पूर्ण रिजालले सौराहाको गैंडा चोकमा मनी एक्सचेन्जको व्यवसाय सुरू गरेको करिब २५ वर्ष भयो। सौराहाका तीन मनी एक्सचेन्जमध्ये सबैभन्दा पूरानो उनैको हो।
विगतमा दैनिक ४ हजार डलरसम्म मुद्रा साट्ने गरेका उनी अहिले कोठाको भाडा पनि तिर्न नसक्ने अवस्थामा पुगेका छन्।
कोरोना भाइरसको महामारी सुरू हुनुअघि सौराहामा विदेशीको चहलपहल बाक्लो हुन्थ्यो। पैसा साट्न चाहने विदेशी उनकोमा पुग्थे। दैनिक ५ सय डलर मुद्रा सटही त उनका लागि सामान्य थियो। साटिएको रकमको एक प्रतिशत उनले पाउँथे। यसैबाट उनको खर्च धानिएको थियो। तर २०७६ सालको चैतदेखि उनको व्यापारमा सुक्खा लाग्न थाल्यो।
‘गत कात्तिकबाट चैतसम्म त मनी एक्सचेन्जमा बौनी पनि भएन,’ रिजालले भने, ‘चैत महिनामा राजदूतावासबाट घुम्न आउने विदेशी, केही नेपाली र लामो समयदेखि सौराहामै बस्दै आएका विदेशीले पैसा साटे। व्यापार भएको यत्ति हो।’
रिजालले मनी एक्सचेन्जका लागि मासिक ४ हजार रुपैयाँ भाडा बुझाउँछन्। वर्ष दिनयता भाडा बुझाउन सक्ने व्यापार पनि भएको छैन।
‘लौ बर्बाद भयो, अब सकियो भनेर मर्न भएन। तैपनि हुन्छ कि भन्दै कुरेर बसेको छु,’ उनले भने, ‘केही समयमा सुधार आउँछ कि भन्ने आशाले छाड्न सकेको छैन।’
२०५३ सालमा सुरू गर्दा वार्षिक एक सय रुपैयाँ दस्तुर बुझाउने गरेका उनी अहिले नेपाल राष्ट्र बैंकलाई वार्षिक ३ हजार रुपैयाँ बुझाएर नवीकरण गर्छन्।
‘नवीकरण दस्तुर बढाएर एक लाख रुपैयाँ पुर्याउने भन्ने सुनेको छु। यता व्यापार चौपट छ, कोरोनाको हल्ला पनि बढ्दैछ,’ उनले भने, ‘कसरी चल्ने भन्ने चिन्ताले सताउँछ।’
सौराहामा विदेशी पर्यटकलाई लक्षित गरेर उपहारको पसल सञ्चालन गर्दै आएकी पिठुवाकी गोमा कट्टेले गाईको दूध बेचेर भएको आम्दानीले पसलको भाडा बुझाउने गरेकी छन्।
विगतमा दैनिक दश हजार रुपैयाँसम्म व्यापार हुने उनको पसल 'पार्क ल्यान्ड सोविनियर सप' अहिले सुनसान छ।
‘कहिले २ हजार रुपैयाँसम्मका सामान बिक्री हुन्छ, कहिले बौनी पनि हुँदैन,’ उनले भनिन्, ‘विदेशीलाई लक्षित गरेर राखेको सामान नेपालीले खासै किन्दैनन्।’
२४ वर्षदेखि विदेशी पर्यटकका लागि भनेर ट्राभलरर्स सोविनियर क्युरिओ व्यवसाय चलाउँदै आएका रामकाजी मानान्धर आम्दानी नहुँदा घर खर्च चलाउन समस्या भएको सुनाउँछन्।
‘नेपालीबाट कपडाका आइटमको अलिअलि व्यापार भएको छ, त्यसलेमात्रै चल्न त गाह्रो छ,’ उनले भने, ‘सन् २०२२ बाट पर्यटक आउन थाल्छन् भन्ने आशाले पसल जोगाएर राखेको छु।’
नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा सौराहाका मुख्य क्षेत्रहरूमा रंगीचंगी तोरण टाँगेर झकिझकाउ बनाइएको छ। पर्यटकीय नगरीको सडक, राप्ती नदीको किनार पर्यटकले भरिभराउ छ। तर यहाँका होटल तथा व्यापारमा भने सुक्खा लागेको छ।
व्यवसायी रिजाल सौराहा घुम्न आउने आन्तरिक पर्यटकको संख्या अत्याधिक देखिए पनि प्रायः पर्यटक दिनभर घुमेर साँझ फर्कने गरेको देखेको बताउँछन्।
‘सडकमा देख्दा धुमधाम छ तर व्यापार खासै छैन,’ उनी भन्छन्, ‘शुक्रबार/शनिबार घुम्न आउने पर्यटकहरू उल्लेख्य देखिन्छन्, अरू दिन सहकारी संस्था, विद्यालयहरूबाट आउने भ्रमण टोलीले सडक भरिभराउ देखिन्छ, प्रायः मान्छे दिउँसो आउँछन् फोटो खिच्ने, टिकटक बनाउने गरेर साँझ फर्कन्छन्।’
राप्ती नदीको किनारनजिकै रहेको होटल नेचर हेरिटेजका सञ्चालक दामोदर रेग्मी पछिल्ला दिनमा फेरि बढ्दै गएको कोरोना संक्रमणको हल्लाले पर्यटकहरू होटलमा बास बस्न छाडेको बताउँछन्।
‘लकडाउन खुलेपछि होटलको अवस्थामा सुधार आएको थियो। आन्तरिक पर्यटकले होटल भरिन्थ्यो, उनीहरूबाट राम्रै चलेको पनि थियो,’ रेग्मीले भने, ‘चैतको मध्यतिरबाट व्यापार घटेको छ। पर्यटकहरू बस्नै मान्दैनन्।’
रेग्मीकाअनुसार गत माघ र फागुन महिनामा सौराहा आन्तरिक पर्यटक मात्रैले पनि धानिँदो रहेछ भन्ने भएको थियो। गोष्ठी, सेमिनार, भ्रमणका लागि आउने समूहले सौराहाका होटलहरू भरिन्थे।
‘तर अहिले होटलमा बस्नै छाडे, ३५ कोठा रहेको हाम्रो होटलमा मुस्किलले ५ कोठामा पाहुना हुन्छन्,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले सतर्क रहन ध्यानाकर्षण गराएपछि व्यापार घट्यो।’
सौराहाका व्यवसायीहरू माघ, फागुनको तुलनामा पर्यटकको संख्या ६० प्रतिशतले घटेको बताउँछन्। यहाँको इको एडभेन्चर रिसोर्टका सञ्चालक ऋषि तिवारी व्यवसायीहरूलाई फेरि लकडाउन हुने हो कि भन्ने चिन्ताले सताउन थालेको बताउँछन्।
‘बल्ल–बल्ल उठेको व्यवसाय फेरि ढल्ने हो कि भन्ने चिन्ताले सताएको छ,’ उनी भन्छन्, ‘अचेल पर्यटक कुरेर बस्ने मात्रै काम भइरहेको छ।’
अघिल्ला शुक्रबार, शनिबार र बिदाका दिनमा होटलका १६ वटै कोठा बुक हुने गरेकोमा अहिले ३-४ जना मात्रै पाहुना आएको तिवारीले बताए।
‘फुर्सदको समय बिताउनका लागि सौराहा आउने पर्यटक बढेपछि कोरोनाको हल्लाले बास बस्न छाडे,’ तिवारी भन्छन्, ‘घुमेर फर्किहाल्ने पर्यटकले भने सौराहा भरिभराउ देखिने गरेको छ।’
सबै तस्बिरहरू: राजेश घिमिरे/सेतोपाटी