ग्रुपले पनि मेघौलीमै रिसोर्ट सञ्चालन गर्ने तयारी गरिरहेको छ।
विमानस्थल सञ्चालनमा ल्याउन माग
मेघौलीमा सन् १९६६ बाटै विमानस्थल सञ्चालनमा आएको हो।
चितवन राष्ट्रिय निकुञ्जभित्र होटल टाइगर टप्स रहँदाको बखत पर्यटकलाई नै लक्षित गरेर उक्त विमानस्थाल सञ्चालनमा आएको थियो।
तर पछि निकुञ्जको पर्यावरणमा असर परेको भन्दै सरकारले निकुञ्ज भित्रका होटलहरू बन्द गर्ने निर्णय गर्यो। होटल बन्द भएसँगै विमानस्थल पनि बन्द हुन पुग्यो।
बेलायती नागरिकको लगानीमा खुलेको होटल टाइगर टप्समा बेलायती महारानी एलजावेथसमेत यही विमानस्थल हुँदै पुगेकी थिइन्।
राजतन्त्रकालमा राजपरिवारका सदस्य देखि अन्यभिआइपीहरू यही विमानस्थल हुँदै चितवन आएर निकुञ्ज भित्र जाने गर्दथे।
होटल वाइल्डलाइफ स्याङच्यूुरीका सञ्चालक सुबोध प्रधान पछिल्लो समयमा आउने पर्यटकहरूले पनि विमानको सुविधा खोज्ने गरेको बताउँछन्।
‘काठमाडौंबाट आउने पर्यटकहरू भरतपुर विमानस्थल आएर २ हजार रुपैयाँ भन्दा बढी ट्याक्सीलाई बुझाएर यहाँ आइपुग्नुहुन्छ। जहाज नै यहीँ आइदिए कति सहज हुन्थ्यो भन्नुहुन्छ,’ प्रधान भन्छन्, ‘भएको विमानस्थललाई सुधार गरेर जहाज आउने वातावरण बनाउन पाए पर्यटनले फड्को मार्ने थियो।’
उनले पर्यटकको रोजाइ मेघौली नै बन्न थाले पनि सरकारले गर्नुपर्ने केही कामको अपेक्षा व्यवसायीहरूले गर्दै आएको बताए।
मेघौली सेराई ताज सफारी रिसोर्टका महाप्रबन्धक थापाले पनि विमानस्थल सञ्चालनका लागि सरकारी निकायसँग पटक-पटक आग्रह गरिएको बताए।
‘केही वर्ष अघि केही समय नेपाल एयरलाइन्सको जहाज आयो, पछि आउनै छाड्यो,’ उनले भने, ‘हप्ता एक वा दुई वटा मात्रै जहाज भने पनि नियमित आउने व्यवस्था गर्न पाए पर्यटकलाई सहज हुने थियो।’
व्यवसायी भन्छन्: निकुञ्जले समन्वय गर्दैन
मेघौली क्षेत्रका पर्यटन व्यवसायीहरू पर्यटनका लागि ठूलो लगानी गर्दै आए पनि चितवन राष्ट्रिय निकुञ्जले समन्वय नगर्ने गरेको गुनासो गर्छन्।
‘हामीले यहाँ पर्यटक ल्याउने भनेकै निकुञ्ज देखाउन, यहाँको विषयलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउनका लागि हो,’ पौडेल भन्छन्, ‘तर निकुञ्जले हामीलाई असर पर्ने कुरामा समेत हामीसँग समन्वय गर्दैन।’
नियमितरूपमा पर्यटकलाई लगिरहेको ठाउँमा, गाडी पार्किङ गर्ने गरेको ठाउँमा निकुञ्जले एक्कासि एकतर्फी निर्णय गरेर नमिल्ने बनाइदिने गरेको गुनासो होटल सञ्चालकहरूको छ।
‘निकुञ्जको आफ्नो कानुन त छ तर वर्षौंदेखि यहाँ बसेर व्यवसाय सञ्चालन गर्दै आएकाहरूलाई पनि सहजीकरण गरिदिनुपर्छ,’ प्रधान भन्छन्, ‘तर निकुञ्जले व्यवहारिकता हेरिदिन्न।’
उनले व्यवहारिकता पनि हेर्दै निकुञ्ज र पर्यटन व्यवसायी मिलेर नेपालको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउनुपर्ने बताए।
बाराही जंगल लजका सञ्चालक विप्लव पौडेलले जनावरको संरक्षण गरेर निकुञ्जले धेरै ठूलो काम गरेको भन्दै अब खोला नदी माथिको अतिक्रमणलाई नियन्त्रण गर्नुपर्ने बताए।
‘विकास निर्माणका काम पनि हुँदै गर्छन्, संरक्षणलाई पनि सँगै लैजानुपर्छ,’ उनले भने, ‘पर्यटकहरू यहाँ आउन तयार छन् हामीले उनीहरूका लागि आवश्यक वातावरण तयार गरिदिनुपर्छ।’